+

बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुनसक्ने लक्षण

२०८१ वैशाख  १४ गते ८:१० २०८१ वैशाख १४ गते ८:१०

बालबालिकालाई विद्यालय पढ्न होइन, सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ ।

बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुनसक्ने लक्षण

बालबालिकालाई मनोसामाजिक समस्या हुन्छ भन्दा अभिभावकहरूले विश्वास नै गर्नुहुन्न । अधिकांश भन्नुहुन्छ–उनीहरूलाई केको तनाव हुन्छ र ? सबै हामीले टार्ने, पुर्‍याउने गर्नुपर्छ । त्यसैले अभिभावकमा बालबालिकालाई समस्या नै हुँदैन भन्ने सोच छ ।

ऋण, धन, कारोबार, व्यापार, रोजगार, परिवार आदि गर्ने व्यक्तिलाई मात्र चिन्ता हुन्छ भन्ने अधिकांश अभिभावकको बुझाइ छ । प्रतिफलमा आज कलिलो उमेरमै बालबालिकाहरू मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् ।

बाल्यकालमा दुव्र्यवहार र दण्ड भोगेर हुर्किएका अभिभावकको गलत बुझाइले पनि आजका बालबालिकाहरू त्यही दुव्र्यवहार र दण्ड भोग्न बाध्य छन् । तर अहिले परिस्थिति फरक भइसक्यो ।

अभिभावकको बालबालिकासँग बढी अपेक्षा, अरूको बच्चासँग तुलना गर्ने अभ्यास, अव्यवस्थित वा खराब अभिभावकत्व, घरको नकारात्मक वातावरणको असरबाट बालबालिका नै प्रताडित हुनुपर्छ ।

विद्यालयमा साथीहरूले हेप्ने, होच्याउने, गिज्याउने गर्न सक्छन् । असफल सम्बन्ध, शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, शारीरिक, यौन, मौखिक र भावनात्मक दुव्र्यवहार, इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मनोसामाजिक समस्याहरू देखिएका छन् । तर नेपालमा यसको बारेमा खासै अध्ययन र काम भएको पाइँदैन ।

समस्या छन् तर समस्या छ भनेर स्वीकारोक्ति नै छैन भने समाधानका पहलहरू हुने कुरै भएन । शिक्षामा अर्बौं रुपैयाँको लगानी गरे पनि बालबालिकाको मानसिक स्वास्थ्यमा भने कुनै बजेट छुट्याएको पाइँदैन ।

मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ । विशेषगरी बालबालिकाहरूले आफ्नो समस्या भन्न नसक्ने हुँदा उनीहरूको व्यवहारलाई बढी ध्यान दिनुपर्छ ।

स्तरीय शिक्षा प्रदान गर्ने हो भने भौतिक संरचना र प्रविधि भित्र्याएर मात्रै पुग्दैन । बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै काम गर्नुपर्छ । उनीहरूमा मनोसामाजिक समस्याहरू बढ्दै जाँदा पनि अभिभावक भने अटेरी गरेको, टाउकोमा टेकेको र जिद्दी गरेको भन्ने गलत तर्क गरेर झन् नकारात्मक अभिभावकत्व निभाइरहेका छन् । जुन दुःखद् पक्ष हो ।

एक अध्ययन अनुसार १९ वर्षमुनिका केटाकेटीमा चारमध्ये एकमा डिप्रेसन भएको पाइएको छ । एक्लोपना मन पराउने र जिद्दी स्वभावका कतिपय केटाकेटी डिप्रेसनको शिकार हुने गर्छन् ।

बालबालिकामा खुलेर कुरा नगर्ने, घुमघाममा निस्कन नमान्ने र जिद्दी गर्ने स्वभाव र अभ्यास बढिरहेको छ भने उनीहरू एकप्रकारको डिप्रेसनबाट प्रभावित भएका हुनसक्छन् ।

कतिपय बढ्दो उमेरका बालबालिका ‘चाइल्डहुड डिप्रेसन’को मारमा परेका हुन्छन्, जसलाई अभिभावकले ध्यान दिन सकिरहेका हुँदैनन् । बालबालिका र किशोरकिशोरीहरूको उदासीको सट्टा चिड्चिडापन धेरै हुनसक्छ । यसका साथसाथै अध्ययनमा ह्रास, रमाइलो गतिविधिमा रुचि घट्ने, निद्रा र खानपिनमा समस्या हुन सक्दछ ।

यस्तै बालबालिका र किशोरकिशोरीहरूमा पनि आत्महत्याका विचारहरू आउन सक्दछन् वा आत्म–हानिको प्रयास गर्न सक्छन् । डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्को मान्ने, नियमित काममा अरुचि देखाउने हुन्छन् भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कुल जान नमान्ने हुन्छन् ।

मानसिक स्वास्थ्यको अवस्था

नेपाल मानसिक स्वास्थ्य सर्वेक्षण–२०७७ को तथ्याङ्क अनुसार कुल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै किसिमको मनोसामाजिक समस्या भएको उल्लेख गरिएको छ । तथ्यांक अनुसार कुल नसर्ने रोगको हिस्सामा १८ प्रतिशत मानसिक रोग रहेको छ ।

त्यस्तै, १५ देखि ३९ वर्ष उमेर समूहमा बढी मात्रामा एन्जाइटी र डिप्रेसनको समस्या देखिन्छ । मानसिक रोग उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आत्महत्याको सम्बन्ध ९० प्रतिशत मानसिक रोगसँग हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ६० प्रतिशत वयस्क मानिसलाई देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु हुन्छ । बालबालिकाले आफ्नो समस्या व्यक्त गर्न सक्दैनन् ।

उनीहरूमा आएको परिवर्तन हेरेर यस्ता समस्या थाहा पाउन सकिन्न । त्यसैले अहिले हामीले हुर्काइरहेको बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्या हुन सक्छ ।

बालबालिकाको मानसिक समस्या कसरी पत्ता लगाउने ?

मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ । विशेषगरी बालबालिकाहरूले आफ्नो समस्या भन्न नसक्ने हुँदा उनीहरूको व्यवहारलाई बढी ध्यान दिनुपर्छ ।

ठूलो मानिसले जसरी उनीहरू भावना व्यक्त गर्न सक्दैनन् । त्यसैले बालबालिकाको व्यवहारमा उतारचढाव आयो, बोल्दै नबोल्ने बच्चा एकदम धेरै बोल्न थाल्यो, बोलिरहने बच्चा एकदम चुप र उदास रहन थाल्यो भने केही समस्या रहेको बुझ्नुपर्छ ।

बालबालिकाहरूको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ । सँगसँगै उनीहरूसँग गुणस्तरीय समय व्यतीत गर्नु अर्को महत्वपूर्ण काम हो ।

साथीहरूसँग घुलमिल नगर्ने, झगडा गर्ने, रातभरि नसुत्ने र डर, तनावको कुरा गर्ने भयो भने पनि मानसिक समस्या भएको हुनसक्छ । कुनै पनि कुरामा उत्साह मरिसकेको छ, सधैं निराश हुन्छ भने मानसिक समस्या छ कि भनेर शंका गर्नुपर्छ ।

अभिभावकलाई आफ्नो बच्चाको स्वभाव र व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ । यसबारे अभिभावक र विद्यालयका शिक्षक र शिक्षिकाहरू पनि बढी सतर्क हुनुपर्छ ।

बालबालिकामा देखिने समस्या

सबैभन्दा पहिला बालबालिकाको स्वभाव हो कि समस्या हो भनेर छुट्याउनुपर्छ । यसको लागि शंका लाग्न थाल्यो भने मनोचिकित्सक, मनोविद् र मनोसामाजिक परामर्शकर्तासँग भेटाउनुपर्छ ।

बालबालिकाहरू अत्यधिक चञ्चले हुनु, दैनिक क्रियाकलापमा ध्यान नदिनु वा रुचि घट्दै जानु, धेरै रिसाउने, झगडा गर्ने र आक्रामक व्यवहार देखाउने, पढाइ वा अन्य कार्यमा ध्यान केन्द्रित गर्न नसक्ने, आमाबुबासँग मात्र बस्न खोज्ने जस्ता समस्याले मानसिक समस्याको संकेत गर्छ ।

त्यस्तै, निद्रामा समस्या हुने, खानामा अरुचि हुने, जिद्दीपन बढ्ने, घुमफिरमा ननिस्कने, साथीहरूकैमा बस्न मन गर्ने, डरलाग्दो सपना देख्ने, सपनामा तर्सने र ब्युँझिरहने, एक्लै बस्ने, टोलाउने र परिवारसँग कुराकानी नगर्ने, डराउने, आत्तिने, मोबाइलको अत्यधिक प्रयोग गर्ने जस्ता समस्या पनि देखिन सक्छ ।

अभिभावकले के गर्ने ?

अधिकांश अभिभावक र शिक्षकहरूको एउटै भनाइ हुन्छ– अहिले बच्चाहरू पढ्नै मान्दैनन् । सुविधासम्पन्न भवन, ल्याब, अन्य सुविधाहरू भएर पनि किन बालबालिकालाई पढाउन सकिएन त ? यसमा अध्ययन हुनु आवश्यक छ ।

मनोसामाजिक समस्याले हाम्रा बालबालिका दिनानुदिन कमजोर हुँदै गएका छन् । बालबालिकालाई पढाउन मात्रै खोज्दा पनि समस्या बढेका छन् । उनीहरूलाई पढाउनुभन्दा पनि सिकाउनु ठूलो कुरा हो । विद्यालय पढ्न होइन, सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ ।

सबैभन्दा पहिले आमाबाबु वा अभिभावकले घरमा बालबालिका वा किशोरकिशोरीले समस्या वा भावनाहरू व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु धेरै महत्वपूर्ण हुन्छ । अधिकांशको घरमा र विद्यालयहरूमा हाम्रा बालबालिकाहरूले खुलेर कुरा गर्न सक्ने वातावरण हामीले बनाएका छैनौं ।

बालबालिकाहरूको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ । सँगसँगै उनीहरूसँग गुणस्तरीय समय व्यतीत गर्नु अर्को महत्वपूर्ण काम हो । जति धेरै समय बालबालिकासँग बिताउँछौं, त्यति नै उनीहरूको भावनात्मक समस्याहरू कम हुँदै जान्छ ।

अभिभावकहरूले पनि मोबाइलभन्दा बढी महत्व बालबालिकाहरूलाई दिनुपर्छ । दिनभरि अफिसमा व्यस्त भए पनि बेलुका घर फर्किएपछि मोबाइल, टिभी लगायत वस्तुहरू हेर्न छोडेर बालबालिकासँगै समय बिताउनुपर्छ । माथि उल्लिखित समस्याहरू दिनदिनै बढेको छ भने एक पटक अभिभावकहरूले मनोचिकित्सक, चिकित्सक वा मनोविद्सँग परामर्श गर्नु आवश्यक छ ।

(थापा धादिङको नीलकण्ठ नगरपालिकामा कार्यरत सिनियर मनोसामाजिक परामर्शकर्ता हुन् ।)

बालबालिका मनोसामाजिक समस्या मानसिक स्वास्थ्य
लेखक
रामकुमार थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय