
अलि अगाडि एउटा जोक पढेकी थिएँ। त्यसमा एउटा अमेरिकी साथीले अर्को साथीलाई ‘विश्वव्यापीकरण भनेको के हो?’ भनेर सोधेछ। साथीले सरल जवाफ दिएछ, ‘प्रिन्सेस डायनाको मृत्यु।’
प्रश्न गर्नेलाई अचम्म लागेछ। कसरी उनको मृत्यु ‘विश्वव्यापीकरणको परिभाषा हुनसक्छ?’
साथीले बयान गर्न थालेछ, ‘एउटी ब्रिटिश राजकुमारीको मृत्यु, ईजिप्सियन ब्वाईफ्रेन्डको साथमा, फ्रेन्च टनेलभित्र। जर्मन कारको सवारी, जुन कारको इन्जिन डच थियो। त्यो पनि स्कटिश रक्सी खाएर बेल्जीयन ड्राइभरले चलाउँदा। त्यतिवेला उनीहरूको गाडीको पछाडि फोटो खिच्न जापानीज मोटरसाइकल चढेर पिछा गरिरहेका इटालियन पापराचीहरूको भिड थियो ।
दुर्घटना पश्चात डायनालाई अमेरिकन डाक्टरहरूले ब्राजिलीयन औषधि प्रयोग गरेर उपचार गरे। त्यो समाचार एउटा अमेरिकनले सम्प्रेषण गरेर बिल गेट्सको टेक्नोलोजी मार्फत पढ्यौं। त्यो पनि ताइवानले बनाएको चिप्स प्रयोग गरेर, कोरियन मनिटरमा; जसको जडान गर्ने काम बङ्गलादेशी कामदारले गर्छन्। त्यो सिङ्गापुर स्थित प्लान्टमा बनाइन्छ; भारतीय ट्रक ड्राइभरहरूले ओसार्छन्; कहिलेकाहीं त्यो ट्रक इन्डोनेसियनहरूले अपहरण पनि गर्छन्, ट्रकमा सामान अनलोड गर्ने काम सिसिलियनहरूले गर्दछन्। त्यसलाई तिम्रो अगाडिसम्म ल्याइपुर्याउने काम मेक्सिकन ड्राइभरहरूले गर्दछन्।’
आफू नबसेको भूभागको केही कुराबारे सोच्न वा लेख्न पर्यो भने, झट्ट माथिको प्रसंग याद आउँछ। वास्तवमै हामी विश्वव्यापीकरणको यस्तो माखेसाङ्लोभित्र जकडिएका छौं कि, हामीले त्यो सााङ्लो चुँडालेर अगाडि बढौंला भनेर नचिताए हुन्छ । र, यो हरेक विषय र क्षेत्रमा लागु हुन्छ।
आज, यही साङ्लोलाई पछ्याउँदै यसपालि अमेरिकी प्रख्यात र पुरानो म्यागेजिन ‘टाइम’ले सन् २०२३ को ‘द पर्सन अफ द ईयर’ घोषणा गरेको अमेरिकी गायिका टेलर स्विफ्टबारे केही लेख्न कोसिस गर्दैछु।
आफ्नो कुरा गर्दा, मलाई ‘कन्ट्री सङ’ खुबै मन पर्थ्यो। कन्ट्री सङ करिब करिब हाम्रो लोक गीत जस्तै ने हो जसमा स्थानीय बाजाहरू, दोहोर्याएर गाइने वाक्यहरू आदिको प्रयोग गरिन्छ जस्तो लाग्छ। तथापि, यसै हो भन्ने विज्ञता मसँग छैन। तर, पनि कन्ट्री सङले मनलाई भित्रैबाट छुन्छ।
कुनैवेला स्टिव होलीको ‘गुड मर्निङ ब्यूटीफूल….’ फेथ हिलको ‘लाइक वी नेभर लभ्ड एट अल…’ खुब सुनिन्थ्यो । एलेन ज्याक्सनको ‘ह्वेर वेर यु ह्वेन द वर्ल्ड स्टप्ड टर्निंग … ‘ ( यो गीत सन् २००१ मा अमेरिकी ट्विन टावरमाथि आक्रमण भएको सन्दर्भमा लेखिएको/गाइएको थियो। आज पनि यो गीत सुन्दा त्यो दिन आँखा अगाडि आउँछ)।
टेलर स्विफ्टको ‘ह्वाइट हर्स’, ‘टियर ड्रप्स अन माई गिटार’, ‘ब्याक टु द डिसेम्बर’….आदि, विली नेल्सनको, ‘यु डन्ट नो मि…’ , टिम म्याकग्रका थुप्रै गीतहरू कर्णप्रिय लाग्छन्।
उनीहरूमध्येकी एक टेलर स्विफ्ट टाइम म्यागेजिनबाट सम्मानित भएकी छिन् । उनले १२ वर्षको उमेरदेखि गीत लेख्न र गाउन थालेकी थिइन् ।
टाइम म्यागेजिनले ‘वर्ष व्यक्ति’ भनेर आफ्नो फ्रन्ट कभर फोटो राखेर दिने सम्मानको आफ्नै इतिहास रहेछ।
यसको सुरुआत सन् १९२७ मा भएको रहेछ। सुरु गर्नुको कारण, पहिलो सोलो उडान भर्ने चार्ल्स ए. लिन्डबर्ग, जसले लङ आइल्यान्ड न्यूयोर्कबाट फ्रान्सको पेरिससम्मको उडान सन् १९२७ मे २७ को दिन पूरा गरेका रहेछन्। तर, त्यो वर्षको अन्त्यसम्म निस्केका स्टोरीहरूको पुनरावृत्ति गर्दा चार्ल्सको स्टोरी गर्न छुटेको महसुस भएछ र वर्षको अन्तिम इस्युमा चार्ल्सको फोटोलाई कभर पेजमा राखेर ‘म्यान अफ द इयर’ घोषणा गरिएछ।
त्यतिवेलादेखि ‘म्यान अफ द इयर’ या ‘वीमेन अफ द इयर’ भनेर कभरमा सम्मान दिइने परम्परालाई सन् १९९९ पछि, ‘पर्सन अफ द इयर’ भन्न थालिएको रहेछ।
हुन त, ‘व्यक्ति वर्ष’ घोषित गरिएको मानिसले राम्रै काम मात्र गरेको हुनुपर्छ भन्ने छैन। व्यक्ति वर्ष हुने व्यक्ति वा समूह या वस्तु त्यस्तो व्यक्ति वा समूह वा वस्तु हो, जसले राम्रा या नराम्रै काम गरेर भएपनि सम्बन्धित वर्षभरी आफ्नो वा समूहको कारणले प्रभाव छाडेको हुनुपर्छ। उदाहरणकोलागि सन् १९३८ मा हिटलर, सन् १९३९ र १९४२ मा स्टालिन पनि ‘म्यान अफ द इयर’बाट सम्मानित भएका थिए।
आज टेलर स्विफ्टबारे चर्चा गर्न मन लाग्यो किनभने उनी वर्ष व्यक्ति भएको घोषणा हुँदा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू,संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालनमा व्यस्त छन्। यो अभियान हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिन्छ।
टेलर पनि हिंसाबाट मुक्त व्यक्ति पक्कै होइनन्। यी पङ्क्तिहरू लेखिरहँदा सन् २००९ सेप्टेम्बर १३ को त्यो साँझ अमेरिकन टेलिभिजन च्यानलमा एमटिभीको भिडियो म्युजिक अवार्डको प्रत्यक्ष प्रसारण भैरहेको थियो।
टेलरले हातमा आफूले पाएको ‘बेस्ट भिडियो बाइ अ फिमेल आर्टिस्ट’को ट्रफी लिएर स्वीकारोक्त भाषण गर्न लागेकी मात्रै थिइन्; त्यत्तिकैमा दर्शकदीर्घामा बसेका अर्का अफ्रिकन अमेरिकी कलाकार कान्या वेस्ट आएर टेलरको हातबाट थुत्त माइक खोसे र, भने, ‘यो टेलर, आइ एम रियल्ली ह्याप्पी फर यु, आइ एम्मा लेट यु फिनिश, बट बियोन्सी ह्याड ओन अफ द बेस्ट भिडियोज अफ अल टाइम!’ (ए, टेलर, म तिम्रोलागि खुसी छु, तर अहिलेसम्मकै सबैभन्दा राम्रो भिडियो बियोन्सीको थियो!’ त्यसपछि, माइक टेलरको हातमा दिएर कान्या स्टेजबाट ओर्लिए ।
स्मरणीय छ, बियोन्से नोभेल पनि एक सशक्त गायिका तथा पर्फर्मर हुन्। उनको ‘सिङ्गल लेडिज…’ भन्ने गीतले त सन् २००८ देखि केही वर्षसम्म तहल्का नै मच्चाएको थियो। सन् २०१० को ‘सङ्ग अफ द एयर’को ग्रामी अवार्ड, ‘ग्रामी अवार्ड फर बेस्ट भोकल’ लगायतका थुप्रै अवार्डहरू पाएको थियो। त्योभन्दा अगाडि पनि उनी लोकप्रिय गायिकको रूपमा स्थापित भैसकेकी थिइन्।
भर्खर १८ वर्षकी टेलरले, आफू, आफ्नो त्यत्रो खुसीको क्षणमा त्यसरी अपमानित हुनुपर्दा पनि केही प्रतिक्रिया नजनाई, केही फरक नपरेको जसरी बोलेर गइन्। त्यसपछि धेरै दिनसम्म त्यो घटना समाचार बनिरह्यो।
टेलरको बारेमा लेखिरहँदा हामीकहाँका गायिकाहरूको सम्झना आइरहेछ। विष्णु माझीको अवस्था के होला ?अञ्जु पन्तलाई कति दुःख दिए ! मेनुका पौडेलले आफ्नो प्रतिभा देखाउन र भविष्य खोज्न भारत जानुपर्यो।
यहाँ महिलाहरूलाई गीत र संगीतको क्षेत्रमा स्थापित हुन कति गाह्रो छ ! समीक्षा अधिकारीको उछित्तो काट्न के पो गरेनन् ! जबकि, पैसा र शक्तिको खेल देखाएर ‘बलात्कारी’को आरोपबाट मुक्ति पाउनेहरूको शान र मान नै बेग्लै छ।
टेलर स्वीप्ट जस्तै आफ्नो कथा भन्न यहाँकाले पनि गीत र संगीतको माध्यमलाई अपनाएर बलियो भएर बाँच्न कहिले सक्छन् होला ?
यसमा साथ दिनुपर्ने प्रमुख माध्यम मिडियाले पनि उनीहरूका कथालाई कहिले प्रवर्द्धन गर्छ होला ? जतापनि, अधिकांश समाचार माध्यमहरूले ‘खोक्रो’ राष्ट्रवादको मात्र बखान गर्न छाडेर गीत/संगीतलाई विश्वव्यापीकरणको लहरमा कहिले उभ्याउँछन् होला ?
टेलरलाई पनि ‘ह्वाइट फेमिनिस्ट’, अरूको लागि नबोल्ने भनेर आरोप नलाग्ने त होइन। तर पनि, म्युजिककै कारणले उनी एउटा व्यापारी र शक्तिशाली व्यक्ति बनेकी छन्, नयाँ पुस्तालाई सपना देखाउन सक्ने ‘सुपर महिला’को पहिचान बनाएकी छन्। त्यसैले, उनीमाथि अरू महिलाहरूलाई भन्दा हिंसा कम हुन्छ होला भन्ने अनुमान गर्न सकिन्छ। हुनत, पर्दा पछाडि कस्तो जीवन छ के थाहा र !
नेपालमा पनि, महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ।
बलात्कार जस्तो जघन्य अपराधको सिकार भएका किशोरी र महिलाहरूमाथि उनीहरूको व्यक्तित्व विकास, सुरक्षा र सम्मानित जीवन बाँच्नमा लगानी गरेर राज्यले केही गर्छ कि भन्ने झीनो आशा राखिन्छ नै । तर पनि यो सरकार र यसको व्यवस्थापनबाट केही खोज्नु भनेको स्यालको सिंग खोज्नु जस्तै हो।
तापनि, महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभयो, ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरूसँग गाँसिएको छ। सबै क्षेत्रमा महिलाहरूको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ।’
उहाँले बोल्नुभएअनुसार सबैतिर ध्यान दिनुहोला भन्ने आशा राख्दै, हाम्री लोकप्रिय गायिका विष्णु माझीको बारेमा अन्त नभए पनि सरकारी संचारमाध्यममै भए पनि सम्मानका साथ फिचर स्टोरी खोजोस् र प्रकाशन/प्रसारण गरोस् ।
विष्णु माझीको जीवनी पाठ्यक्रममा राखियोस् !
आखिर महिला पनि त प्रभावशाली हुँदारहेछन् त !
प्रतिक्रिया 4