+
+
सन्दर्भः विश्व स्वास्थ्य दिवस :

विश्व स्वास्थ्य दिवस–२०२४ ले दिन खोजेको सन्देश र केही प्रतिक्रिया

डा. नरनाथ पाण्डे डा. नरनाथ पाण्डे
२०८० चैत २५ गते १७:२५

विश्व स्वास्थ्य दिवस विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको दिन अर्थात् अप्रिल ७ तारिख (यस वर्ष चैत २५ गते) का दिन संसारभर भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । सन् १९४८ सालमा स्थापना भएको विश्व स्वास्थ्य सङ्गठनको प्रथम स्थापना दिवस भने सन् १९५० देखि अप्रिल ७ तारिखका दिन मनाउन सुरु गरेको इतिहास छ । यस वर्ष विश्व स्वास्थ्य दिवस मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने नाराका साथ मनाइँदैछ ।

यस वर्ष तय गरिएको यो नाराले स्वास्थ्य प्राप्त गर्नु सबै मानिसको नैसर्गिक वा जन्मसिद्ध अधिकार हो भन्ने कुराको चेतना जागृत गर्नका लागि जोड दिएको छ । त्यसो त नेपाल लगायत संसारका १४० वटा देशका लिखित संविधानमा समेत स्वास्थ्यलाई नैसर्गिक अधिकारका रूपमा राखिएको छ । संविधानमा यस्ता व्यवस्था गर्दैमा के संसारका सबै मानिसले आफ्नो अधिकारको सदुपयोग गर्न पाएका छन् त भन्ने विषयमा अब व्यापक बहस गर्नु जरूरी छ । तर जन्मसिद्ध अधिकार मानिएको स्वास्थ्य सेवा प्राप्तिको अवस्था के छ त ? बहस हुन जरूरी छ ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यको अपूर्ण परिभाषा

विश्व स्वास्थ्य सङ्गठनले सन् १९४८ मा दिएको स्वास्थ्यको परिभाषामा कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि शारीरिक, मानसिक र सामाजिक रूपले पूर्ण रूपमा तन्दुरुस्त हुनु हो भनेको छ । यो परिभाषा अहिलेको अत्याधुनिक समयसम्म आधिकारिक परिभाषाको रूपमा स्थापित भएको छ । यस परिभाषामा निकै कमी–कमजोरी रहेको कुरा त्यतिबेलै रेनि डुबोस भन्ने विद्वान्ले व्यक्त गरेका थिए र तत्पश्चात् पनि धेरै अत्याधुनिक र सर्वमान्य परिभाषा आएका छन् तैपनि विश्व स्वास्थ्य सङ्गठनले हालसम्म पनि यो परम्परागत परिभाषालाई परिमार्जन गरेको छैन ।

विश्व स्वास्थ्य सङ्गठन विश्वभर स्वास्थ्य सम्बन्धी नीति–निर्माता र अनुगमन गर्ने प्रमुख संस्था हो तापनि यसले आफ्नो सङ्कुचित स्वास्थ्यको अवधारणालाई सच्याउन तयार नहुनु कुनै रहस्यमय विषय हुनसक्छ नत्र किन आजसम्म पनि यो परिभाषामा परिमार्जन गरिएको छैन ?

त्यतिबेला दिएको परिभाषामा व्यक्ति स्वस्थ हुनमा शारीरिक, मानसिक र सामाजिक पक्षलाई मात्र भनिएको छ । के स्वास्थ्यका अरू आयाम छैनन् ? आध्यात्मिक, आर्थिक, आनुवंशिक, वातावरणीय जस्ता पक्षहरूलाई यो परिभाषाले कतै सम्बोधन गरेको छैन । व्यक्तिको स्वास्थ्य के स्थिर अवस्था हो ? यो परिभाषामा स्वास्थ्यलाई स्थिर अवस्था भनिएको छ, स्वास्थ्य स्थिर अवस्था नभई निरन्तर परिवर्तन वा तल–माथि भइरहने गतिशील अवस्था हो । त्यस्तै स्वस्थ हुनु भनेको पूर्णरूपले तन्दुरुस्त हुनु हो भनिएको छ, जुन कुरा मापन गर्न सकिने कुनै आधार र पारामिटर छैन ।

यसलाई रेनि डुबोसले व्यक्तिको स्वास्थ्य पूर्ण कहिल्यै हुँदैन, पूर्ण स्वास्थ्यको अपेक्षा राख्नु मृगतृष्णा जस्तै हो भनेका थिए । यसैगरी त्यति ठूलो संस्था र विद्वान्हरू रहेको संस्थाले स्वास्थ्यलाई परिभाषित गर्दा स्वस्थ हुन गुणस्तरीय जीवन हुनुपर्छ भन्ने कुनै कल्पना गरेको छैन । यिनै तर्कहरूको आधारमा के भन्न सकिन्छ भने विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषा नै अपूर्ण रहेको छ ।

स्वास्थ्य सेवामा पहुँच

अहिलेको उत्तरआधुनिक युगसम्म आइपुग्दा प्रविधिका कारण निकै खोज र अनुसन्धानले गर्दा मानिस हरेक कुरामा जानकार रहेको छ । स्वास्थ्यका सवालमा मानिस झन् सशक्त तवरले नयाँ खोजमा उद्यत रहेको छ । मानिसले गरेका अनुसन्धानले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै आएको छ भन्न सकिन्छ । अङ्ग प्रत्यारोपण त के कुरा टेस्टट्युब वा प्रयोगशालामै बच्चा जन्माउन सक्ने अवस्थामा मानिस पुगेको छ । स्वास्थ्य क्षेत्रमा यति प्रगति हुँदै जाँदा मानिसले स्वास्थ्य सेवाको कति उपयोग गर्न सकेका र पाएका छन् त भन्ने सवाल महत्वपूर्ण हुन जान्छ ।

दुनियाँमा अहिले पनि मानिसहरूका बीचमा हुँदा खाने र हुने खानेबीच फराकिलो खाडल रहेको छ । स्वास्थ्य सेवा निकै महँगो र नेपाली जस्ता गरिबीको रेखामुनि रहेका जनताका लागि त साधारण स्वास्थ्य सेवाको पहुँचमै समस्या रहेको छ । कठिन भौगोलिक परिवेश, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धति र सांस्कृतिक परिवेशका कारण मानिसहरूले अझै स्वास्थ्य सेवा सहज तरिकाले प्राप्त गर्न सकेका छैनन् ।

धनीमानीहरूका लागि सामान्य भएतापनि आर्थिक पछौटेपनमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको उपभोग गर्नु दुर्लभ रहेको छ । संसारका धेरै देशमा अझैसम्म पनि स्वास्थ्य उपचारका लागि साधारण सिटामोल र जीवनजलको अभावमा जीवन गुमाउनु परेका मानिस थुप्रै छन् । पर्याप्त खान नपाएर कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि घट्ला भन्दा बढ्दै गइरहेको तथ्याङ्कले मानिसको अशिक्षा र चरम गिर्दो आर्थिक अवस्थाको सहजै मूल्याङ्कन गर्न सकिन्छ । यस्तो अवस्थामा देशको संविधानमा स्वास्थ्य सबैको नैसर्गिक अधिकार भनी लेख्नुको औचित्य के रह्यो र ?

यस वर्षको सन्देश

व्यक्तिको स्वास्थ्य अवस्थालाई निर्धारण गर्ने तत्वहरू जैविक, भौतिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विषयवस्तुमाथि विश्लेषण गरेर हेर्दा के मानिसले अहिले ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भनेर बोल्न मिल्ने अवस्था देखिन्छ त ? नियम, कानुनमा त प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यको प्रतिकूल हुने खालका क्रियाकलाप विरुद्ध स्वास्थ्य संरक्षण गर्न पाउने व्यवस्था होला । तर मानिसले नै गराएका प्रदूषण र त्यसले व्यक्तिको स्वास्थ्यमा पारेका वा पार्न सक्ने असरबारे कहीं कतै कारबाही गरेको देख्न, सुन्न र भोग्न पाइएको छैन ।

वास्तवमा सबै मानिसले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, सूचना, शुद्ध खानेपानीको प्रयोग, स्वच्छ हावामा सास फेर्न, असल पोषण प्राप्त गर्न पाउनुपर्ने, सुरक्षित र गुणस्तरीय आवास व्यवस्था भएको हुनुपर्ने, कार्यस्थल र वरपरको वातावरण स्वच्छ हुनुपर्ने र भेदभाव विरुद्ध समेत स्वतन्त्र हुन पाउनुपर्ने आधारभूत स्वास्थ्यका विषयवस्तु हुन् । कम्तीमा पनि यस्ता सुविधा सबैले पाउनुपर्ने अधिकार पनि हुन् । तर त्यस्तो आभास कहींकतै पाइएको छैन जुन विडम्बना पनि हो ।

वर्तमान स्वास्थ्य सङ्कट, कर्तव्य र अधिकार

अहिले संसारमा उत्पन्न भइरहेका नयाँ–नयाँ रोग र प्राकृतिक प्रकोपका कारण धेरै मानिसको मृत्यु भएको छ भने बाँचेकाहरू पनि अधिकांश अपाङ्गता भई बाँच्नुपरेको छ । सँगसँगै संसारमा द्वन्द्व, हत्या, हिंसा, आतङ्क, लडाईं, झै–झगडा, हतियारको होडबाजी आदि चलिरहेको हाम्रासामु छर्लङ्गै छ । यस्ता क्रियाकलापले पृथ्वीमा अतिक्रमण भएर जलवायु परिवर्तन, पशुपन्छीको विनाश, जमिनको उर्वरा क्षमतामा ह्रास तथा खेतीपातीमा प्रतिकूल प्रभाव परिरहेको छ ।

ओजोन तहको विनाशका कारण सूर्यबाट आउने विकृत विकिरणहरू सोझै पृथ्वीमा पर्दा त्यसबाट हुने क्षति सोचनीय विषय बन्नुपर्ने भएको छ । पृथ्वीमा भएको औद्योगिक क्रान्तिले वातावरणमा अतिक्रमण भएको छ । फलस्वरूप पृथ्वीमा कार्बनडाइअक्साइड जस्ता हानिकारक ग्याँसको मात्रा बढेर वायु प्रदूषण हुँदा मानिसमा श्वास–प्रश्वासका रोगहरू देखा परिरहेका छन् भने अर्कातिर हरितगृह प्रभाव परी पृथ्वीको तापक्रम बढिरहेको छ ।

गत वर्ष सन् २०२३ लाई इतिहासकै सर्वाधिक तातो वर्ष भनेर घोषणा गरिएको छ भने यो वर्षमा पनि उक्त रेकर्ड अझै तोडिन नसक्ने कुनै आधार देखिंदैन । जलवायु परिवर्तनका कारण वातावरणीय अनुकूलनमा प्रभाव पर्दा कतिपय जलचर र थलचर प्राणीहरूका लागि समस्या भएर डाइनोसर लोप भए जस्तै अन्य जीवहरू पनि लोपोन्मुख हुने क्रममा रहेका हुनसक्छन् । त्यस्तै पृथ्वीको तापक्रम बढ्दा हिमालको हिउँ पग्लिएर समुद्र सतह बढ्न जाने देखिन्छ ।

समुद्रको सतह थोरै मात्र बढे पनि त्यसबाट उत्पन्न हुने दैवीप्रकोपका कारण जनधनको अपूरणीय क्षति हुने सुनिश्चित छ । यति मात्र होइन, वायु प्रदूषणका कारण अम्लीय वर्षा हुने सम्भावना छ । यदि अम्लीय वर्षा भयो भने पृथ्वीमा रहेका वनस्पति, पशुपन्छी र खेतीपातीमा सोझो प्रभाव पर्नेछ भने मानिसको स्वास्थ्यको अवस्थामा पनि जटिलता थपिनेछ ।

विश्व स्वास्थ्य सङ्गठनको यस्ता विषयमा ध्यानाकर्षण भएको छ कि छैन ? यदि अवस्था यस्तै रहने हो भने कीटजन्य रोगहरू बढ्ने, विकिरणका कारण मानिसको जीनमै प्रभाव परी भविष्यमा रोगी सन्तानहरू जन्मने सम्भावना रहन्छ । यस्तै आन्तरिक र बाह्य वातावरणका कारण भविष्यमा मानव सभ्यता नै जोखिममा पर्न सक्ने सम्भावना देखिन्छ ।

अब यस्तो अवस्थामा म स्वच्छ वातावरणमा बस्न पाउनुपर्छ, स्वच्छ हावामा सास फेर्न पाउनुपर्छ, स्वस्थ पानी र खाना खान पाउनुपर्छ, रोग लाग्नबाट बाँच्न पाउनुपर्छ र रोग लागिहालेमा छिटो उपचार पाउनुपर्छ किनकि स्वस्थ भएर बाँच्न पाउनु मेरो जन्मसिद्ध अधिकार हो भन्ने कुरा कहाँ, कसले र कहिले सम्बोधन गर्ने होला ?

अतः दिवस मनाउनु मात्र कर्तव्य पूरा भएको ठान्ने अहिलेको मानव जगतले यस पृथ्वीमा बस्दा आफ्ना पनि केही कर्तव्यहरू छन् भन्ने कुरा किन बुझ्न नसकेका होलान् ? जहाँ अधिकारका कुरा गरिन्छ त्यहाँ कर्तव्यका कुरा पनि आउने गर्छन् । यहाँ हामीले आफैं जल, थल र वायु प्रदूषण गराइरहेका छौं ।

हामीले गर्ने कामबाट निस्कने प्रदूषण, हाम्रा शरीरबाट निस्कने फोहोरको समुचित विसर्जन, भान्छा तथा घरायसी कामकाजबाट उत्पादन हुने फोहोरमैलाको व्यवस्थापन हामीले अरूलाई र यो धर्तीलाई असर नहुने गरी विसर्जन गरेका छौं त ? के हाम्रो आचरण र सोच स्वस्थकर छ ? के हाम्रा सांस्कृतिक प्रचलनका प्रदूषण हामीले व्यवस्थापन गरेका छौं ?

यी कुराहरूको बारेमा समेत नागरिक सचेत हुनु जरूरी छ । हामीमा विद्यमान म एक जनाले गरेर के हुन्छ र भन्ने मानसिकता त्याग्न जरूरी छ । यसो गरे मात्र हामीले हाम्रो स्वास्थ्य रक्षा गर्न पाउनु हाम्रो अधिकार हो भन्न सुहाउँछ कि ?

(मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीमा प्राध्यापनरत पाण्डे सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् । उनले जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?