+
+

पार्टी फुटेको छैन, केही नेताले मन्त्री बन्न चोइट्याएका हुन् : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते १८:०१

२६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन् ।

शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको बताए ।

‘राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन’, उनले भने ।

पार्टी छाडेर गएका नेताहरुको अर्को दल दर्ताका लागि निर्वाचन आयोगलाई समेत प्रभावित पारिएको यादवले बताए । ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राति निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन’, उनले भने ।

पार्टीमा कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएको टिप्पणी गरे । ‘उहाँहरुको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरि कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन । कोही धनबहादुर भित्र्याउन, त्यहाँभन्दा बढी केही लक्ष्य छैन’, अध्यक्ष यादवले भने ।

गत महिना प्रतिनिधिसभामा १२ सिट रहेको जसपा नेपालका ७ सांसदले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी नाममा उक्त दल दर्ता गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको काम संविधान र कानुन विपरीत रहेको भन्दै उक्त दल दर्ता बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । सो मुद्दा हाल विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?