
१७ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा धेरै मूल्य बढेका ५ कम्पनीमध्ये ४ वटा फाइनान्स कम्पनी मात्रै रहे । त्यस्तै धेरै कारोबार भएका ५ कम्पनीमध्ये ४ कम्पनी फाइनान्स नै रहे । समग्र बजार ०.७२ प्रतिशत बढ्दा फाइनान्स समूहको सूचक भने सबैभन्दा धेरै ३.९८ प्रतिशत बढ्यो । त्यस्तै गत साता समग्र सेयर बजार ओर्लिँदा पनि फाइनान्स समूह ४ प्रतिशत बढ्यो ।
केही महिनायता नै फाइनान्स कम्पनीहरुको मूल्य उच्च दरमा बढेको छ । जसले गर्दा समग्र फाइनान्स समूह २ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बजारको समग्र परिसूचक नेप्से २ वर्षदेखि नै १८ सयदेखि २२ सय आसपासमा घुमिरहँदा फाइनान्स समूह २०७८ चैत १० यताकै उच्च विन्दुमा पुगेको छ ।
त्यस दिन फाइनान्स समूहको सूचक २१४४ अंकमा थियो, आज २१३६ अंकमा पुगेको छ । विगत ५ महिनालाई हेर्दा फाइनान्स समूहको सूचक ३१.५ प्रतिशत बढिसकेको छ । गत मंसिर ७ गते यो समूहको सूचक १६२४ अंकमा थियो ।
विगत १ वर्षको फाइनान्स समूहको चार्ट
वित्तीय स्थिति भने खराब
जसरी सेयर बजारमा फाइनान्स समूह चम्किरहेको छ, भित्री वित्तीय स्थिति भने कमजोर देखिन्छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीहरुले लाभांश दिन सक्दैनन् ।
कुल सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये चैत मसान्तसम्म ११ कम्पनीहरुको वितरणयोग्य नाफा नै ऋणात्मक छ । समग्रमा फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा औसतमा ३ अर्ब १० करोड ऋणात्मक छ । न कम्पनीहरुको खुद नाफामै सुधार देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरुको औसत खुद नाफा २ करोड ४७ लाख ऋणात्मक छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब १७ करोड धनात्मक थियो ।
फाइनान्स कम्पनीहरुको औसत प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४३ पैसा ऋणात्मक देखिन्छ । फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा (एनपीएल) उच्च दरमा बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा कुल कर्जामा ६.५२ प्रतिशत रहेकोमा अहिले ९.०३ प्रतिशत पुगेको छ ।
खराब वित्तीय स्थितिका बाबजुत किन बढ्यो फाइनान्स ?
फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी कम भएकाले सेयर आपूर्ति पनि सीमित छ, जसका कारण फाइनान्स समूहको प्रदर्शन बजारमा राम्रो देखिएको लगानीकर्ता बताउँछन् । ‘कम्पनीको संख्या पनि थोरै र सेयर संख्या पनि थोरै भएकाले राम्रो मूल्य पाएको हो’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘तर बैंकिङ समूहमा यसको ठीक उल्टो अवस्था देखिएको छ ।’ कारोबारीले चलाउन सक्ने क्षमता पनि फाइनान्समा रहेकाले यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।
‘सूचकले पनि राम्रो ट्रेन्ड बनाइरहेको छ, जसले गर्दा समूहप्रति केही भीड देखिन्छ’ उनले भने ‘मूल्यबाट जता लाभ आउने संकेत मिल्छ, भीड त्यतै जाने हो ।’ लामो समयदेखि सेयर बजार ‘साइडवेज’मा रहेकाले कारोबारीहरु यतिबेला जुन क्षेत्रमा राम्रो लय देखिन्छ, त्यतै लाग्ने गरेका छन् । विगतमा होटल तथा पर्यटन समूह, हाइड्रोपावर क्षेत्रले राम्रो लय देखाइसकेका छन् । यतिबेला फेरि फाइनान्समा कारोबारी आकर्षित देखिएका छन् ।
खराब वित्तीय स्थितिका बाबुजुत मूल्य बढेकाले यस क्षेत्रमा जोखिम पनि बढेको छ । ‘बैंकले ब्याजदर घटाउँदै लगेको अवस्थामा कारोबारीहरु छोटो अवधिमै नाफा लिने उद्देश्यले फाइनान्समा सक्रिय रहेको देखिन्छ’ उनले भने ‘लोक्याप कम्पनीहरु रहेकाले थोरै लगानीले पनि यो क्षेत्रका कम्पनीहरुको मूल्य बढ्छ ।’
मूल्य बढेका कम्पनीको अवस्था झनै खराब
आइतबार पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो । विगत ३ महिनामै यस कम्पनीको मूल्य ७९ प्रतिशत बढेको छ । तर कम्पनीको वितरणयोग्य नाफा ४५ करोड ८८ लाख ऋणात्मक छ ।
आइतबार ७.६२ प्रतिशत मूल्य बढेको प्रोग्रेसिभ फाइनान्सको वितरणयोग्य नाफा चैतसम्म ४० करोड ४ लाख रुपैयाँ ऋणात्मक छ । ६.८ प्रतिशत मूल्य बढेको श्रीइन्भेस्टमेन्टको वितरणयोग्य नाफा ३५ लाख मात्रै छ । आज ६.७ प्रतिशत मूल्य बढेको बेस्ट फाइनान्सको वितरणयोग्य नाफा ३० करोड ऋणात्मक छ ।
विगत ३ महिनालाई हेर्दा गोर्खाज फाइनान्सको ३५, जानाकीको २८, नेपाल फाइनान्सको ५०, बेस्टको २० प्रतिशत मूल्य बढेको छ । चैत मसान्तसम्म गोर्खाजको ५९ करोड, जानाकीको १० करोड, नेपाल फाइनान्सको २२ करोड, बेस्टको ३० करोड ऋणात्मक छ ।
प्रतिक्रिया 4