+
+

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:१४

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरण संलग्न भएको आरोपमा काभ्रेका कान्छामान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका–४ घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा दोस्रो चरणको अनुसन्धान थाल्दा लामाको भूमिका शंकास्पद देखिएकाले पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

थर्कमान भनेर समेत चिनिने कान्छामान काभ्रे कांग्रेसको निर्वाचित जिल्ला सदस्य हुन् । तस्करीमार्फत काठमाडौं भित्रिएको सुन बेच्ने काममा उनको भूमिका देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।

के हो ६० किलो प्रकरण ?

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा ल्याएको ६० किलो भन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको राजश्व अनुसन्धान विभागले सुन २ साउन २०८० मा बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा बालुवाटार, टोखास्थित सुन पगाल्ने कारखाना समेत भेट्टायो, जहाँ चार वटा सुन गाल्ने मेसिन बरामद भयो । १३ साउनमा तिब्बतीयन मुलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न थिए ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेका भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालले सुन तस्करीको अनुसन्धान गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग उठायो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले सुनको थथ अनुसन्धान सीआईबीलाई दिन निर्देशन दिए । संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै विभागले पनि २९ साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।

तर एमालेले संसदमा अवरोध कायमै राखेपछि ६ भदौमा दलहरुबीच सीआईबीको अनुसन्धान सकिएपछि आयोग गठन गरेर थप छानबिन गर्ने सहमति भयो ।

हङकङदेखि भारतसम्म पुगेर सीआईबीले गरेको अनुसन्धानमा बरामद सुन तस्करीमा मुख्य व्यक्ति चिनियाँ नागरिक दावाजिन वाङ रहेको निष्कर्ष निकाल्यो ।

२७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै मुद्दा दायर भएको थियो । पक्राउ परेका ३२ सहित ५० जनालाई प्रतिवादी बनाइएको थियो ।

आयोगको प्रतिवेदनपछि कारबाही सुरु

सीआईबीको अनुसन्धान सकिएपछि दलीय सहमतिका आधारमा सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी)सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

६० किलो र भेपमार्फत भएको ९ किलो सुन तस्करीको समेत छानबिन गर्ने गरी बनेको आयोगमा समितिमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य थिए ।

आयोगले १ चैत २०८० मा ४८५ पृष्ठ लामो प्रतिवेदन बुझायो । जसमा सुन तस्करीको अनुसन्धान गरेका सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जय थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरिएको थियो ।

भोलिपल्ट सरकारले उनीहरु सबैको जिम्मेवारी खोस्दै प्रहरी हेडक्वाटरमा सरुवा गर्‍यो । उनीहरुमाथि थप कारबाहीबारे सिफारिस गर्न गृह मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति बनाइयो भनेसीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई प्रतिवेदन हस्तान्तरण गर्‍यो ।

प्रतिवेदनकै आधारमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई ५ चैतमा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । तर स्वास्थ्य अवस्थाको कारण देखाउँदै ९ चैतमा छाड्यो । यही बीचमा सुन तस्करीका मुख्य नाइके भनिएका अछामका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भरेको छ, तर पक्राउ परेका छैनन् ।

सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङलाई पनि खोजेको थियो । तर १४ किलो सुन तस्करी प्रकरणमा धरौटीमा छुटेका फरार भइसकेकाले पक्राउ नपरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?