+
+

काठमाडौं महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १०:५९

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ ।

महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो ।

महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

महानगरले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिममा राखेको हो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने अधिकारीले बताए । यसअघि शारीरिक तालिम प्रदान गरिसकिएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने पाण्डेले बताए । ‘स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने छौं’ उनले भने । १० दिनको तालिम सकिएपछि परीक्षा लिइनेछ । यसपछि प्रमाण पत्र प्रदान गरिनेछ ।

नगर प्रहरीको तालिमका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुने भन्दै महानगरको छवि नगर प्रहरीको काँधमा रहेको बताए ।
‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले सहरी व्यवस्थापनको नाममा फुटपाथ तथा साना सडक व्यवसायीलाई न्यूनतम मानवीय संवेदना समेत ख्याल नगर धरपकड गरेको भन्दै आलोचना हुँदै आएको छ । गत महिना मात्रै महानगर प्रहरीको आक्रमणबाट सुन्धारामा ६ फुटफाथ व्यवसायी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?