+

विश्वभर किन बढ्दैछ प्रोस्टेट क्यान्सर ?

२०८१ वैशाख  १३ गते १४:१५ २०८१ वैशाख १३ गते १४:१५
विश्वभर किन बढ्दैछ प्रोस्टेट क्यान्सर ?

मेडिकल जर्नल ल्यान्सेटको भर्खरै प्रकाशित अनुसन्धान रिपोर्टअनुसार विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका छन् । सन् २०२० मा विश्वभर प्रोस्टेट क्यान्सरको नयाँ केस १४ लाख थियो । यो संख्या बढेर सन् २०४० सम्म २९ लाखसम्म पुग्ने अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनअनुसार ११२ देशमा पुरुषमा यो क्यान्सर आमरुपमै देखिएको छ । ती मुलुकमा कुल क्यान्सरका बिरामीमध्ये १५ प्रतिशत प्रोस्टेट क्यान्सरका छन् । सन् २०२० पछि प्रोस्टेट क्यान्सरबाट मृत्यु हुने दर पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी यूरोप, उत्तर अमेरिकाका मुलुकमा बढिरहेको छ ।

सन् २०२० मा विश्वभर तीन लाख ७५ हजार पुरुषको मृत्यु प्रोस्टेट क्यान्सरका कारण भएको थियो । सन् २०४० सम्म बढेर ८५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रोस्टेट क्यान्सर र क्यान्सरका कारण पुरुषको मृत्यु हुनेमध्ये प्रमुख पाँचौं कारण रहेको ल्यान्सेटले जनाएको छ ।

भारतमा क्यान्सरका बिरामीमध्ये तीन प्रतिशत प्रोस्टेट क्यान्सरका छन् । भारतमा प्रत्येक वर्ष ३३ देखि ४२ नयाँ क्यान्सरका केस आउने गर्छन् । प्रतिवेदनअनुसार त्यहाँ हरेक वर्ष एक लाख मानिसमा चारदेखि पाँच केस आउने गर्छ । राष्ट्रिय स्तरमा क्यान्सरका बिरामी ३० प्रतिशतले बढेको छ भने पछिल्ला २५ वर्षमा सहरी जनसंख्यामा प्रोस्टेट क्यान्सर ७५-८५ प्रतिशतले बढेको छ ।

दिल्लीमा बसोबास गर्ने राजेश कुमारको सन् २०२२ अक्टोबरमा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । उनकी श्रीमती रितु मारवाहले बीबीसीलाई भनिन्, ‘मेरो श्रीमानको पिसाब रोक्ने समस्या भइरहेको थियो । पिसाब लाग्न समय लगाउँथे । हरेक वर्ष मेडिकल जाँच गराउने गर्थे । यस समस्यापछि फेमिली डाक्टरले अल्ट्रासाउन्ड गर्न सुझाए ।’

रिपोर्टले प्रोस्टेट क्यान्सर भएको देखायो । चिकित्सकले प्रोस्टेट स्पेसिफिक एन्टिजेन वा पीएसए टेस्ट गर्न सल्लाह दिए । त्यसपछि एमआरआई र बायोप्सी गरियो । परीक्षणमा उनका श्रीमानलाई दोस्रो चरणको प्रोस्टेट क्यान्सर भएको पुष्टि भयो ।

प्रोस्टेट किन हुन्छ ?

प्रोस्टेट पुरुषको प्रजनन् प्रणालीको एक भाग हो । यो मूत्राशय (ब्लाडर) को मुनि रहेको सानो ग्रन्थी प्रोस्टेटको आकार ओखरको दानाजस्तै हुने भएपनि उमेरसँगै बढ्न थाल्छ । यसले गाढा र सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसँग मिलेर वीर्यको उत्पादन गर्छ र तरल बनाउँछ ।

चिकित्सकका अनुसार ४५ देखि ५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या देखिने गर्छ । तर यसो भन्दैमा सबैलाई यसको समस्या हुन्छ भन्ने हुँदैन ।

 

प्रोस्टेट क्यान्सर बिस्तारै बढ्छ ?

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को सर्जिकल अन्कोलोजी विभागका पूर्वप्राध्यापक डा. एसबीएस देव भन्छन्,  ‘यो रोग उमेर बढ्दै गएपछि देखा पर्छ र यो क्यान्सर शरीरमा बिस्तारै बढ्दै जाने गर्छ ।’

थाइराइड क्यान्सर र ब्रेस्ट क्यान्सर पनि बिस्तारै बढ्ने गर्छ । ‘भारतमा पहिले यस्ता केस कम देखिन्थे, किनभने औसत उमेर ६० वर्षभन्दा थियो, अहिले उमेर बढेसँगै पोस्टेट क्यान्सरका बिरामी बढेका छन् ।’

डा. विक्रम बरुआ कौशिक आर्टेमिस अस्पतालका युरोलोजी प्रमुख हुन् । उनी भन्छन्, ‘मानिसहरुको औसत उमेर बढेपछि प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गर्छ । तर केसहरूको संख्या त्यो भन्दा बढी छ ।’

प्रोस्टेट क्यान्सरको दर कम देखिनुमा स्क्रिनिङ टेस्ट नगराउनु पनि हो । पश्चिमी देशमा धेरै स्क्रिनिङ हुने हुन्छ तर भारतमा मृत्यु हुनेको रिपोर्टिङ न्यून भएकाले कतिको मृत्यु भएको हो भन्ने अनुमान गर्न गाह्रो छ ।

के यो जीवनशैलीको रोग हो ?

डा. प्रदीप बंशलका अनुसार जति जति पुरुषको उमेर बढ्दै जान्छ, प्रोस्टेट क्यान्सरको केस अगाडि आउँछ । यो वंशाणुगत कारणले पनि हुने गर्छ । त्यस्तै मांसाहारी खानेकुरा खाने मानिसलाई प्रोस्टेट क्यान्सरको जोखिम बढी हुनसक्छ ।

डा. वंशल भन्छन्, ‘शाकाहारी खानेकुरा खाने मानिसलाई यसको समस्या हुँदैन भन्ने होइन । जसरी धुम्रपान गर्ने मानिसलाई मुटुरोगको जोखिम बढी हुन्छ । तर धुम्रपान नगर्ने व्यक्तिलाई पनि मुटुको समस्या हुनसक्छ ।’

डा. एसबीएस थप्छन्, ‘प्रोस्टेट क्यान्सर पश्चिमी देशमा धेरै देखिन्छ किनभने यो जीवनशैलीसँग सम्बन्धित छ । जसमा दैनिक खानपान जंकफुड, धुम्रपान, रक्सीको सेवन कारण हो ।’

प्रोस्टेट क्यान्सर पश्चिमा मुलुकमा धेरै देखिएको छ । ल्यासेन्टको प्रतिवेदनमा प्रोस्टेट क्यान्सर ढिला गरी पत्ता लाग्ने र विश्वभरमा कम वा मध्यम आय भएका देशमा चेकजाँचमा ढिलाइ हुने गरेको पाइएको छ ।

लक्षण

परिवारमा कसैलाई क्यान्सरको समस्या भएको वा भएको थियो भने जाँच गराइहाल्नुपर्छ । प्रोस्टेट क्यान्सरको खास कुनै लक्षण नहुने चिकित्सकहरु बताउँछन् ।

प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पीएसए) लेबल व्यक्तिको उमेरमा निर्भर गर्छ । अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार पीएसए लेबल, सामान्य र असामान्य हुँदैन ।

पहिला ४.० एनजी/एमएल या यसभन्दा कमलाई सामान्य मानिन्थ्यो । तर यसभन्दा पनि कम रहेका व्यक्तिलाई प्रोस्टेट क्यान्सर देखियो भने धेरै १० एनजी/एमएलसम्म भएका व्यक्तिमा यो समस्या देखिएन ।

चिकित्सकहरूका अनुसार सुरुमा लक्षण नदेखिएपनि बारम्बार पिसाब लाग्नु, रातमा पिसाबको फ्लो कम हुनु, पिसाब चुहिनु, पिसाबमा रगत देखा पर्नुजस्ता समस्या देखिए पीएसए परीक्षण गर्नुपर्छ । जसले क्यान्सर भए नभएको पत्ता लगाउन मद्दत गर्छ । त्यस्तै कम्मर दुख्ने, हड्डी दुख्ने जस्ता समस्या पनि आउँछन् ।

वयस्क बिरामीमा प्रोस्टेट भएको खण्डमा रोबोटिक शल्यक्रिया गर्न सकिने चिकित्सकहरु बताउँछन् । यसपछि १०–१५ वर्षसम्म कुनै समस्या आउँदैन । तर प्रोस्टेट हड्डीमा फैलिसकेको छ भने त्यसको उपचार प्रविधि फरक हुन्छ ।

औषधिको उपलब्धता

प्रोस्टेट क्यान्सर रगत परीक्षणबाट थाहा हुने चिकित्सक बताउँछन् । एक्स–रे, अल्ट्रासाउन्ड र एमआरआई गर्न सकिन्छ ।

प्रोस्टेट सुरुवाती चरणमा छ भने त्यसलाई रोबोटिक शल्यक्रियाबाट उपचार गरिने चिकित्सक बताउँछन् । तर दोस्रो चरणभन्दा बढी भएमा बिरामीलाई हार्मोन थेरापी दिइन्छ र त्यसपछि बिरामीको अवस्था अनुसार उपचार गरिन्छ । यो निको हुनसक्ने क्यान्सर हो । त्यसैले प्रोस्टेट क्यान्सरका बिरामी ५ देखि १५ वर्षसम्म बाँच्न सक्छन् ।

वंशाणुगत रोग

क्यान्सर एक वंशाणुगत रोग हो, अर्थात् परिवारमा कसैलाई क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना हुन्छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍त्यसैले परिवारमा कसैलाई प्रोस्टेट क्यान्सरको आशंका लागेमा जाँच गराइहाल्नुपर्छ । सुरुवाती चरणमै उपचार गर्न सके निको पार्न सकिन्छ ।

परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर छ भने परिवारका पुरुष सदस्यले ४५ वर्षको उमेरपछि प्रत्येक दुई वर्षमा पीएसए परीक्षण गराउनुपर्छ । र, महिलाले स्तन क्यान्सर जाँच गराउनुपर्छ ।

बीबीसीबाट

क्यान्सर प्रोस्टेट क्यान्सर स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय