
२८ फागुन, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् ।
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे ।
विश्व बैंक नेपालको ठूलामध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो ।
सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए ।
‘कतिपय आन्तरिक र कतिपय वाह्य कारण अर्थतन्त्र केही दबाबमा छ,’ पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु ।’
आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पूँजीगत खर्च बढाउने गरी काम गर्ने विश्वास पुनले व्यक्त गरे ।
मन्त्री पुनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताए ।
भेटमा कन्ट्री डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाका प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए ।
विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई जेर्बोसले अवगत गराए ।
उनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठक तयारीबारे मन्त्री पुनलाई जानकारी दिए ।
आईडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4