+
+

अर्गानिक खेतीपाती : मानव स्वास्थ्य र वातावरणका लागि

ऋषिराम कट्टेल, कृषिविज्ञ ऋषिराम कट्टेल, कृषिविज्ञ
२०८० माघ २२ गते १८:२८

काठमाडौं । अभिनेता राजेश हमालले एक प्रसंगमा भनेको कुरा सान्दर्भिक छ । उनले सुनाएको प्रसंग यस्तो छ :

‘एक जना डाक्टरले मलाई भनेका थिए, अहिले किन मान्छे बिरामी भइरहेका छन् भन्ने कुरामा उनलाई खास आश्चर्य छैन रे । आश्चर्य त यस कुरामा रहेछ कि अहिले मान्छेहरु कसरी बाँचिरहेका छन् ? किनभने मान्छेले अहिले जे जति खानेकुरा खाइरहेका छन्, त्यसमध्ये अधिकांश शुद्ध, ताजा र अर्गानिक छैन । जंकफुड, प्रशोधित खानेकुरा मात्र होइन, फलफूल, दूध, सागसब्जी पनि विषादीयुक्त छन् । यस्तो खानेकुरा खाएर पनि मान्छेहरु कसरी बाँचिरहेका छन् भन्ने कुरामा उनलाई अचम्म लागेको छ ।’

हुन पनि हो, तपाईं सरसर्ती आफ्नो भान्सामा नजर दौडाउनुहोस् त अर्गानिक खानेकुरा सायदै भेटिएलान् । हुन त सहरमा ‘अर्गानिक तरकारी, फलफूल’ भनेर जताततै देखिन्छन् । बजारमा पाइने ती तरकारी फलफूल साँच्चै अर्गानिक हो त ?

अर्गानिक खेती भन्नासाथ त्यहीअनुसारको बीउ, कुनै पनि रासायनिक मल, औषधि प्रयोग नगरेको मात्र होइन, वरिपरि समेत कसैले त्यस्तो चीज खेतमा प्रयोग नगरेको हुनुपर्छ ।

गोरखाको गण्डकी गाउँपालिकाको ग्याल्चुङको ६, ७ र ८ वडामा धेरै विषादी प्रयोग गरेर व्यावसायिक तरकारी खेती गर्नेमध्ये लगभग ५० जना क्यान्सर पीडित रहेको पाइयो । त्यसलाई मध्यनजर गरेर खेतीमा विषादीको प्रयोग कस्तो छ, त्यसले मानव स्वास्थ्यमा कस्तो असर गरेको छ, किसानलाई विषादीको प्रयोगमा जानकारी छ कि छैन भनेर गण्डकी गाउँपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धान प्रसारण निर्देशनालयको संयुक्त प्रयासमा अध्ययन भइरहेको छ ।

उत्पादन बढाउन विषादी प्रयोग गरे पनि कस्तो विषादी प्रयोग गर्ने, कति प्रयोग गर्ने भन्ने विषयमा किसानहरुलाई जानकारी दिनुपर्छ । मानव स्वास्थ्यमा कम असर गर्ने विषादीहरू पनि छन्, त्यसलाई प्रयोग गर्नुपर्छ । विषादी प्रयोग गरेको केही दिनमा त्यसको प्रभावकारिता कम हुन्छ । त्यसपछि मात्र बजारमा लैजाने भन्ने कुरा किसानले जान्नु महत्त्वपूर्ण छ ।

मानौं आज गोलभेंडामा धेरै मात्रामा विषादी प्रयोग गर्‍यो, भोलिपल्ट नै त्यसलाई बजारमा पुर्‍यायो भने त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । विषादी प्रयोग गरे पनि केही दिनपछि मात्र त्यसलाई टिपेर बजारमा पुर्‍याइयो भने त्यसको असर कम हुन्छ भन्ने जानकारी किसानलाई दिनु जरुरी हुन्छ । यद्यपि यो एक वैकल्पिक उपाय हो । विषादीको प्रयोग नगर्नु नै सर्वोत्तम हुन्छ ।

कृषि पढेकाहरूले अर्गानिक खेतीलाई प्रवर्द्धन गर्नुपर्छ । त्यसैले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीलाई अर्गानिक खेती गर्नुपर्छ भन्ने कुराको ज्ञान हामीले दिइरहेका छौं । कृषि पढेका धेरै जना विद्यार्थीले अर्गानिक खेती गरेका पनि छन् ।

कसैले अर्गानिक खेती गर्छ भने त्यो कति फाइदाजनक छ ? उसले अनुदान पाउँछ कि पाउँदैन ? भनेर अध्ययन हुन जरुरी छ ।

अर्गानिक खाद्य सामग्रीको उत्पादन र उपयोग गर्नेबारे अन्तर्राष्ट्रिय स्तरमा पनि व्यापक कुरा चलिरहेको छ । तर अर्गानिक उत्पादनको लागि रासायनिक मल विषादी प्रयोग गर्न नमिल्ने भएकाले उत्पादन घट्छ र खर्च बढी लाग्छ । त्यसैले युरोप अमेरिकातिर अर्गानिक खेती गर्नेलाई सरकारले अनुदान दिने चलन छ ।

नेपालमा भने अर्गानिक उत्पादन गर्नेलाई अनुदानको व्यवस्था छैन । यस्तोमा किसानहरूलाई सिधै अर्गानिक खेतीभन्दा पनि सेमी अर्गानिक गर्दै अर्गानिक खेतीतर्फ लैजान सकिन्छ ।

अर्गानिक उत्पादनले बजारमा राम्रो मूल्य पनि पाउँछ । तर किसानले अर्गानिक उत्पादन गरेको छ कि छैन भनेर हेर्ने राम्रो व्यवस्था नभएसम्म भने अर्गानिक भने पनि रसायन प्रयोग गर्ने सम्भावना रहन्छ । त्यसैले अर्गानिक उत्पादनलाई प्रमाणित गरेर अनुदान दिएमा नेपालमा पनि अर्गानिक उत्पादनलाई बढाउन सकिन्छ ।

अर्गानिक उत्पादनलाई प्रमाणीकरण कसरी गर्ने कुरालाई सरकारले ध्यान दिन सक्यो भने दिगो रूपमा वातावरण र मानव स्वास्थ्यमा सुधार हुन्छ ।

अर्गानिक खेती बढाउने उपाय

नेपालको सन्दर्भमा अर्गानिक खेती गर्नै नसकिने भने होइन । लगानी, समय र धैर्य बढी लाग्ने मात्र होइन उत्पादन समेत अर्गानिक प्रविधिबाट कम हुने भएकाले विदेशमा बढ्ता माग भएका कृषिजन्य वस्तुलाई यो प्रविधिबाट खेती गर्न सकिन्छ ।

अर्गानिक खेती गर्ने निश्चित स्थान तोकेर प्राविधिक सेवा समेत त्यहाँ उपलब्ध गराउनुपर्छ । नेपालमा पनि फलफूल, अलैंची र अदुवा जस्ता उत्पादनलाई तत्कालै अर्गानिक बनाउन सकिन्छ । अर्गानिकको सर्टिफाइ हुनु जरुरी छ ।

कुनै उत्पादनलाई ट्रेडमार्कको रूपमा ‘जोग्राफिकल इन्डिकेसन’ भौगोलिक संकेतको रूपमा विश्व बजारमा पुर्‍याउन सकिन्छ । जस्तो, भारत कोलकाताको बासमती चामल एकदमै लोकप्रिय छ, जुन युरोपमा समेत बिक्री हुन्छ । नेपालमा जीआईसम्बन्धी नीति नियम बनाउनु जरुरी छ ।

हामीले हाम्रो उत्पादनलाई पनि भौगोलिक संकेतको रूपमा सर्टिफाइड गर्‍यो भने त्यसले नेपाली मात्र होइन, विदेशमा पनि मार्केट पाउँछ र किसानको त्यस उत्पादनमा लगाव पनि बढ्छ ।

नेपालका धेरै उत्पादनलाई ट्रेडमार्कमा लैजान सकिन्छ

ताप्लेजुङको अलैंची, सल्यान कपुरकोटको अदुवा, इलामे चिया लगायत विभिन्न उत्पादनलाई भौगोलिक आधारमा ट्रेडमार्क दिन सकिन्छ ।

सल्यानको कपुरकोटमा उत्पादन हुने अदुवा एकदमै राम्रो गुणस्तरको हुन्छ । त्यसलाई हामीले ट्रेडमार्क दिन सकेका छैनौं । यस्ता उत्पादनलाई ट्रेडमार्क दिएर अर्गानिक उत्पादनलाई बढाउन सकिन्छ ।

चिया, कफी, अलैंची जस्ता निकासीजन्य वस्तुमा रासायनिक मल र विषादी प्रयोगलाई बन्द गर्न सकिन्छ ।  किनभने उत्पादन कम भए पनि अन्तर्राष्ट्रिय बजारमा अर्गानिकको महत्वले गर्दा त्यसले पाउने मूल्य धेरै हुन्छ ।

अर्गानिक खेती गर्नेहरूलाई विशेष अनुदानको व्यवस्था गरियो भने पनि अर्गानिक खेती बढाउन सकिन्छ ।

खाद्यान्न बालीमा भने सेमी अर्गानिक खेती गर्न सकिन्छ

अन्नबालीमा रोग कीरा लाग्दा विषादी प्रयोग नगरी अर्गानिक ढंगले उत्पादन गर्न सम्भव हुँदैन । रासायनिक मल, रोग कीरा लाग्दाको अवस्थामा विषादी प्रयोग नगर्दा अन्नबालीको उत्पादन घट्छ । अन्नबालीको उत्पादकत्व बढाउनुपर्ने हुन्छ ।

हाम्रो आवश्यकता बढीभन्दा बढी उत्पादन गरेर कृषि उत्पादनमा आत्मनिर्भर हुने हो । त्यसैले अन्नबाली अर्गानिक खेती गर्न सम्भव हुँदैन,  यस्तोमा विषादी र रासायनिक मलको प्रयोग कम गर्न सकिन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?