+
+

बागमती करिडोरमा बीचको पोल नसारी कालोपत्रे (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १८:०२

२० जेठ, काठमाडौं । शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म बागमती करिडोर सडकमा कालोपत्रे (पिच) भयो ।

खाल्डैखाल्डा भएको सडक मर्मत भएपछि दैनिक सो सडकखण्ड भएर हिँड्ने यात्रु र स्थानीयबासी खुसी छन् ।

तर यो सडक खण्डका कतिपय भागमा पिच गर्दा सडकको बीचमा बत्तीका पोल परेका छन् । करिडोर सडकसँगै विकास गरिएका पार्कका लागि पर्खाल लगाउँदा केही ठाउँ छाडिएपछि सडक र पखार्लबीच खाडल थियो । सो खाडल पुर्दा विगतमा सडक किनारको रहेको पोल अहिले बीच भागमा परेका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पोलसमेत नसारी सडक पिच गरेको हो । यसले गर्दा सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

हिउँदभरि धुलो उडेको यो सडक खण्डमा वर्षा लागे लगत्तै पानी परिरहेकै बेला पिच गरिएको हो । यसलाई कतिपय स्थानीयले असारे विकास भनेका छन् भने लामो सयमसम्म अलपत्र सडकमा पोलसमेत नसारी पिच गरिएको पनि कतिपयले असन्तुष्टि पोखेका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) बिदुर झा पोल सार्ने काम आफूहरूको नभएको बताउँछन् । ‘त्यहाँ धुलो धेरै उड्यो, खाल्डा धेरै भयो भनेर सडक मर्मतको माग धेरै आयो,’ झाले भने, ‘त्यसैले हामीले अलि हतारमै सडक मर्मत गर्‍यौं ।’

अब सम्बन्धित निकायसँग समन्वय गरेर पोल सारिने उनले बताए । सम्बन्धित अधिकारीहरूसँग कुराकानी भए पनि आधिकारिक पत्राचार भने भएको छैन । ‘अब पत्रचार गरेर पोल सार्न लगाउँछौं,’ सीडीई झाले भने ।

तस्वीरहरू : चन्द्रबहादुर आले /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?