+
+

व्यवसायी विमल पोद्दारसहित १७ विरुद्ध मुद्दा दर्ता, झण्डै ३ खर्ब बिगो दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:०६

९ माघ, काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सीआईबीका अधिकृतहरुले बताएका थिए ।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए ।

यो प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।

फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।

यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?