१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेका क्रममा गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एक जनाको पाटन अस्पताल र अर्का एकको किस्ट अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपीएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।
उनीहरुले सडक अवरुद्ध भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।
प्रतिक्रिया 4