नेपालमा इन्टरभेन्सनल रेडियोलोजी भित्रिएको एक दशक लागिसक्यो । तर अस्पताल गएर इन्टरभेन्सनल रेडियोलोजीको सेवाबारे सोध्ने संख्या निकै कम छ । यसले धेरै प्रकारको रोगदेखि क्यान्सरहरूको उपचारमा नयाँ आशाहरू समेत जगाएको छ ।
यो हरेक रोगको सहज उपचार हो । शल्यक्रियाको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजी ठूलो फड्को मारिरहेको यस अत्याधुनिक चिकित्सा उपचार सहज र सुरक्षित छ भन्नेबारे भने अधिकांश जानकार छैनन् । निको हुनसक्ने कतिपय रोगबाट पनि कतिपयले अकालमै ज्यान गुमाइरहेका छन्, सही उपचारको अभावमा ।
इन्टरभेन्सनल रेडियोलोजी भनेको के हो ?
रेडियोलोजीको काम सिटी, एमआरआई, अल्ट्रासाउन्ड, एक्स-रे प्रविधिको माध्यमबाट रोगको पहिचान गर्नु हो । यी माध्यमबाट पहिचानसहितको उपचार गर्ने पद्धतिलाई इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ । यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो । जसबाट बिरामीको रक्तनलीको समस्या र शरीरको कुनै पनि भागको आउन गाँठागुठीको पहिचान गरी उपचार गरिन्छ ।
यो प्रविधि ट्युमरदेखि नसा अवरोधसम्म धेरै जटिल शल्यक्रियामा धेरै प्रभावकारी साबित भएको छ ।
कसरी गरिन्छ ?
शरीरमा सानो प्वाल बनाएर एक्स-रे, यूएसजी, सिटिस्क्यान वा फ्लोरोस्कोपी जस्तो इमेजहरुबाट शरीरको अवस्थालाई हेर्दैै विभिन्न पातलो तार र क्याथेटर तथा आवश्यक उपकरण छिराएर यो शल्यक्रिया गरिन्छ ।
क्याथेटर (टयुब) र तार इन्टरभेन्सन पद्धतिमा प्रयोग गरिने उपकरण हो । तारले बाटो पत्ता लगाई क्याथेटर छिराइन्छ । जसको माध्यमबाट नसा खोल्ने र बन्द गर्ने काम गरिन्छ ।

कुनै अंगमा रक्तस्राव हुँदा फ्लोरोस्कोपीको माध्यमबाट शरीरभित्रको अवस्थाबारेमा पत्ता लाग्छ । जसमा क्याथेटर हालेरअवरुद्ध भएको नसा खोल्न वा बन्द गरिने काम गर्छ ।
यसको विशेषता भनेको ठूलो चिरफार गर्न नपर्ने र कुनै अंगलाई मात्र लक्षित गर्दै उपचार गर्न सकिने भएकोले शल्यक्रिया भन्दा उन्नत प्रकृतिको मानिन्छ ।
कस्तो रोगमा काम लाग्छ ?
टाउकोदेखि खुट्टासम्म जति पनि समस्या छन्, त्यसमा कुनै न कुनै हिसाबले जोडिएको विषय हो इन्टरभेन्सनल रेडियोलोजी । त्यसैले नसाको माध्यमबाट शरीरको समग्र अंगको समस्याको उपचार यस पद्धतिबाट सम्भव छ ।
मस्तिष्कको समस्या
टाउकोमा स्ट्रोक भएकाहरुको रत्तसञ्चारमा अवरोध गरिरहेको रगतको जमेको ढिक्कालाई एउटा तारको माध्यमबाट झिक्न सकिन्छ । जसले गर्दा पक्षघात हुन पाउँदैन ।
त्यस्तै मस्तिष्कमा रगतको कुनै नसा फुटेर ब्रेन ह्यामरेज भएमा तारको माध्यमबाट फुटेको बन्द गर्न धातुको कोइल हालेर रगत रोक्न सकिन्छ ।
ट्युमरको समस्या
शरीरमा देखिएका धेरैजसो ट्युमर पछि गएर क्यान्सरमा परिणत हुनसक्छ । यस्तोमा इन्टरभेन्सनल रेडियोलोजीको माध्यमबाट यस्ता ट्युमरको उपचारपूर्व रोग पत्ता लगाउने र त्यसको जटिलताबारे पहिचान गरी उपचार गर्न सकिन्छ ।
जस्तै, ट्युमरको केही रेसा निकाली बायोस्पी गर्न सकिन्छ । असर गर्न सक्ने देखिएमा रोगको जटिलता हेरी बिना चिरफार यस्ता थाइरायड, हाड, कलेजो, फोक्सो, मिर्गौला र स्तनको ट्युमरलाई विशेष सुईको प्रयोग र रेडियो फ्रिकोइन्सी एबीलेसन र माइक्रोवेभ एबीलेसनको माध्यमबाट निष्क्रिय पार्न वा नष्ट गर्न सकिन्छ ।

कलेजोको समस्या
क्यान्सर वा पत्थरीको कारणले पित्तनलीमा अवरोध आएको कारण शरीरमा जन्डिस बढ्न गई ज्यानै जोखिम हुनसक्छ । यस्तोमा शरीरको बाहिरी छालाबाट कलेजोमा पाइप राखेर पित्तलाई एउटा दिशा दिई जण्डिस बिग्रिन नदिने (पीटीबीडी) पद्धतिले ज्यान बचाउन सकिन्छ । यो पद्धतिले नेपालमा धेरैको ज्यान बचेको छ ।
प्रोसटेटको समस्या
प्रोस्टेटको समस्याले सबैभन्दा बढी ५० वर्ष काटेका पुरुषलाई सताउँछ । यसको लागि शल्यक्रिया नै मुख्य निवारणको उपचार मानिए पनि सबैलाई शल्यक्रिया गर्न चिरफार गर्न सकिने अवस्था हुँदैन ।
यस्तोमा इन्टरभेन्सनल रेडियोलोजीको विधिले प्रोस्टेट ग्रन्थीको वृद्धि रोक्न सकिन्छ ।
पाठेघरको समस्या
धेरैजसो महिलालाई पाठेघरमा पलाउने फाइब्रोइड ट्युमरको समस्याले सताउँछ । ट्युमरले गर्भ बस्न कठिन मात्र होइन कुनै टयूमर त क्यान्सरजन्य पनि हुनसक्छ । यस्तोमा ओपन सर्जरी गर्दा पाठेघर नै जोखिममा पर्ने वा फाल्न पर्ने अवस्था आउनसक्छ । यसको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजीका पद्धतिबाट विना ठूलो घाउ बनाई ट्युमर निष्क्रिय पार्न मद्दत गर्छ । यसरी सानो प्वाल पार्दा पाठेघर फाल्दा आउन सक्ने हार्मोनल समस्याबाट पनि जोगिन्छ ।
त्यस्तै फयालोपियन टयुब बन्द भएर बाँझोपनको समस्यालाई पनि तार र क्याथेटरको माध्यमबाट फेरि टयुब खुलाएर गर्भधारण योग्य बनाउन सकिन्छ ।
नसा फुट्ने समस्या
कुनै कारणवश शरीरको कुनै भागको नसा फुटन सक्छ । जसले रत्तसञ्चारको कार्यमा अवरोध गर्छ । यो पद्धतिले बन्द भएको नसा खोल्ने र फुटेको नसालाई मर्मत गर्ने काम गर्छ । जस्तै, कुनै कारणवश फोक्सो, आन्द्रा र मिर्गौलाका नसा फुटेर रगत गइरहेको अवस्थामा नसा भित्रैबाट गएर बन्द गरिन्छ । त्यस्तै, नसाहरु बन्द भयो भने त्यससँग जोडिएको अंग काम गर्न छाड्छन् । यस्तोमा विभिन्न तार र यन्त्रमार्फत खुलाउन सकिन्छ ।
टाउकोमा होस् वा शरीरका अन्य भागमा गुच्छा परेर बसेका नसालाई सुल्झाउने काम पनि इन्टरभेन्सनल रेडियोलोजीले गर्छ।
क्यान्सर रोगमा उपयोगी
क्यान्सर रोगको उपचारमा यो पद्धति रामवाणभन्दा कम छैन । क्यान्सरका बिरामीलाई कडा खालको औषधि चलाउनुपर्ने हुन्छ । यस्तोमा औषधिले नसालाई बिगार्न सक्छ । क्यान्सरमा लाग्ने औषधि इन्टरभेन्सलको मद्दतले दिंदा नसा क्षति हुनबाट जोगिन्छ ।
यस्तै, छालामा सानो प्वाल पारी तारको माध्यमबाट टयुब लगेर मुटुमा छोडिएर किमोथेरापी गर्न सकिन्छ । सो केमोपोर्ट वा पीआइसीसीि टयुबबाट लामो समयसम्म किमोथेरापी गराउन सकिन्छ ।केमोथेरापीको लागि छुटै नसा खोलिरहन पर्दैन । यस्तै क्यान्सर भइसकेपछि बनेका घाउ वा टयुमरको शल्यक्रिया गर्नुपर्ने हुन्छ । जसको विकल्प इन्टरभेन्सल पद्धति हुनसक्छ ।
क्यान्सरको टुयमर शल्यक्रिया गर्ने कठिन अवस्था भएमा तार छिराएर टयुमरको वृद्धिमा सहयोग गर्ने नसा बन्द गर्ने वा नष्ट पार्ने औषधि हाल्दिन सकिन्छ । कलेजोको क्यान्सर भई किमोथेरापी गर्दा पनि इन्टरभेन्सन रेडियोलोजीमार्फत् नसाको माध्यमबाट क्यान्सर बनाउने तत्वलाई कम गर्न यस पद्धतिबाट उपचार गर्न मिल्छ ।
मिर्गौला
मिर्गौला फेल भएकाहरुमा डायलाइसिस गर्दा नसा बिग्रन सक्छ । सो बिग्रिएको नसालाई पुनः काम लाग्ने बनाउन सक्छ ।
यसका फाइदा
-सानो पिनले प्वाल पारेको जस्तो सानो घाउ बनाएर गरिने शल्यक्रिया हुँदा घाउ ठूलो हुँदैन ।
-रक्तश्राव हुनसक्ने सम्भावना कम हुन्छ ।
– संक्रमणको जोखिम कम हुने र ठूलो घाउ नहुँदा बिरामी छिटो ठीक हुन्छ ।
-ओपन शल्यक्रियामा जस्तो बिरामीलाइ एनेस्थेसिया दिएर बेहोस बनाउनु पर्दैन ।
-कुनै पनि ठूलो दाग बस्दैन । जसले गर्दा झट्ट हेर्दा शल्यक्रिया गरेको पहिचान गर्न कठिन हुन्छ ।
-अस्पतालको बसाइ छोटो हुन्छ ।
कसले गर्नु हुँदैन ?
यो पद्धति केही अवस्थामा गर्न नमिल्ने हुनसक्छ । जस्तै, रगत धेरै पातलो छ । औषधि दिएर पनि नियन्त्रण गर्न सकिंदैन । त्यस्तोमा यो पद्धति फाइदाजनक नहुन सक्छ ।
रगत पातलो गराउने औषधि खानेहरुमा पनि औषधि केही समय रोकेर भने उपचार गर्न सकिन्छ ।
अन्य शल्यक्रिया विधाभन्दा फरक
यो शल्यक्रिया विधि अन्य विधाभन्दा फरक छ । किनकि यसले कुनै एक रोगमा मात्र काम गर्दैन । शरीरका धेरैजसो रोगलाई निवारण गर्न सक्ने खुबी यसमा छ । यसमा चिरफार गर्न पर्दैन । साथै, ल्याप्रोस्कोपिकमा जस्तो विभिन्न औषधि पेटमा राखी फुलाएर, विभिन्न स्थानबाट उपकरण पसाएर शल्यक्रिया गर्न यो पद्धतिमा आवश्यक हुँदैन । जसकारण साइड इफेक्ट कम छ । यो पद्धतिले एकै नसाबाट धेरै उपकरणको प्रयोग गरी काम गर्न सक्छ।
समय कति लाग्छ, खर्च कति ?
यो उपचार प्रक्रियामा कति समय लाग्छ भन्ने निर्क्यौल बिरामीको अवस्थामा भर पर्छ । समान्य अवस्थामा आधा घण्टादेखि जटिल समस्यामा २ घण्टा पनि लाग्न सक्छ । उपकरण महँगो भएकै कारण यसको उपचार खर्चालु छ । सामान्य समस्यामा सात हजारदेखि जटिल समस्यामा ८ देखि १० लाखसम्म लाग्न सक्छ ।
कसरी सुरुवात भयो ?
सन् १९६४ मा डा. डा. र्चाल्स डट्टरले यो सेवा सुरु गरेका हुन । उनकोमा एउटा जटिल केस आएको थियो । ८२ वर्षीया वृद्धको खुट्टाको नसा ब्लक भएको थियो । नसा ब्लक भएपछि खुट्टा काट्न पर्ने भयो । तर उनी तयार थिइनन् । डा. र्चाल्स डट्टरले खुट्टा काट्न नपर्ने विकल्पको बारेमा धेरै खोजी गरे। र, नसालाई बिना खुट्टा काटेर खुलाउन सफल भए । ती वृद्ध अन्तत: दुवै खुट्टाले हिंडेर डिस्चार्ज हुन सफल भइन् ।
यो नै इन्टरभेन्सनल रेडियोलोजीको सुरुवात थियो। विस्तारै यो सम्बन्धी अध्ययन र अभ्यास हुँदै उपकरण पनि बन्न थाले । यसरी यो क्षेत्रको विकास भयो । अन्तर्राष्ट्रिय जगतमा रोजाइमा पर्ने यो पद्धति नेपालमा भने बामे सर्ने अवस्थामा छ ।
नयाँ, तर धेरैलाई थाहा छैन
विश्वमा इन्टरभेन्सनल सेवाले फड्को मारे पनि नेपालमा भने धेरैलाई यो सेवाबारे जानकारी छैन । यो उपचार नेपालमा सन् २०१५ मा भित्रिएको हो । यो विशिष्ट सेवासहितका अस्पताल पनि कम छन् । र यसबारे विज्ञता हासिल गरेका चिकित्सक पनि कम छन् । जम्माजम्मी १६ जना जति इन्टरभेन्सल रेडियोलोजिस्टले सेवा दिइरहेका छन् ।
तीमध्ये धेरैले सम्भावना भन्दा बढी चुनौती देखेर सेवामा लागेका छैनन् । कारण भनेको सेवा भित्रिएको धेरै समय नहुनु, अन्य सेवा भन्दा महँगो हुनु र अस्पतालका चिकित्सकहरु यसबारे सचेत नहुनु पनि हो ।
चुनौती
यो उपचार पद्धति सहज भए पनि तत्कालको देशको अवस्थाले गर्दा चुनौती धेरै छन् । देशको अर्थतन्त्र कमजोर भएकाले पनि यस्ता विशेषज्ञ सेवा ओझेलमा परेका छन् । यही सेवा विदेशमा सस्तो छ भने नेपालमा महँगो छ । सेवा दिनलाई चर्को शुल्क उठाउनु परेको छ । भारत, चीन, अमेरिकाबाट उपकरण मगाउनुपर्छ । यो आयात गर्दा भन्सारकर अति महँगो तिर्नुपर्छ । जसकारण पनि सेवा लिन चाहेर पनि पछि हटेको धेरै देखिन्छ ।
त्यस्तै, दक्ष जनशक्ति कम छन् । यसबारे पढाउने र तालिम दिने संस्था छैन । जसले गर्दा सेवा सीमित छन् ।
सरकारी संस्थामा यसको दरबन्दी नै छैन । लगानी धेरै लाग्ने हुँदा निजी अस्पतालले लगानी गर्न सकेका छैनन् । सुलभ सेवा लिन स्वास्थ्य बीमाको सेवा प्रभावकारी छैन ।
साथै,यो पद्धतिबाट उपचार गर्दा नकरात्मक विकिरणमा बढी एक्सपोज हुँदा स्वास्थ्यकर्मीको पनि शरीरलाइ गर्ने हानि गर्छ । यसको व्यवस्थापन छैन ।
प्रभावकारी बनाउन केही पहल आवश्यक
-सरकारी तवरबाट थालिनुपर्ने महत्वपूर्ण कदम भनेको सरकारी अस्पतालहरुमा लोकसेवाको स्थायी दरबन्दी खुलाएर इन्टरभेन्सनल रेडियोलोजिस्टहरुको पदपूर्ति गरिनुपर्छ । ताकि दुर्गम क्षेत्रमा समेत यी सेवासँगै दक्ष जनशक्तिको पहुँच पनि पुर्याउन सकियोस् ।
– जनशक्ति बढाउन चिकित्सा अध्ययनमा इन्टरभेन्सनल पद्धतिको पाठयक्रम राख्नुपर्ने देखिन्छ । ताकि सुरुबाटै यो विधामा काम गर्ने इच्छा विद्यार्थीमा होस् ।
– यस्ता प्रविधिमा लगानी गर्नेदेखि सरकार र उपकरण उत्पादन गर्ने अन्तर्राष्ट्रिय निकाय तथा कम्पनीसँग समन्वय गर्नुपर्छ ।
-उक्त सेवा सर्वसुलभ बनाउन सरकारले मेसिन किनिदिएर वा स्वास्थ्य बीमा प्रबल बनाएर वा भन्सारकर कम गर्ने वा अस्पतालहरुमा क्याथ प्रयोगशाला बनाउने नीति बनाउनमा पहल गर्नुपर्ने देखिन्छ ।
-रेडियोलोजीको विकिरणबाट बच्न सर्वप्रथम त व्यक्ति आफैं सतर्क हुनुपर्छ । यसबाट बच्न सुरक्षात्मक विधिहरु अपनाउनुका साथै सुरक्षात्मक सामाग्री लगाउनुपर्छ ।
-सरकारले यस्ता विकिरणमा काम गर्दा जोखिम भत्ताको सेवा असमान रुपमा दिइरहेको छ । जोखिम भत्ताको प्रावधान समान रुपमा सबै अस्पतालमा हुनुपर्छ ।
प्रतिक्रिया 4