+
+

विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढ्दा नेपालको किन घट्यो ?

विज्ञ भन्छन्– जुन मुलुकसँग पर्याप्त स्रोत थियो उनीहरुले कोभिडपछिको पुनरुत्थान पार लगाए, जोसँग थिएन ती पछि परे ।

जनार्दन बराल जनार्दन बराल
२०८१ वैशाख ५ गते २०:५५

५ वैशाख, वासिङ्टन डीसी (अमेरिका) । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले ४ बैशाखमा विश्वको आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक) सार्वजनिक गर्दै विश्वको आर्थिक वृद्धि यो वर्ष सन् २०२४ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ६ महिनाअघि अक्टोबर २०२३ मा गरेको प्रक्षेपणभन्दा यो निकै उत्साहप्रद हो ।

गत अक्टोबरमा विश्वको आर्थिक वृद्धि सन् २०२४ मा २ दशमलव ९ प्रतिशत मात्रै हुने प्रक्षेपण आईएमएफको थियो । यसपटक विश्व अर्थतन्त्रको अवस्था देखाउने प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यही वर्षबाट विश्व अर्थतन्त्र कोभिड अघिको सामान्य अवस्थामा फर्कने पनि जनाएको छ ।

तर, नेपालको अवस्था भने बिल्कुल फरक छ । गत अक्टोबरको प्रतिवेदनमा आईएमएफले नेपालमा पनि आर्थिक वृद्धि सन् २०२४ मा सन्तोषजनक नै हुने अनुमान गरेको थियो ।

त्यसबेला सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान थियो । तर यसपटक भने त्यो अवस्था रहेन । आईएमएफले यसपटक नेपालको आर्थिक वृद्धिको प्रक्षेपणमा तीव्र कटौती गरेको छ ।

नेपालमा विश्वको औसतभन्दा पनि कम अर्थात् ३ दशमलव १ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विकसित मुलुकहरुको आर्थिक वृद्धिको दर कम हुने भएकाले नेपालले उत्साहजनक वृद्धि हासिन नगरे पनि विश्व औसतभन्दा राम्रो वृद्धिदर हासिल गर्दै आएको थियो ।

तर, गत आर्थिक वर्षमा विश्व औसतभन्दा निकै कम जम्मा ०.८ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको नेपालको चालु आर्थिक वर्ष पनि वृद्धिका हिसाबले  निराशाजनक देखिएको छ ।

सरकारले बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । तर, आईएमएफको प्रक्षेपण भने त्यसको आधामात्रै छ ।

विश्व अर्थतन्त्र कोभिड १९ र रसिया युक्रेन युद्घका चुनौतीलाई पार लगाउँदै सामान्यीकरणतर्फ अघि बढिरहेका बेला नेपालचाहिँ किन पछि परिरहेको छ त ?

नेपालजस्तै कमजोर आर्थिक अवस्था भएका मुलुकहरुका सन्दर्भमा आईएमएफका प्रमुख अर्थशास्त्री पिएरे–ओलिभियर गोरिन्चासले खासगरी न्यून आय वर्गका मुलुकहरुलाई कोभिडपछिको पुनरुत्थानलाई अझै समस्या परिरहेको बताए । यस्ता मुलुकसँग पुनरुत्थानका लागि आवश्यक स्रोतको अभाव भएको भनाइ छ ।

‘जुन मुलुकसँग पुनरुत्थानका लागि पर्याप्त वित्तीय स्रोत थियो । तिनले चाँडै रिकभरी गरे । तर जसले स्रोतको जोहो गरेन सकेनन् उनीहरुलाई पुनरुत्थानका लागि समस्या परिरहेको छ,’ आईएमएफको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

विश्व अर्थतन्त्र पछिल्लो समय उत्थानशील बन्दै गएको उनको भनाइ थियो । ‘विश्वको आर्थिक वृद्धिमा निरन्तर वृद्धि भइरहेको छ, मूल्यवृद्धि कम भइरहेको छ,’ उनले भने ।

यो वर्ष मात्रै होइन आगामी वर्ष पनि विश्वको अर्थतन्त्रको औसत वृद्धि ३.२ प्रतिशत नै रहने प्रक्षेपण पनि आईएमएफको छ ।

पछिल्लो समय विश्वका अन्य अर्थतन्त्रहरुमा पारेको घाउ अर्थात् दीर्घकालीन प्रभाव कम हुँदै गए पनि न्युन आय भएका मुलुकमा भने बाँकी नै रहेको उनले बताए ।

‘अमेरिकाको अर्थतन्त्र यसअघि नै महामारी अघिको अवस्थामा पुगिसकेको छ । तर कम आय भएका विकाससील मुलुकहरुमा अझै पनि महामारीको खत बाँकी नै रहनेछ । तीमध्ये धेरै मुलुक अझै पनि त्यसबेला महामारीको पाना पल्टाउन सफल भएका छैनन्’, उनले भने ।

दक्षिण एसियामा कमजोर नेपाल

दक्षिण एसिया क्षेत्रमा नेपालको आर्थिक वृद्धि सबैभन्दा कमजोर मध्येको बनेको छ । आईएमएफले अफगानिस्तान र श्रीलंकाको तथ्यांक राखेको छैन । त्यसबाहेकका दक्षिण एसियाली मुलुकमध्ये नेपाल अन्तिमबाट दोस्रोमा परेको छ ।

दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बलियो आर्थिक वृद्धि भारतले हासिल गर्दैछ । उसले यो वर्ष ६.८ प्रतिशत तथा त्यसभन्दा पछि बंगलादेशले ५ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ ।

भारत आर्थिक सुधारको हिसाबले संसारमै सबैभन्दा राम्रो गर्नेमध्येको मुलुक भएको आईएमएफले जनाएको छ । आईएमएफले गत अक्टोबरको तुलनामा भारतको आर्थिक वृद्धिको प्रक्षेपण ०.५ प्रतिशतले बढेको जनाएको छ । भारतले गत वर्ष पनि ७.८ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो ।

मूल्यवृद्धि घट्यो तर दिगो हुनेमा आशंका

मूल्यवृद्धिका हिसाबले पनि यो वर्ष विश्व अर्थतन्त्रमा सुधार हुने अपेक्षा आईएमएफले गरेको छ । विश्वको औसत मूल्यवृद्धि भने यो वर्ष २.८ प्रतिशतमा रहने र आगामी वर्ष २.४ प्रतिशतमा झर्ने प्रक्षेपण आईएमएफको छ ।

जबकि सन् २०२२ मा विश्वको औसत मूल्यवृद्धि ९.४ प्रतिशतसम्म पुगेको थियो ।

तर, मूल्यवृद्धि पुनः उच्च हुने जोखिम भने कायमै रहेको आईएमएफले जनाएको छ । त्यसो हुँदा सबै मुलुकहरुले मूल्यवृद्धिलाई लक्षित सीमाभित्र ल्याउन प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ ।

खासगरी ऊर्जा र वस्तुहरुको मूल्य घट्ने प्रक्षेपणका कारण मूल्यवृद्धि कम गर्न सघाउ पुगे पनि पछिल्लो समय बढेको भूराजनीतिक द्वन्द्वले तेलको मूल्य पुनः बढाउने जोखिम रहेको आईएमएफले जनाएको छ । साथै, चीनको निर्यातमा रहेको अवरोधले पनि वस्तुको मूल्य बढाउन सक्ने छ ।

अर्को एक कार्यक्रममा आईएमएफका फाइनान्सियल काउन्सेलर तथा मौद्रिक एवम् पुँजीबजार विभागका निर्देशक टोबियास एड्रियनले मूल्यवृद्धिको जोखिम हटिनसकेको बताए ।

संसारका विभिन्न देशमा मूल्यवृद्धि गराउने तत्वहरु फरक–फरक रहेको उनले बताए । गैरमौद्रिक क्षेत्रले मूल्यवृद्धिमा पार्ने प्रभावलाई सम्बोधन गर्न सोहीअनुसारको नीति आवश्यक रहेको उनले बताए ।

जहाँ  मौद्रिक नीतिले मात्रै मूल्यवृद्धिलाई सम्बोधन गर्न सक्दैन, त्यहाँ वित्तीय नीतिमार्फत पनि काम गर्नुपर्ने बताउँदै उनले भने, ‘मूल्यवृद्धि लक्ष्यभन्दा कम बिन्दुमा आएको छ भने कसिलो मौद्रिक नीतिबाट पछि हट्न सकिन्छ । तर त्यसो नभएको अवस्थामा कसिलो मौद्रिक नीतिमा नै बस्ने हो ।’

मूल्यवृद्धिमा माग र आपूर्ति दुवैको भूमिका हुने भएकाले नीति निर्माणमा यी दुवै पक्षलाई ध्यान दिनुपर्ने उनले बताए ।

सोमबारदेखि अमेरिकाको वासिङ्टन डिसीमा अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंक समूहको स्प्रिङ बैठक चलिरहेको छ । यो कार्यक्रममा विश्वभरिका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरलगायत सहभागी छन् ।

आईएमएफको यो वर्ल्ड इकोनोमिक आउटलुक यही अवसरमा सार्वजनिक भएको हो । नेपालबाट अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा एउटा टोली यो बैठकमा सहभागी छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?