+
+

नेपाली भित्तेचित्रको इतिहास र गतिविधिबारेको पुस्तक ‘सडक कला नेपाल’ प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते २०:३६

काठमाडौं । केही वर्षयता नेपाली सहरमा सामुदायिक र सार्वजनिक भित्तेकला जुर्मुराएको छ । ऐतिहासिक विरासत, रैथाने, सामुदायिक र आदिवासी कलाका पक्ष पनि भएकाले आर्टुडियोजस्ता कला अभियन्ताले स्ट्रिट आर्टलाई नेपाली सहरका भित्तामा पोत्दैछन् ।

यही सन्दर्भमा नेपालको सामुदायिक र सार्वजनिक भित्ते कलाको सौन्दर्य, महत्व, इतिहास र गतिविधि समेटिएको पुस्तक ‘सडक कला नेपाल’ प्रकाशित भएको छ । आर्टुडियोले अमेरिकी दूतावास काठमाडौंसँगको सहकार्यमा संचालन गरेको सडक कला परियोजना २०२२ का गतिविधि समेट्दै उक्त पुस्तक ल्याएको हो ।

राजधानीको ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित समारोहमा प्रतिष्ठानका कूलपति नारदमणी हर्तम्छाली, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन लगायतका अतिथिले पुस्तक विमोचन गरे ।

पुस्तकबारे चर्चा गर्दै कूलपति हार्तम्छालीले कलालाई घरभित्र मात्र सीमित राख्न नहुने बताए । कलालाई जनतामाझ लागेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सडक भित्तेचित्र कलाको पुस्तक प्रकाशनले आफूहरुलाई ऊर्जा दिएको टिप्पणी गरे । ‘हामीलाई यसले ऊर्जा पक्कै दिएको छ । अब कलालाई जनतामाझ लैजानुपर्छ । कला घरभित्रको भित्तामा मात्र झुण्ड्याउने कुरा हैन’ उनले भने, ‘अब कला र ब्याकरण जोड्दै, जातिय सांस्कृतिक तथा लोककलाई पनि समेट्नु जरुरी छ ।’ पुस्तकले भित्तेचित्रको नेपाली इतिहासदेखि लोकतान्त्रिक गणतन्त्रको पक्षलाई पनि समेट्न सकेको भन्दै उनले प्रशंसा गरे ।

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसनले पुस्तकले नेपाली कला क्षेत्रको अभिलेखीकरणमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे । पुस्तकले मुलुकको संस्कृति र कलाको विविधता र सार्वजनिक बहसलाई पनि समावेश गरेको विल्करसनले बताए । उनले नेपालको कला र संस्कृतिको प्रवद्र्धनमा सघाउन आफूहरु तयार रहेको समेत बताए ।

१८४ पृष्ठको पुस्तकमा अमेरिकी दूतावाससँग आर्टूडियोले मिलेर संचालन गरेको भित्तेचित्र कला परियोजनाको गतिविधि, तस्वीर र नेपालका कलाको इतिहासको पक्ष समेटिएको छ । साथै, भित्तेकलाको विश्व र नेपाली परिवेश, नेपाली कलामा पश्चिमी कलाशैलीको प्रभाव र औपचारिक शिक्षाको पाटा पनि समेटिएको छ ।

लेखक तथा अनुसन्धानकर्ताहरु मीना लामा, मुकेश मल्ल र सरोज बज्राचार्यको एकवर्ष लामो अनुसन्धानपछि पुस्तक तयार पारिएको जनाइएको छ । पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनीहरुले काठमाडौं, भक्तपुर, जनकपुर र मुस्ताङका कलाको इतिहासबारे चर्चा गरेका थिए ।

उक्त अवसरमा सात मिनेट लामो भित्तेचित्र कलासम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरियो । पुस्तक सार्वजनिक समारोहमा जनकपुर, मुस्ताङ र काठमाडौं उपत्यकाका कलाकार पनि सहभागि थिए । आर्टुडियोले दूतावाससँग मिलेर सामाजिक समावेशीकरण र समताको विषयवस्तुमा केन्द्रित भित्ते चित्रकला परियोजना २०७९ संचालन गरेको थियो ।

जसअनुसार चर्चित अमेरिकी भित्ते चित्रकार म्यान वानलाई काठमाडौंमा निम्ताएको थियो । जसअनुसार आर्टुडियोका संस्थापक कैलाश के श्रेष्ठले काठमाडौं र जनकपुरमा नेपाली र अमेरिकी कलाकारको सामूहिक मयुरल सिर्जना गरेका थिए । ‘यी विविध पक्ष समेटिएको यो पुस्तकले नेपाली कला जगतको लागि महत्वपूर्ण भूमिका खेल्नेछ’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

नेपालस्थित अमेरिकी दूतावासले भित्तेचित्रबाहेक फिल्म प्रदर्शन सिरिज, नृत्य प्रशिक्षण र प्रवद्र्धनसहित कलात्मक क्षेत्रको विकासमा समेत कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?