+
+

‘पहिले हरेक दिन भेटिने बेवारिसे बच्चा अहिले किन भेटिंदैनन् ?’ 

हिजो वनकालीमा भेटिन्थे, कुपन्डोलको पुलमुनि भेटिन्थे, कटुन्जे र लगनखेलमा भेटिन्थे । गोरखापत्रमा दिनैपिच्छे जसो बालबालिका हकदाबी गर्न आउनू भन्ने सूचना देखिन्थ्यो । अहिले किन भेटिंदैनन् ? यो चलखेल हो ।

राजेश शर्मा, पूर्वअध्यक्ष, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान राजेश शर्मा, पूर्वअध्यक्ष, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान
२०८१ जेठ २५ गते २१:०१

०३४ देखि २०३८ साल बीचमा राजपरिवारले नेपाल घुम्न आएका विशिष्ट व्यक्तिहरूलाई बाल मन्दिरमा भएका बालबालिका लगेर हुर्काऊ, पाल भनेर दिएको इतिहास भेटिन्छ । यकिन कागजहरू त भेटिंदैन, तर नेपालमा धर्मसन्तानका रूपमा बालबालिकालाई विदेश पठाइएको इतिहास खोज्दै जाँदा त्यहाँसम्म पुगिन्छ ।

२०४६ सालमा बहुदलीय व्यवस्था आइसकेपछि नेपाल बाल संगठन अन्तर्गत रहेको नेपाल बाल मन्दिरबाट धर्मपुत्र, धर्मपुत्रीका रूपमा बालबालिका पठाउने प्रक्रिया सुरु गरिएको देखिन्छ । त्यसबेला एउटा कार्यविधि बनाएर धर्मपुत्र, धर्मपुत्रीका रूपमा पठाउन सुरु गरिएको पाइन्छ ।

त्यसबेला महिला तथा बालबालिका मन्त्रालय नभएकाले बाल संगठनबाट उठेको फाइल गृह मन्त्रालय पठाइन्थ्यो । गृह मन्त्रालयको स्वीकृतिमा विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्रीका रूपमा नेपाली बालबालिका दिइन्थ्यो ।

धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्ने देशका पनि यस सम्बन्धमा आ–आफ्नै कानुनहरू भएकाले त्यही बेलादेखि नेपालमा व्यवस्थित रूपमा कागजहरू तयार पार्ने गरिएको भेटिन्छ । जस्तै, बाल मन्दिरमा आएका बच्चाहरूमा ती बच्चा शतप्रतिशत अनाथ हुन् भन्नका लागि सुरुमा प्रहरीको चिठी बनाउने गरिन्छ ।

अनाथ हुन् भन्नलाई बेवारिसे भेटिएको चिठी प्रहरीले तयार गर्छ । त्यसपछि अधिकांश केसमा मेडिकल जाँच र वडा कार्यालयबाट जन्मदर्ता बनाइएको देखिन्छ । ती कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयमा गएर अनाथ प्रमाणित गरेको देखिन्छ । त्यसपछि कागज बनाएर गृह मन्त्रालयबाट बालबालिकाहरू विदेश पठाइएको पाइन्छ ।

२०५७ सालमा महिला तथा बालबालिका मन्त्रालय बनेपछि यसले धर्मपुत्र, धर्मपुत्री सम्बन्धी विषयहरू पनि हेर्न थाल्यो । त्यसबेला धर्मपुत्र, धर्मपुत्री सम्बन्धी शर्त र प्रक्रिया, २०५७ भनेर मन्त्रालयले कार्यविधि जारी गरेको थियो ।

धर्मपुत्र र धर्मपुत्रीका रूपमा नेपाली बालबालिका बाहिर पठाउन यो कार्यविधि पहिलो पटक जारी भएको थियो । कार्यविधि जारी भएपछि त्यस अनुसार बालबालिकालाई बालगृहले पठाउन सुरु गरेका थिए ।

नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो, त्यस बीचमा धर्मपुत्र, धर्मपुत्री हस्तान्तरणको विषयमा एकदमै धेरै चलखेल भयो । त्यसबेला विदेशी आउने ‘मलाई बच्चा चाहिएको छ भन्ने’, बालगृह डुल्ने, बच्चा हेर्ने, यो मन प¥यो, यति पैसा दिन्छु भन्ने वित्तिकै बालगृहले कागज बनाउन थाल्ने परम्परा थियो ।  लगभग भेडाबाख्रा बेचे जस्तै परिस्थिति थियो ।

यसको धेरै विरोध भयो, सन् २००८ तिर बालगृहमा बसेका बालबालिकाको परिवारको अवस्था कस्तो छ भनेर एउटा अध्ययन गरिएको थियो । त्यो अध्ययनले बुबाआमा दुवै भएका ८२ प्रतिशत बालबालिका भेटिए, यो तथ्यांकलाई आधार बनाएर धेरै बहस भयो ।

त्यसपछि नेपालमा रहेका युरोपियन युनियन अन्तर्गतका देशहरूले संयुक्त रूपमा एउटा विज्ञप्ति जारी गरेर ‘धर्मपुत्र, धर्मपुत्रीको नाममा चलखेल भयो, हामी बच्चा लिन सक्दैनौं’ सम्म भने । यस क्रममा नेपालस्थित अमेरिकी दूतावासले समेत विज्ञप्ति निकाल्यो ।

पहिले हरेक दिन जसो बालबालिका वनकालीमा भेटिने, कुपन्डोलको पुलमुनि भेटिने, कटुन्जेमा भेटिने, लगनखेलमा भेटिने गर्थे । गोरखापत्रमा बालबालिका हकदाबी गर्न आउनू भन्ने सूचना सधैँ भेटिन्थ्यो । अहिले किन बेवारिसे बच्चा भेटिंदैनन् त त्यसो भए ?

नेपाल सरकारले यसपछि बाध्य भएर धर्मपुत्र, धर्मपुत्री सम्बन्धी नयाँ शर्त प्रक्रिया २०६५ जारी गर्‍यो । २०६२/६३ लगत्तै बनेको सरकारले चर्को विवाद भएको भनेर धर्मपुत्र, धर्मपुत्री बनाएर लैजाने प्रक्रिया नै रोकेको थियो । लगत्तै खड्गबहादुर विक महिला, बालबालिका मन्त्री भएर आउनुभयो । उहाँले रिम आबद्ध एक जना व्यक्तिलाई बच्चा दिन त्यो प्रक्रिया खुला गरिदिनुभयो ।

यसपछि फेरि एकदमै धेरै चलखेल भयो । धेरै घटना बाहिर आएपछि पछि फेरि यो रोकिएको थियो । त्यसक्रममा महिला तथा बालबालिका मन्त्रालयमा ५३४ वटा फाइलहरू अलपत्र थिए । त्यसलाई के गर्ने भन्ने धेरै बहस भएपछि स्वीट्जरल्याण्ड र नर्वे जस्ता देशहरूले आफ्नै तरिकाले अनुसन्धान पनि गरे ।

मैले पनि त्यसबेला स्वीस दूतावासको तर्फबाट काम गरेको थिएँ । हामीले सम्बन्धित बालबालिकाका साँच्चै अभिभावक छन् कि छैनन् भन्ने खोजी गरेका थियौं ।

बाल मन्दिरले कपिलवस्तुबाट नर्वे लैजान तयार गरेको बच्चा हामीले फिर्ता गरिदिएका थियौं । हामीले अभिभावक खोज्न जाँदा ती बच्चाको बुबा भेटिए । शंका लागेर उनलाई काठमाडौं पनि बोलायौं । त्यसक्रममा उहाँले छोरी हो भन्ने स्वीकार गर्नुभयो । त्यसपछि फिर्ता गर्नुस् भन्यौं ।

अमेरिकाले आफ्नै देशबाट पनि कानुन व्यवसायी ल्याएर छानबिन गराएर अभिभावक नभएको भन्ने निष्कर्ष निकालेर थुप्रैलाई लगेको थियो । तर, अहिले पनि म के भन्न सक्छु भने त्यतिबेला ५३४ मध्ये ९० प्रतिशत बालबालिकाका बुबाआमा थिए । सही तरिकाले खोजी भएको भए उनीहरू भेटिन्थे ।

किनभने, ती बालबालिका त्यसै बेवारिसे भेटिएकै होइनन् । अहिले किन बेवारिसे भेटिंदैनन् त त्यसो भए ? त्यतिबेला वनकालीमा भेटिने, कुपन्डोलको पुलमुनि भेटिने, कटुन्जेमा भेटिने, लगनखेलमा भेटिने । हरेक दिन जस्तो भेटिने गर्थे । त्यतिबेला हरेक दिनजसो गोरखापत्रमा बालबालिका हकदाबी गर्न आउनू भन्ने सूचना भेटिन्थ्यो ।

प्रहरीले दिनकै ८/१० जना बालबालिका भेटिरहेको रहेछ नि त ! पछि ती बालबालिका किन भेटिन छाडे ? यो भनेको धर्मपुत्र, धर्मपुत्रीका रूपमा बाहिर बालबालिका पठाउन छाडेपछि रोकिएको हो । २०६८ सालबाटै यो प्रक्रिया लगभग रोकिएको हो ।

शंका गर्न थालेपछि २०७० सालयता यस्ता बच्चाहरू भेटिन नै छाडे । विदेशीले पनि यसमा धेरै रुचि देखाउन छाडे । एजेन्टले गाउँगाउँ र सुकुुम्बासी बस्तीबाट बच्चा खोजेर बालगृहमा ल्याउने प्रवृत्ति थियो । यो अनाथहरूको हकमा भयो ।

तर बाबुआमा हुँदाहुँदै अनाथ प्रमाणित गरेर पठाउँदा कुनै पनि बेला फस्न सकिन्छ भन्ने भएपछि २०६५ सालमा शर्त र प्रक्रिया तयार गर्ने क्रममा पनि चलखेल भयो । धर्मपुत्र, धर्मपुत्री भन्ने दुईवटा व्यवस्था राखियो । एउटा विशुद्ध अनाथ राखियो ।

अर्को भनेको परिवारले स्वेच्छाले त्यागेकोलाई पनि पठाउने भन्ने भयो । मैले पाल्न सकिनँ, त्यसकारण मैले मेरो बच्चा त्याग्छु भनेर सिडिओ कार्यालयमा भन्यो भने त्यस्तो वच्चा अरू कसैलाई दिने भन्ने व्यवस्था भयो ।

कोही त्यस्तो बुबाआमा होला, जसले बच्चा जन्माएर म बच्चा पाल्न सक्दिनँ, राष्ट्रियताको पनि मतलब छैन, त्यागिदिन्छु भन्ने ? यो चाहिं गरिबीको नाममा तिमीलाई एक लाख, दुई लाख आउँछ, भोलि पढेर गएर अमेरिका, क्यानडा, नर्वेबाट फर्किएर आउँछ भन्ने लोभ देखाएर गरिएको चलखेल हो ।

यसको छानबिन गर्ने एउटै उपाय के हो भने यो विषयमा जानकारी भएको हाई–लेभलका मान्छेहरू जो स्वार्थको द्वन्द्वमा पर्दैनन्– उनीहरूको नेतृत्वमा छानबिन गर्न आयोग बनाउनुपर्छ । स्वार्थको द्वन्द्वमा पर्दैनन् भन्नाले कुनै पनि बालगृहमा काम गरेको हुनुभएन । प्रहरी पनि हुनुभएन ।

हिजो केन्द्रीय बाल कल्याण समितिमा बसेको छ भने त्यहाँ पनि हिजो समिति थियो । जिल्ला प्रशासन कार्यालयबाट जाँदा उसैले अनाथ प्रमाणित गरेको छ । त्यसैले पूर्णतः स्वतन्त्र मान्छेहरू राखेर छानबिन गर्ने हो भने एउटा निष्कर्षसम्म पुग्न सकिन्छ । सबै फाइलहरूको घटना अनुसार छानबिन गर्नुपर्छ । यो तहबाट छानबिन गरे यसको जरोसम्म पुग्न सकिन्छ ।

(बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का पूर्वअध्यक्ष, बालअधिकारकर्मी शर्मासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?