+

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

२०८१ वैशाख  १२ गते १४:०२ २०८१ वैशाख १२ गते १४:०२
गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्न हुन्छ, के हुँदैन ? यो धेरै सोधिने प्रश्न हो । गर्भवती अवस्थामा विभिन्न शारीरिक स्थितिबाट गुज्रिनुपर्ने भएकाले जीवनशैली, खानपान जस्ता कुरामा विशेष सर्तकता अपनाउनुपर्ने हुन्छ ।

गर्भावस्थामा के के गर्न हुँदैन त ? यसलाई तीन–तीन महिनाको भाग लगाएर बुझाउँदा सहज हुन्छ । गर्भ रहेको नौ महिनापछि बच्चा जन्मिन्छ । यस हिसाबले सुरुको तीन महिना, मध्यको तीन महिना र अन्तिमको तीन महिनालाई विभाजन गरेर सो अवधिमा के गर्न हुँदैन भनी बुझाउन सकिन्छ ।

पहिलो त्रैमासिक १२ हप्ताको अवधि

पहिलो त्रैमासिक गर्भ बसेको १२ हप्तासम्मलाई मानिन्छ । यसबेला गर्भवती महिलालाई तल्लो पेट दुख्ने, बेलाबेलामा रगत देखिने र पहिले पनि गर्भ खेर गएको वा शल्यक्रिया गरेको इतिहास छैन र थाइराइड, मधुमेह जस्ता रोगको समस्या छैन भने कहिलेकाहीं शारीरिक सम्पर्क राख्न मिल्छ । तर चिकित्सकको परामर्श बिना औषधि सेवन भने गर्नुहुँदैन ।

कुनै गर्भवती महिलाको पहिले बारम्बार गर्भ तुहिने समस्या थियो, तल्लो पेट दुख्ने गर्छ, बारम्बार रगत देखापरेको छ भने गह्रुँगो सामान उचाल्नु हुँदैन । शरीरमा बल पर्ने भारी काम गर्नुहुँदैन र शारीरिक सम्पर्क पनि राख्नुहुँदैन ।

साथै कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी बाटोमा यात्रा गर्दा गर्नुहुँदैन । यसले गर्भ तुहिने समस्या हुनसक्छ । यसबेला पूर्ण रुपमा आराम गर्नुपर्छ । चिकित्सकको परामर्शअनुसार औषधि खाने र चिकित्सकले चेकजाँचको लागि तोकिएको समयमा जानुपर्छ ।

दोस्रो त्रैमासिक १२ देखि २८ हप्ताको अवधि

गर्भावस्थाको दोस्रो त्रैमासिकलाई तुलनात्मक रुपमा सुरक्षित समयावधि मानिन्छ । यसबेला गर्भ तुहिने सम्भावना निकै कम हुन्छ । यसबेला गर्भवती महिलाको स्वास्थ्य अवस्था सामान्य छ भने आफूलाई सहज हुने सबै खालको काम गर्न मिल्छ ।

तर गर्भवती महिलामा केही गम्भीर स्वास्थ्य समस्या देखिएको छ भने चिकित्सकको परामर्शअनुसार गाह्रो काम नगर्ने, गह्रुंगो सामान नउचाल्ने र सकेसम्म कच्ची बाटोमा यात्रा गर्नुहुँदैन ।

तेस्रो त्रैमासिक २९ देखि ४० हप्ताको अवधि

गर्भावस्थाको तेस्रो त्रैमासिक बच्चा जन्मिने समय हो । त्यसैले यतिबेला विशेष ध्यान दिनुपर्छ । यसबेला भारी काम नगर्ने, गह्रुंगो सामान नउचाल्ने, शारीरिक सम्पर्क नराख्ने, लामो यात्रा नगर्ने र तनाव लिनुहँदैन ।

किनभने यी कार्यका कारण समयअगावै डेलिभरी हुने जोखिम हुनसक्छ । यसबाहेक गर्भवती महिलाले धुम्रपान र मद्यपान नगर्ने, मन नपरेका खानेकुरा जबर्जस्ती खानुहुँदैन । प्याकेटबन्द र जंकफुड सकेसम्म खानुहुँदैन ।

कतिपय गर्भवती महिलाले स्कुटर चढ्नु हुन्छ कि हुँदैन ? अफिसमा काम गर्नुहुन्छ कि हुँदैन ? भनेर सोध्छन् । यी तीनवटै त्रैमासिकमा यदि आफूलाई सहज लाग्छ र कुनै स्वास्थ्य समस्या छैन भने यी सबै काम पनि गर्न सकिन्छ । तर आफूलाई अप्ठ्यारो वा गाह्रो महसुस भएमा त्यसैअनुसार सतर्कता अपनाउनुपर्ने हुन्छ ।

भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

गर्भावस्था डा. श्वेता सिंह महिला स्वास्थ्य
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय