+
+

यस्तो देखियो ‘लण्डन टु पेरिस’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १२:०१

काठमाडौं । रिलिज पूर्वसन्ध्यामा फिल्म ‘लण्डन टु पेरिस’को प्रिमियर गरिएको छ । बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा ‘कास्ट एण्ड क्रू’सहित फिल्मकर्मी सहभागि रहे ।

फिल्म हेरिसकेपछि निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण यो फिल्मले दिएको बताए । ‘विदेशमा बसेर पनि नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उनले भने ।

पटकथा लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि फिल्म राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो सिनेमा विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।

निर्देशक घनश्याम लामिछानेले राम्रो प्रेमकथालाई फिल्ममार्फत आफूले भनेको बताए । विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको उनले बताए । यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए ।

अर्का अभिनेता कवीर खड्काले आफूले कलाकारभन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपाजस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।

डेब्यु एक्ट्रेस गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने शतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भनिन् ।

फिल्मले यात्राको क्रममा हुने प्रेमको कथा पेश गर्छ । एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ ।

अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?