+
+
Shares

इच्छा अधुरै रह्यो

‘म आफ्ना बितेका दिनहरूको स्मरण गर्दथें। जहाँ हाँस्नु, बोल्नु र सपना देख्नु जीवनका अभिन्न अंग थिए। कत्रो उपहास नियतिको ? एउटी स्त्री, कम स्त्री बनिरहेकी थिई र एउटा पुरुष, बढी स्त्री बन्दै गइरहेको थियो।’

अमृता लम्साल अमृता लम्साल
२०८१ वैशाख ४ गते ७:१२

मलाई उहाँसँग परिचित गराउने माध्यम पुस्तक नै हो। त्यो पुस्तक, लेखक शोभा भट्टराईको आफ्नै जीवनको तीतो सत्य हो जसलाई ‘अनुभवन्यास’ विधा अन्तर्गत प्रकाशित गरिएको रहेछ। शीर्षक छ– ‘अन्त्यहीन अन्त्य’।

प्रतिभा प्रकाशनबाट २०५८ सालमा प्रकाशित उक्त किताब मैले २०७३ साल पुसमा मात्र पढ्ने मौका पाएकी थिएँ। त्यो पनि लेखक/प्राध्यापक तथा फेसबुकमा ‘बुकहलिक्स’ नामक पेज खोलेर पठन संस्कृति बढाउन अनवरत लागिपरेकी व्यक्ति सगुना शाहले कुनै प्रसंगमा उक्त किताबबारे चर्चा गरेपछि मात्रै थाहा पाएर, शाहसँगै सापटी लिएर पढेकी थिएँ।

शाह नेपालीमा लेखिएको उक्त किताबको अंग्रेजी अनुवाद गर्ने सोचमा हुनुहुन्थ्यो। त्यसबारेमा कसरी कुरा चल्यो त ? मैले सगुनालाई प्रश्न राखें। उहाँले भन्नुभयो, ‘मैले सन् २०११ मा ‘होमोसेक्स्युयालिटी’ बारे एउटा लेख लेखेकी थिएँ; त्यही पढेर उहाँले मलाई सम्पर्क गर्नुभएको थियो।’

सो किताब बारे यो पंक्तिकारलाई कौतूहल जगाउने कुरा चाहिं, लेखकको जन्मदिने परिवारका केही सदस्यहरूसँग एकतर्फी परिचय हुनु पनि थियो।

जुनबेला लेखकको मागीविवाह भएको थियो, त्यो बेला नेपाली समाज, अझ चालीसको दशकतिर अधिकांश बाहुन, क्षेत्रीको परिवारमा छोरी भनेको गाईलाई दाम्लोमा बाँधेर डोर्‍याउँदै जता भन्यो उतै पठाउने जस्तै थियो। पोते र तिलहरी घाँटीमा झुन्ड्याइदिएर, ‘मारे पाप, पाले पुण्य’ भन्दै पान–सुपारी र केही खुजुरा पैसा विवाह गर्ने केटोको रुमालमा बेस्सरी कसेर पोको पारेर खल्तीमा हालेर छोरी सुम्पने चलन थियो।

छोरीलाई जेनतेन त्यतिबेलाको एसएलसीसम्म (अहिलेको एसईईसम्म) पढायो अनि विवाह गरेर पठाउन केटा खोज्न थाल्यो। केटाको व्यक्तिगत जीवन कस्तो छ ? भनेर सोधीखोजी गर्ने समय पटक्कै थिएन। पितृसत्तात्मक समाजले छोरीहरूलाई बोल्न दिंदैनथ्यो। केटीहरूको लागि त्यस्ता मागीविवाह भनेको भाग्योदय चिट्ठा जस्तो थियो; चिट्ठा किन्यो, पर्‍यो भने मालामाल (पैसाको कुरा होइन, गतिलो र असल केटा पाउने प्रसंगमा), परेन भने पूरै जीवन खेर गयो।

कतिपय परिचित परिवारका घरमूलीहरूले त्यसै गरेर आफ्ना छोरीहरूको जीवन माटोमा मिलाइदिएका छन्। मानसिक रोगी, लागूपदार्थका व्यसनी केटाहरूलाई समेत ‘विवाह गरिदिएपछि ठिक हुन्छ’ भन्ने सोच राखेर आफ्ना छोरीहरूलाई जीवनभरि तनावमा बाँच्न बाध्य बनाइदिने त्यो समाजमा विवाह नामको कार्य सकिदिएपछि, छोरीको जीवन जतिसुकै कष्टप्रद भए पनि माइतीले पिठ्युँ फर्काएर बसिदिन्थे।

यसमा केही अपवाद थिए होलान् तर, नगण्य। शोभाको जीवन पनि त्यसै गरेर भुमरीमा धकेलिएको रहेछ। शोभा काठमाडौंमा पढ्दै गरेकी, पढाइमा अब्बल; केटाको बसाइ क्यानडामा विवाहको लागि बैंकक् शोभा तथा केटा, दुवै काठमाडौंको एलिट वर्गको पहिचान भएको परिवार।

शोभाको बुवा तत्कालीन श्री ५ को सरकारको सचिव, विवाह हुनलागेको केटाको बुवा नेपालको प्रतिनिधित्व गर्ने राजदूत; समाजले देख्ने र हेर्ने त त्यति मात्रै हो। विवाह बैंकक्‌मा गर्ने तय भएछ। विवाह अगाडि शोभाले फोटो मात्रै देखेको। त्यतिबेला बैंककमा विवाह हुनु पनि ठूलै कुरा हुन्थ्यो। त्यस्तो विवाहको हाईहाई गर्न कसले बाँकी राख्थ्यो र!

शोभाको जीवन ?

किताबमा शोभाले लेख्नुभएको छ- ‘श्रीमान् अमर शर्मा, मिनी स्कर्ट र समिजमाथि सेतो शर्ट लगाएर बसेको थियो। भित्र ब्रा पनि लगाएको थियो।

म पस्दा ऊ आफ्ना औंलामा नेल पालिस लगाइरहेको थियो, अत्यन्त मनोयोगले।

मेरो लोग्ने स्वास्नीमान्छे बनेर बसेको थियो।

मैले उसकी प्रेमिकालाई भेट्न खोजेकी थिएँ।

मलाई के थाहा, उसकी प्रेमिका ऊ आफैं थियो।

यसभन्दा त राम्रो हुन्थ्यो, उसकी एउटी प्रेमिका भएकी भए। अनेकौं गर्लफ्रेन्ड भएका भए।

त्यस अवस्थामा अरुथोक जे भए पनि यो पुरुष हो भन्ने त भइरहन्थ्यो। म उसको पुरुषत्व ‘फिल’ त गरिरहन सक्थें, माया गरे पनि नगरे पनि।’

यस्ता थुप्रै थुप्रै मार्मिक हरफहरू समेटिएका छन्, ‘अन्त्यहीन अन्त्य’ भित्र।

उतिबेला सामाजिक सञ्जाल थिएन। समाजले एलजीबीटीआईक्युए (लेस्बियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स, क्वेयर/क्वेस्चनिङ, असेक्सुअल) बारे मुश्किलले चिन्दथ्यो । चिनिहालेमा पनि मान्छे मान्दैनथ्यो।

त्यस्तो समयमा बन्द समाजमा हुर्किएकी किशोरीको मनस्थिति कस्तो भयो होला ? यहाँ के स्पष्ट पार्न चाहन्छु भने, यहाँ एलजीबीटीआईक्युए समूहप्रति नकारात्मक सोच फैलाउन खोजेकी होइन; केवल त्यतिबेलाको समयको विश्लेषण मात्र गर्न खोजेको।

त्यो बेलासम्म, जनजाति, आदिवासी, यौनिक अल्पसंख्यक तथा अन्य सीमान्तकृत समुदायको बारेमा सोच्ने तथा पहिचान बनाउन सहयोग गर्ने वातावरण खासै थिएन।

अहिलेको स्थितिमा नेपालको नियम कानुनले सो समूहको पहिचान दिइसक्दा त समाजमा स्थापित हुन कति गाह्रो छ भने त्यतिबेलाको सन्दर्भमा बाबुआमाले आफ्नो विवाह महिलासँग गरिदिन लाग्दा किशोरले पनि बाबुआमासँग फरक मत राख्न कसरी सके होलान् र ? त्यसैले, ती विवाह हुनलागेका किशोरले पनि के हिम्मत गरे होलान् र ? ती किशोरीले कसरी बुझ्ने र मन बुझाउने ?

केही समयदेखि लगातार सम्पर्कमा रहेकी मैले पनि गत मंसिर २६ गते उहाँको अवसान भएको थाहा पाएँ। त्यो समयमा त्यसरी पुस्तक लेखेर आफूमाथि भएको अन्याय अरूलाई नपरोस् भनेर सचेत गराउन खोज्ने उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

उनीहरूका परिवार भन्दा बाहिरका मानिसहरूले राजधानीको नाम चलेको परिवारकी यी छोरीको कथा, ‘यसो रे!’, ‘उसो रे!’ भन्दै शोभाप्रति नै नकारात्मक टिप्पणी सुन्दै र सुनाउँदै हिंडे। नदेखेको, नचिनेको मानिसलाई जसले जे भने पनि ‘हो’ नै भन्ने भीडले पनि त्यही कुराको अनुसरण गर्‍यो; अझ सकेको खण्डमा नकारात्मक कुरा नै थप्यो।

त्यही एकोहोरो टिप्पणीहरूलाई स्पष्ट पार्न नै लेखकले किताब लेख्ने निर्णय गरेको हुनसक्छ। उक्त किताबबारे पत्रकार देवेन्द्र भट्टराईले २०६१ साल असार २६ गते कान्तिपुरमा एउटा आलेख लेख्नुभएको छ। पत्रकार भट्टराईले लेखकलाई कसरी भेट्नुभएको रहेछ भन्ने जिज्ञासा जाग्नु स्वाभाविक नै हो।

उहाँका अनुसार, लेखक र उहाँको बीचमा साँघुको काम साहित्यकार ध्रुवचन्द्र गौतमले गर्नुभएको रहेछ। २०५८ सालमा प्रकाशित उपरोक्त पुस्तकलाई पुस्तकाकार बनाउन ध्रुवचन्द्र गौतमले सघाउनुभएको रहेछ।

यस बारेमा, शोभा भट्टराईले, पत्रकार देवेन्द्र भट्टराईसँग कुराकानी हुँदा लेख्नुभएको छ, “म कहाँ लेखक हुँ र ! मलाई डा. ध्रुवचन्द्र गौतमले सहयोग गर्नुभएको हो।’ किताबको भूमिका साहित्यकार मोहनराज शर्माले लेखिदिनुभएछ। जम्मा मूल्य ६० रुपैयाँ राखिएको किताब पहिलो संस्करण तीन महिनामा नै सिद्धिएपछि तुरुन्तै दोस्रो संस्करण छापिएको रहेछ।

आफूले आफ्नो डायरीलाई किताबको स्वरूप दिनुपरेको बारेमा देवेन्द्र भट्टराईसँग कान्तिपुरको लेखमा उल्लेख गर्नुभएको छ, ‘म आफ्ना बितेका दिनहरूको स्मरण गर्दथें। जहाँ हाँस्नु, बोल्नु र सपना देख्नु जीवनका अभिन्न अंग थिए। कत्रो उपहास नियतिको ? एउटी स्त्री, कम स्त्री बनिरहेकी थिई र एउटा पुरुष, बढी स्त्री बन्दै गइरहेको थियो।’

हुनत, जीवनको त्यो मोडमा जीवनका दुवै पात्रहरू पक्कै खुशी थिएनन् होला ! तर, सुनाउने कसलाई ? बुझाउने कसलाई ? उनीहरूको बसाइ क्यानडाको क्यालगोरीमा थियो। न आफ्नो परिवारको साथ, न विवाह गरेर गएको व्यक्तिको साथ। विवाह पश्चात्‌को तीन वर्षको कष्टप्रद जीवनमा श्रीमान् श्रीमतीको भूमिकामै रहनुभयो।

त्यो अवधिमा भट्टराईले बारम्बार आफ्नो जीवन त्याग्न पनि कोशिश नगर्नुभएको होइन। केही उपाय पार नलागेपछि, उहाँले त्यो विवाहित जीवनबाट मुक्ति लिनुभयो र क्यानडा निवासी भारतीय मूलका व्यक्तिसँग विवाह गर्नुभयो।

लेखिकाकै शब्दमा, ‘यसमा मेरो जीवनका अत्यन्त पीडादायक क्षणहरूको चित्रण गर्ने प्रयास गरेकी छु।’ पढ्दा समाजले एउटी ‘छोरी’लाई कतिसम्म अन्याय गर्न सक्छ भन्ने प्रमाणित गर्दछ।

आफ्नो छोराको स्वार्थलाई ध्यानमा राखेर अरुकी छोरीको जीवनलाई कसरी बलि चढाउन सक्छ; ती कुराहरू लेखकले खुलस्त लेख्नुभएको छ।

परिवारको इज्जत र घरानियाँसँग विवाह गरिदिने होडमा, छोरीको पक्षमा कसरी आँखा चिम्लन सक्छ भन्ने कुरा स्पष्ट लेख्नुभएको छ।

विदेशमा बस्ने केटाहरूलाई आँखा चिम्लिएर छोरी दिएर पठाउने गलत प्रवृत्तिले एउटी युवतीको जीवनलाई कति भयावह बनाइदिन्छ आदि आदि कुराहरूको ठूलो प्रमाण यो किताब हो।

समाजको खोक्रो इज्जतको सामुन्ने छोरीहरूको इच्छाको घाँटी कसरी निमोठिन्छ भन्ने यथार्थको बयान गरिएको छ।

किताब पढिसकेपछि पंक्तिकारले फेसबुकको भित्तोमा सानो टिप्पणी लेखेकी थिएँ। त्यो टिप्पणीमा कसैले उहाँको ध्यानाकर्षण गराइदिएछ। त्यसपछि उहाँले मलाई फ्रेन्ड्स रिक्वेष्ट पठाउनुभयो र हामी कहिले च्याटमा त कहिले मेसेन्जरमा कुरा गर्न थाल्यौं।

उहाँलाई त्यो किताब अंग्रेजीमा उल्था गर्ने एकदम ठूलो इच्छा थियो। उहाँलाई लागेछ, किताबको पैसा जम्मा भएको छ र अरू पनि बिक्री भएपछि उहाँलाई काठमाडौं बस्न सजिलो हुन्छ।

लेखक र प्रकाशक बाहेक अरूलाई, किताब लेखेर धेरै नै पैसा आउँछ भन्ने मृगमरीचिका छ। हुन पनि, केही लेखकहरूले किताब बेचेर लाखौं लाख डोनेसन दिएको, (अपवादमा महावीर पुन, भगवान कोइराला जस्ता एकाध व्यक्तित्वलाई छाडौं) के के गरेको खबरहरू यदाकदा प्रचारप्रसार भैरहन्छ।

ती कुराहरू कसरी सम्भव होला भनेर लेखक र प्रकाशकलाई पनि अचम्म पार्ने समयमा उहाँलाई कसरी बुझाउनु ? एकदिन मैले उहाँलाई यथार्थ सुनाएँ र भनें, यहाँ अझै पनि किताब किनेर पढ्ने कम छन्। त्यसमाथि पनि, महिलाले लेखेका पुस्तकहरूलाई त मान्यता नै नदिने जस्तो व्यवहार गरिन्छ।

किताब पसलहरूमा, ‘महिला लेखकका किताबहरू कमै राखिन्छ भनेर प्रकाशकले पनि भनेको सुनेकी छु। ती कुराहरू भएपछि उहाँले भन्नुभयो, ‘उसो भए, म यतै बेच्न कोसिस गर्छु।’ उहाँको कुरा अनुसार उहाँ आफैंले अंग्रेजीमा अनुवाद गरिसकेको अनुमान लगाएकी थिएँ।

दुई वर्ष अगाडि, म क्यानडाको ब्रिटिश कोलम्बिया पुगेको फोटो देखेर उहाँले भेट्न खोज्नुभएको थियो। समय नमिलेको कारणले म जान सकिनँ।

त्यसपछि, हामी दुवैलाई जोड्ने क्यान्सर रोग पनि भयो। मलाई क्यान्सर भएपछि, उहाँले मेसेज गरिरहनुहुन्थ्यो। उहाँको नेपाल आउने ठूलो इच्छा। देवेन्द्र भट्टराईलाई पनि ‘वैशाखमा आउँछु’ भनेर लेख्नुभएको रहेछ। उहाँलाई त्यो पीडाले केही महिनासम्म पनि पिरेकै थियो। त्यो कुरा देवेन्द्र भट्टराई र मसँग भएको कुराकानीले देखाउँछ।

केही समयदेखि लगातार सम्पर्कमा रहेकी मैले पनि २०८० मंसिर २६ गते उहाँको अवसान भएको केही महिनापछि मात्रै थाहा पाएँ। त्यो समयमा त्यसरी पुस्तक लेखेर आफूमाथि भएको अन्याय अरूलाई नपरोस् भनेर सचेत गराउन खोज्ने उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?