+

क्यान्सरको उपचारमा प्रभावकारी टोमोथेरापी प्रविधि

२०८० पुष  १९ गते १३:०९ २०८० पुष १९ गते १३:०९
क्यान्सरको उपचारमा प्रभावकारी टोमोथेरापी प्रविधि

नेपालमा पहिलो पटक क्यान्सरको उपचारमा प्रभावकारी प्रविधि टेमोथेरापी भित्रिएको छ । सो सेवा गत सातादेखि वीर अस्पतालमा सञ्चालनमा आएको छ । यो धेरै प्रकारका क्यान्सर रोगको उपचारमा यो उपयोगी हुने देखिएको छ ।

टोमोथेरापी प्रविधि के हो ?

क्यान्सरको उपचार तीन तरिकाबाट गरिन्छ । शल्यक्रिया, केमोथेरापी र रेडिएसन थेरापी । टोमोथेरापी रेडिएसन थेरापीकै एक भाग हो ।

टोमोथेरापीमा विशेष उपकरण हुन्छ जसले क्यान्सरको कोषलाई बढ्न नदिन र मार्न सक्छ । रेडिएसन थेरापीमा टोमोथेरापीसहितको उपचारले अनियन्त्रित तवरमा वृद्धि हुने क्यान्सरको कोषलाई पुन: बल्झिन नपाउने गरी नष्ट गर्न मद्दत गर्छ । ट्युमरजन्य कोषमा मात्रै विकिरण लगाउने र बाँकी तन्तुहरूलाई बचाउने यसको मुख्य उद्देश्य हो ।

कसरी गरिन्छ ?

एकै उपकरणमा ‘इन्टेन्सिटी मोडुलेटेड रेडिएसन‘ थेरापीसँगै ‘कम्युटेड टोमोग्राफी’ पनि हुन्छ । यो संयुक्त प्रविधिले चिकित्सकलाई रेडिएसन कुन ठाँउबाट कसरी दिने, कति दिने र टयुमरको आकारप्रकार अनुसार मिलान गर्न मद्दत गर्छ ।

यो उपचारको समयमा बिरामीलाई एउटा पोजिसनमा बस्न लगाइन्छ । रेडिएसन सुरु हुनुपूर्व बिरामीलाई मेसिनसहित घुमाइन्छ । जसबाट उपचार गर्नुपर्ने भागको थ्री डी (थ्री डाइमेन्सनल) इमेज लिइन्छ । टयुमर भएको क्षेत्रलाई हेर्दै टयुमर भएको भागमा मात्र उच्च डोजको रेडिएसन दिइन्छ ।

यो प्रक्रिया १५ मिनेटसम्म लाग्न सक्छ । र, बिरामीलाई दुखाइको अनुभव हुँदैन ।

फाइदा

यो अत्याधुनिक प्रविधि हो । र, यसका फाइदा धेरै छन् ।

-टोमोथेरापीपछि क्यान्सर पुन: बल्झिने सम्भावना न्यून हुन्छ । किनकि टोमोथेरापीको उच्च मात्राले ट्युमरलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ ।

-टोमोथेरापीबाट उपचार गर्दा सामान्य तन्तुहरू क्षतिग्रस्त हुँदैनन् । अन्य सामान्य अंगलाई विकिरणजन्य जोखिमबाट बचाउँछ ।

-यसको साइड इफेक्ट कम छ ।

कस्तो क्यान्सरमा प्रभावकारी ?

यो पद्धति सबैजसो क्यान्सरमा प्रयोग गर्न सकिन्छ । तीमध्ये पनि आँखाले देख्न सकिने टयुमरमा यसको प्रयोगको नतिजा प्रभावकारी पाइएको छ । यद्यपि रक्त क्यान्सरमा भने यसको प्रयोग हुँदैन ।

स्तन क्यान्सर

टोमोथेरापी उपचार मुटु र फोक्सो जस्तो आसपासको महत्वपूर्ण अंग बचाएर स्तनमा आएको टयुमरमा मात्र केन्द्रित रहेर क्यान्सरको उपचारमा मद्दत गर्छ । यसमार्फत स्तनमा एउटा डोज दिइन्छ जसले स्तनमा अनावश्यक तवरमा बढेको टयुमर नष्ट गर्न सक्छ ।

प्रोस्टेट क्यान्सर

यो क्यान्सर भएको बिरामीमा मूत्राशय र मूत्रनलीलाई बचाएर प्रोस्टेटको ट्युमरलाई मात्र केन्द्रित गरी उपचार दिइन्छ ।

फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर भएकालाई मुटु र मेरुदण्डलाई असर नगरी फोक्सोको ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

मलाशय

सामान्य तन्तु र सानो आन्द्रालाई बचाएर विकिरणको आवश्यक मात्रा मलाशयको क्यान्सरसम्म पुर्‍याइन्छ । र, विकिरणको विषाक्ततालाई कम गर्छ ।

मस्तिष्क टयुमर

शल्यक्रिया गरी क्यान्सरको ट्युमर निकाल्दा यसका महत्त्वपूर्ण भागहरुले गर्ने कार्यमा पनि ह्रास आउने सम्भावना हुन्छ । तर टोमोथेरापीबाट रेडिएसन दिंदा मस्तिष्कको धेरैजसो सामान्य भाग सुरक्षित रहन्छ । र, यसले गर्ने कार्यमा पनि बाधा नगर्न सक्छ ।

बालरोगका ट्युमर

बच्चाहरूको कलिलो संरचनामा अनावश्यक विकिरण कम गर्नु सबैभन्दा महत्वपूर्ण कार्य हो । अन्य प्रकारका रेडियोथेरापी भन्दा टोमोथेरापीको मद्दतले सामान्य संरचनामा दखल दिनबाट जोगाउँछ ।  यो बालबालिकामा क्यान्सरको उपचारको लागि उपयुक्त उपकरण हो ।

पाठेघरको क्यान्सर

पाठेघरको क्यान्सर भएमा मलद्वार र मूत्राशय जस्ता संवेदनशील क्षेत्रहरूमा कुनै हानि नगरी प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ ।

टाउको र घाँटीको क्यान्सर

टोमोथेरापी टाउको र घाँटीको क्यान्सरको उपचारको लागि पनि उपयुक्त छ । किनभने यस्ता खाले ट्युमरमा उच्च डोज दिन सकिन्छ । जसले गर्दा र्‍याल ग्रन्थी, मेरुदण्ड, खाना निल्ने अंगहरू नजिकै भए पनि कुनै हानि गर्दैन ।

साइडइफेक्ट

हरेक उपचारमा त्यसको आफ्नै साइड इफेक्ट हुन्छ नै । यसको पनि केही साइड इफेक्ट छन् । साइड इफेक्ट जुन भागमा रेडिएसन दिइएको त्यही वरपर देखिन सक्छ । जस्तै, टाउकोमा रेडिएसन दिइएमा यसका कारण  टाउको दुख्ने, मुख सुख्खा हुने, आँखा सुख्खा हुने,  खान कठिन हुन सक्छ ।

अन्य सामान्य असर

-टोमोथेरापी दिइएको भागमा रातोपन, छाला चिलाउने

-उपचार भएको क्षेत्रको कपाल झर्ने

-यी असरहरु केही दिनसम्म देखा पर्न सक्छन् । तर सबैमा देखा पर्छ भन्ने हुँदैन ।

कति पटक गर्ने ?

बिरामीलाई कति पटक टोमोथेरापी चाहिन्छ ? यो टुंगो गर्न बिरामीको अवस्था र कुन चरणको क्यान्सर हो त्यसमा भर पर्छ ।

लागत

यसको लागत कुन उद्देश्यले उपचार गरिएको त्यसमा भर पर्छ । क्यान्सर रोक्न सकिने वा निर्मूल पार्न सकिने अवस्था भएमा डेढ लाख रुपैयाँ लाग्छ । यसको उपचार ६ साताको हुन्छ ।

तर क्यान्सर निको नहुने अवस्था छ । दुखाइ बढिरहेको छ र रगत गइरहेको छ भने यस्ता लक्षण ठीक पार्न पनि थप टोमोथेरापी गरिन्छ । एकपटकको शुल्क १२ हजारदेखि २५ हजारसम्म अवस्था हेरेर लाग्छ ।

बिरामीले पैसा तिर्न नसक्ने अवस्थामा अस्पतालले केही छुट र आवश्यक परेमा निःशुल्क पनि यो सेवा दिने गरेको छ ।

क्यान्सर टोमोथेरापी मेसिन
प्रा. डा. विवेक आचार्य
लेखक
प्रा. डा. विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ

प्रा. डा. आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । उनले रेडिएसन ओन्कोलोजीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३४ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?