+

आनीबानीको कारण पनि हुनसक्छ क्यान्सर, यी ६ किसिमका व्यक्तिलाई बढी जोखिम

२०८० माघ  १० गते १२:५० २०८० माघ १० गते १२:५०
आनीबानीको कारण पनि हुनसक्छ क्यान्सर, यी ६ किसिमका व्यक्तिलाई बढी जोखिम

हामी भनिरहेका हुन्छौं, चुरोटको सर्को लिनेलाई क्यान्सर हुनसक्छ । रक्सी पिउनेलाई क्यान्सर हुनसक्छ । खराब खानपान गर्नेलाई क्यान्सर हुनसक्छ ।

तर जसले चुरोट खाएका छैनन्, रक्सी पिएका छैनन् । के उनीहरुलाई क्यान्सर भएको छैन ? वयस्क वा बुढापाका मात्र होइन, बालबच्चा पनि क्यान्सरले ग्रस्त भइरहेका छन् । त्यसो भए क्यान्सर चाहिं कसलाई हुन्छ त ?

क्यान्सर कसलाई हुन्छ ? ठ्याक्कै तोक्न सकिंदैन । बुढाबुढी, युवा, बालबच्चा, महिला, पुरुष जोकोहीलाई क्यान्सर हुनसक्छ । तर उमेर र लिंगअनुसार फरक-फरक क्यान्सरको जोखिम हुनसक्छ । साथै कतिपयको खानपान, आनीबानी, वंशानुगत इतिहासले पनि क्यान्सरको जोखिम वर्गमा पार्न सक्छ ।

बालबालिकालाई ब्लड क्यान्सर हुने सम्भावना बढी देखिन्छ । नेपालमा वार्षिक औसत १७ सय बालबालिकालाई क्यान्सर भएको तथ्यांक छ । ब्लड क्यान्सर किन हुन्छ ? यसको पनि एउटै मूल कारण पत्ता लगाउन सकिएको छैन । खासगरी हानिकारक विकिरण र वंशानुगत कारणले क्यान्सर हुने गरेको अनुमान गरिएको छ । तर यो पनि प्रमाणित भने होइन ।

त्यस्तै पुरुषको हकमा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । यसबाहेक घाँटी, मुख, आन्द्रा, पेटको क्यान्सर भएको पाइन्छ । पेटको क्यान्सर हुनुमा खानेकुरा जिम्मेवार छ । अहिले जसरी हामी प्याकेजिङ खाना बढी खाइरहेका छौं, जंकफुड एवं प्रशोधित खानेकुरा खाइरहेका छौं, त्यसले पेटको क्यान्सर हुने जोखिम बढाइदिएको छ ।

यद्यपि पश्चिमा मुलुकमा भने पुरुषलाई सबैभन्दा बढी प्रोस्टेट क्यान्सर देखिएको छ । युके क्यान्सर रिसर्च, लिड्स मेट्रोपोलिटन युनिभर्सिटी, मेन्स हेल्थ फोरम र नेसनल क्यान्सर इन्टेलिजेन्स नेटवर्कले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनअनुसार महिलाको तुलनामा पुरुषमा क्यान्सरबाट मृत्यु हुने सम्भावना ४० प्रतिशत र क्यान्सर लाग्ने सम्भावना १६ प्रतिशत बढी रहेको देखाएको छ ।

नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सरको बढी जोखिम छ । त्यसपछि स्तन क्यान्सर र फोक्सोको क्यान्सर देखिन्छ । क्यान्सर जोकोहीलाई लाग्ने भएपनि कतिपय हाम्रो आनीबानी पनि यसमा जिम्मेवार छन् । चाहे खानपानको कुरामा होस् वा दिनचर्याको, हाम्रो आनीबानीले पनि क्यान्सरको जोखिम बढाइदिन सक्छ ।

चुरोट र रक्सी खानेहरु

चुरोटको सर्को तान्ने र रक्सी पिउनेहरु क्यान्सरको जोखिम वर्गमा पर्छन् । चुरोट, सुर्ती पिउने र धेरै मद्यपान गर्ने व्यक्तिमा क्यान्सरको खतरा बढी हुन्छ । जुन प्रमाणित पनि भइसकेको छ । धुम्रपान गर्नेलाई व्यक्तिलाई फोक्सो, मिर्गौलाको क्यान्सर बढी हुन्छ । सुर्ती र गुट्खा खाने व्यक्तिमा मुख, गिजा, घाँटी र पाचन प्रणालीको क्यान्सर हुनसक्छ । त्यसैगरी अत्यधिक रक्सी पिउने व्यक्तिलाई आन्द्रा, कलेजो, मिर्गौलाको क्यान्सरको जोखिम हुन्छ । रक्सीले शरीरका यी अंगलाई कमजोर बनाउने काम गर्छ ।

परावैजनी किरणको सम्पर्कमा रहने

घाममा पनि एक किसिमको हानिकारक परावैजनी किरण हुन्छ, जसले छालाको क्यान्सर गराउन सक्छ । खासगरी मध्यान्हको चर्को घाममा लामो समय बस्ने व्यक्तिमा निरन्तर उक्त हानिकारक किरण परिरह्यो भने छालाको क्यान्सर हुनसक्छ ।

यसैगरी लामो समय एक्सरे, सिटी स्क्यान र रेडियोलोजीमा काम गर्ने मानिसलाई पनि क्यान्सरको खतरा हुन्छ । वर्षौंसम्म मेसिनबाट निस्कने विकिरणको संसर्ग हुने मानिसमा ब्लड क्यान्सर, लिम्फोमा, फोक्सो र ब्रेन क्यान्सर हुने सम्भावना हुन्छ । त्यस्तै विकिरणले बढ्ता स्पर्श गरेको ठाउँको छालामा छालाको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।

रसायनको प्रयोग गर्ने

अहिले खेतीबालीमा विभिन्न किसिमको रसायनिक तत्व प्रयोग गरिन्छ । त्यस्ता हानिकारक रसायनको कारण पनि क्यान्सर लाग्ने जोखिम छ । खेतीकिसानी गर्ने,  विभिन्न कम्पनीमा कामदारलाई क्यान्सरको जोखिम हुनसक्छ ।

फलफूल चाँडै पकाउन प्रयोग गरिने इथेफोन नामक रसायनले पनि क्यान्सरको जोखिम हुन्छ । यसरी कृत्रिम तवरले पकाइएका फलफूलको सेवनले पनि क्यान्सर हुनसक्छ ।

मासु, चिल्लो र प्रशोधित खानेकुरा

अत्यधिक मासु, नियमित जंकफुड, तारेको, भुटेको, पोलेको, प्रशोधित खानेकुरा बढी खाने व्यक्तिलाई पाचन नलीको क्यान्सरको जोखिम हुन्छ । धेरै रातो मासु खानेलाई ठूलो आन्द्राको क्यान्सरको जोखिम हुन्छ । चिल्लो र प्रशोधित खानेकुरा बढी खानेलाई पेट, खाने नली र मलद्वारको क्यान्सर हुने जोखिम हुन्छ ।

निष्क्रिय बसिरहने व्यक्ति

दिनभर निष्क्रिय बसिरहने वा एकै ठाउँमा बसिरहने व्यक्ति पनि क्यान्सरको जोखिममा हुन्छन् । कार्यालय, अफिस, बैंकमा काम गर्ने मानिसलाई पनि क्यान्सरको जोखिम हुन्छ । किनभने दिनभरि एकै ठाउँमा बसेर काम गर्दा क्यालोरी खर्च हुँदैन । यसले मोटोपन बढाउँछ । व्यायाम नगर्ने र मोटो व्यक्तिलाई क्यान्सरको जोखिम बढी हुन्छ ।

मोटो व्यक्तिमा इस्ट्रोजन हार्मोनको उत्पादन बढी हुन्छ । इस्ट्रोजन हार्मोन आवश्यकभन्दा बढी उत्पादन हुँदा यसले अनियन्त्रित कोष बढाउँछ । किनकि बोसोबाट इस्ट्रोजन हार्मोनको उत्पादन बढाउँछ । जसले गर्दा अधिकतर महिलाहरुमा पाठेघर र स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ

असुरक्षित यौन सम्पर्क

धेरै जनासँग असुरक्षित यौन सम्पर्क राख्ने मानिसलाई क्यान्सरको खतरा बढी हुन्छ । यौन सम्पर्कको माध्यमबाट ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संमक्रमबाट सर्छ । र, यसै माध्यमबाट एचआईभी एड्स भएर शरीरको प्रतिरोधात्मक क्षमता घटाई क्यान्सर लगायत जीर्ण रोग गराउन सघाउँछ । एचपीभी संक्रमणका कारण महिलामा पाठेघरको मुख, योनीमार्ग र भल्भाको क्यान्सर हुनसक्छ । त्यस्तै एचपीभी भाइरसको संक्रमण भएमा पुरुषमा यौनांगको क्यान्सर हुनसक्छ ।

आनीबानी क्यान्सर डा. विवेक आचार्य
प्रा. डा. विवेक आचार्य
लेखक
प्रा. डा. विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ

प्रा. डा. आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । उनले रेडिएसन ओन्कोलोजीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३४ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय