+
+

बजेटले सुन महँगिदा तस्करको राज !

नेपाल सुनचाँदी व्यवसायी महासंघ महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार जब वैधानिक सुनको मूल्य धेरै हुन्छ, त्यसपछि तस्करलाई नाफा बढी हुन जान्छ, यसले भोलिका दिनमा तस्करी बढ्न सक्छ ।

कमल नेपाल कमल नेपाल
२०८१ जेठ १८ गते २०:११

१८ जेठ, काठमाडौं । गएको वर्ष बजेट घोषणा क्रममा सरकारले सुन आयातमा भन्सार शुल्क ५ प्रतिशत बिन्दुले बढायो । सुन आयातमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई १५ प्रतिशत बनाइएपछि तोलामै ५ हजार महँगो हुन गयो ।

यसपालि बजेटमा फेरि भन्सार दर १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइयो । बढेको भन्सार दरका कारण तोलामा थप ६ हजार रुपैयाँ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

समग्रमा भन्सार दरकै कारण नेपालमा सुनको भाउ दुई वर्षमै औसत ११ हजार रुपैयाँ महँगो परेको उनले बताए । भन्सार दर बढेकै कारण शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ पुग्यो । तर, अन्तर्राष्ट्रिय बजारमा जेठ ७ मा उच्च मूल्य रेकर्ड बने पनि त्यसयता प्रतिऔंस करिब १ सय अमेरिकी डलर घटिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य धेरै नै महँगो हुन गएको व्यवसायी बताउँछन् । शुक्रबार नेपाली बजारमा प्रति १० ग्राम सुनको खुद्रा भाउ १ लाख २१ हजार ९ सय १५ रुपैयाँ छ ।

तर, त्यही स्तरको त्यति नै सुन भारतीय बजारमा १ लाख १५ हजार ३ सय ९२ रुपैयाँ (भारु ७२ हजार १ सय २०) मा कारोबार भएको छ । त्यस्तै दुबईमा १ लाख २ हजार ८ सय २ रुपैयाँ (२ हजार ८३७. ५० दिराम) मा कारोबार भएको छ ।

बिहीबार र शुक्रबार नेपालमा नयाँ भन्सार दरअनुसार मूल्य तय गरिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि भन्सार दर बढेपछि नेपालमा बढाउनुपरेको बज्राचार्यले बताए ।

त्यस्तै महासंघ पूर्वअध्यक्ष मणिरत्न शाक्यले नयाँ भन्सार दरले मूल्यमा ठूलो असर परेको बताए । ‘अन्तर्राष्ट्रिय बजार मूल्य, यहाँको भन्सार दर, अमेरिकी डलरको मूल्य लगायतको हिसाब गरेर मूल्य निर्धारण हुँदै आएको छ,’ उनले भने ।

भन्सार बढेर सुनको मूल्य महँगिदा अवैध कारोबार फस्टाउन सक्ने व्यवसायीको गुनासो छ । ‘जब अवैधानिक सुनमा धेरै नै नाफा हुन जान्छ, त्यसपछि तस्करी बढ्ने र कतिपय व्यापारीले पनि सोही सुन प्रयोग गर्न सक्ने जोखिम हुन्छ,’ शाक्यले भने, ‘राजस्व तिरेर ल्याएको सुन बेच्ने हामी पलायन हुन सक्ने स्थिति आएको छ ।’

बैंकको कमिसन, भन्सार लगायत कारण औसत तोलाको २६ हजार रुपैयाँ बराबर भाउ बढी पर्ने गरेको व्यवसायी बताउँछन् । ‘जब वैधानिक सुनको मूल्य धेरै हुन्छ, त्यसपछि तस्करलाई नाफा बढी हुन जान्छ, यसले भोलिका दिनमा तस्करी बढ्न सक्छ,’ महासचिव बज्राचार्यले भने ।

अवैध सुन कारोबार फस्टाउँदै गए भन्सार दर बढाइए पनि राजस्व गुम्दै जाने जोखिम रहेको उनको भनाइ छ । ‘राज्यले राजस्व केही बढाउने उद्देश्यले सुनमा भन्सार दर बढाएको हो, तर तस्कर नियन्त्रण नभइकन भन्सार बढाउँदा राजस्व झन् गुम्ने जोखिम हुन्छ,’ उनले भने ।

कतै सरकारले तस्करलाई नै बढी नाफा दिलाउन भन्सार दर बढाएको त होइन भन्ने शंका व्यवसायीमा उब्जिएको उनले बताए । अवैध कारोबारमा जति धेरै लाभ हुन्छ, त्यस्ता काममा त्यति नै बढी सोच, सक्रियता, मिलेमतो तथा सेटिङ बढ्ने जोखिम रहेको शाक्य बताउँछन् ।

भन्सारका कर्मचारीसँग सेटिङ गर्ने, माथिल्लो पदमा बसेकाले लाभ लिएर तस्करलाई संरक्षण गर्ने संस्कार विकास भइरहेका बेला राज्यले जतिसुकै भन्सार बढाए पनि राजस्व उठ्दैन । ‘जब वैधानिक सुन र अवैधानिक माध्यमबाट आएको सुनको मूल्यअन्तर धेरै हुँदैन, तब थोरै नाफाका लागि कसैले जोखिम लिँदैन,’ शाक्यले भने ।

पछिल्लो वर्ष औपचारिक माध्यमबाट भित्रिएको सुन परिमाण समेत ५२ प्रतिशतले घटेको राष्ट्र बैंकको एक तथ्यांकले देखाउँछ । बैंकका अनुसार चालु आर्थिक वर्ष साउनदेखि चैत मसान्तसम्म ९ महिना अवधिमा औपचारिक माध्यमबाट १७ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको छ ।

जबकि, गत आव यसै अवधिमा ३७ अर्ब २९ करोडको सुन आयात भएको थियो । समीक्षा अवधिमा सुनको मूल्य बढेकाले आयातित सुन तथ्यांकमा झन् बढ्नुपर्ने हो । एक वर्ष अवधिमा सुनको भाउ औसत २० प्रतिशतले बढेको छ ।

तर, औपचारिक सुन आयात घट्नुले अवैधानिक रूपमा भित्रिरहेको त छैन ? भन्ने शंका उब्जाएको छ । वैधानिक तवरले आउने सुन आयात घटेकै कारण राष्ट्र बैंकले गत असोजदेखि आयात हुने दैनिक कोटाको परिमाण १० किलोबाट बढाएर २० किलो पुर्‍यायो । कोटा बढाउँदा पनि औपचारिक माध्यमबाट हुने आयात उच्च दरले घट्यो ।

अवैध रूपमा सुन आयात बढ्दा वैध आयात घटेको विषय सम्बद्ध अधिकारी स्वीकार्दैनन् । ‘मुलुकको आर्थिक गतिविधिमा सुस्तता आएका कारण सुनको आयात घटेको हो,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ।

आयात घटेका कारण कोटा बढाइएको नभई वैदेशिक मुद्रा सञ्चिति सहज भएको र व्यवसायीको माग पनि रहेकाले बढाइएको उनको दाबी छ । ‘व्यवसायीले नै कोटा बढाउन भनेर माग गरिरहनुभएको थियो, मुद्रा सञ्चिति सहज भएपछि बढाएका हौं,’ उनले भने ।

महालेखा परीक्षकको कार्यालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा हुने जाँच प्रभावकारी नहुँदा अवैध सुन कारोबार बढेको आफ्नो ६१औं प्रतिवेदनमा औंल्याएको छ । सुनको अवैध पैठारी बढेको र राजस्व घटी असुल हुने एवम् वैदेशिक मुद्राको अपचलन जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ ।

‘विमानस्थल भन्सारमा सुन जाँच गर्ने टेक्निसियन नभएको, भन्सार गोदामको व्यवस्थापन प्रभावकारी नभएको, एक्सरे मेसिनको सञ्चालन गैरप्राविधिक मार्फत हुने गरेको लगायतबाट भन्सार बिन्दुमा हुने जाँचपास प्रभावकारी छैन,’ प्रतिवेदनमा छ, ‘कच्चा सुन आयातबाट पर्ने प्रभाव सम्बन्धमा विश्लेषण गरी सोअनुसार नीतिगत, रणनीतिगत एवम् व्यापार सहजीकरणका दृष्टिले चाल्नुपर्ने कदम चालेको देखिएन ।’

आव २०७९/८० मा कनसाइन नम्बर उल्लेख नगरी ल्याएको, कच्चा सुन ल्याएको, तोकिएको परिमाणभन्दा बढी कुल ५८५.९ किलो सुन भित्रिएको प्रतिवेदनमा जनाइएको छ ।

तस्करहरूले अवैध रूपमा विदेशबाट सुन आयात गर्न रोजगारमा गएका युवालाई नै प्रयोग गर्ने गरेको पाइन्छ । वैदेशिक रोजगारमा रहेका नागरिकले आफूसँग ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । तर, कच्चा सुन ल्याउन पाइँदैन । यहीँ सहुलियत दुरुपयोग गर्दै तस्करले विदेशबाट फर्किने युवालाई समेत प्रयोग गर्ने गरेका छन् ।

वैदेशिक रोजगारमा जानेले ल्याएको सुनका गरगहनाले केही हदसम्म यहाँको माग धान्ने गरेको व्यवसायी बताउँछन् । यतिबेला भने सुनको माग नै नरहेको व्यवसायी बताउँछन् ।

‘विवाहको सिजन, दसैंतिहार र तीजमा सुनको माग बढ्ने गरे पनि अरू बेला माग हुन छाड्यो,’ शाक्यले भने । वाणिज्य बैंकले औसत दैनिक २० किलोसम्मका दरले सुन आयात गरी बिक्रेतालाई बेच्छन्, त्यही सुन बिक्रेताले गरगहना बनाएर बेच्ने हुन् । नेपालमा काँचो सुन किनबेच गर्न पाइँदैन, यो अवैधानिक छ, तर गहनाका रूपमा कारोबार हुन्छ ।

गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती लिने गरेका छन् । तर, त्यही गहना पछि बेच्दा बेचिएको दिनकै बजार मूल्य मात्रै पाइने हो ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?