+
+

सबै कालखण्डका भ्रष्टाचार छानबिन गर्न आयोग माग गर्दै कांग्रेसको प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:३७

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सबै कालखण्डका भ्रष्टाचार छानबिन गर्न जाँचबुझ आयोगको माग गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे र जीवन परियारको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।

उनीहरूले सबै कालखण्डको भ्रष्टाचार र सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग राखेका छन् ।

चैत २३ गते प्रतिनिधि सभामा दर्ता भएको प्रस्तावमा वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि, सरकारी र सार्वजनिक संस्थामा काम गरेका कर्मचारी, नियुक्ति पाएका अधिकारीहरूको सम्पत्ति छानबिनको माग गरिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको परिवारको समेत सम्पत्ति छानबिनको दायरमा ल्याउनुपर्ने उनीहरूको माग छ ।

२०५८ सालमा सार्वजनिक पद धारणा गरेका व्यक्तिमाथि छानबिन भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसपछि पदमा बसेकाहरूमाथि छानबिन गर्न जाँचबुझ आयोग बनाउनुपर्ने उनीहरूको प्रस्ताव छ ।

जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अधिकार सम्पन्न आयोग बनाएर २०५८ पछि वडा तहसम्म सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

‘२०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी राय सहितको प्रतिवेदन पेश गर्न २०५८ साल फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो । सो आयोगले जाँचबुझ गरी पेश गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वन गर्नु आवश्यक छ’ सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?