+
+

बजारमा माइक्रोफाइनान्स उग्र, ६ महिनामै सेयर भाउ तीन गुणा

६ महिनाअघि प्रतिसेयर ६ सय रुपैयाँ मूल्य रहेका माइक्रोफाइनान्स हाल १ हजार ८ सयमाथि कारोबार हुन थालेका छन् । 

कमल नेपाल कमल नेपाल
२०८१ जेठ २७ गते ८:५०

२७ जेठ, काठमाडौं । सेयर बजारमा विगत केही महिनादेखि माइक्रोफाइनान्स समूह उग्र बनेको छ । बजार घट्दा पनि माइक्रोफाइनान्स सूचक बढ्ने गरेको छ । हाल यस समूहको सूचक १६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ ।

माइक्रोफाइनान्स समूहको सूचक हाल ४,६५६ विन्दुमा पुगेको छ । जुन अंक १६ महिनायताकै उच्च हो । सेयर बजारका १२ समूहमध्ये पछिल्लो ६ महिनामा माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै बढ्नेमा पर्दछ ।

गत मंसिर २० गते माइक्रोफाइनान्स समूहको सूचक ३२३० अंकमा झरेको थियो । त्यसयता ६ महिनाको अवधिमा माइक्रोफाइनान्सको सूचक ४४ प्रतिशत बढिसकेको छ ।

यो समूहका कतिपय कम्पनीको भाउ दोब्बर भएको छ । ६ महिनाको अवधिमा आधा दर्जन माइक्रोफाइनान्सको मूल्य दुई गुणा बढेको छ । केही माइक्रोफाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ । बजारमा कुल ५३ वटा माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् ।

किन उग्र बन्यो माइक्रोफाइनान्स समूह ?
अरुभन्दा माइक्रोफाइनान्स कम्पनी उच्च दरमा बढ्नुको मुख्य कारण नै ठूला कारोबारीका लागि यो क्षेत्र सहज हुनु हो । निश्चित कम्पनीलाई ठूला कारोबारीले सहज रुपमा प्रभाव पार्न सक्ने क्षमता राख्छन् । मध्यम पूँजी भएका माइक्रोफाइनान्सको सर्वसाधारणमा जारी सेयर संख्या १० देखि २० लाख कित्तासम्म हुने गरेको छ ।

केही माइक्रोफाइनान्सको त सर्वसाधारणमा जारी सेयर संख्या १ लाखमुनि पनि छ । माइक्रोफाइनान्सको मूल्य उच्च दरमा बढ्नुको मुख्य कारण नै ‘लो क्याप’ असर रहेको लगानीकर्ता बताउँछन् ।

‘जहाँ सेयरका मूल्य उचाल्न सकिन्छ, अहिले लगानीकर्ता त्यतै लगानी बढाएका छन्, माइक्रोफाइनान्समा रणनीतिका साथ नै लागेको देखिन्छ’ लगानीकर्ता तिलक कोइरालाले भने ।

माइक्रोफाइनान्स लो क्याप कम्पनी भएकाले केही ठूलो रकम परिचालन गर्नेवित्तिकै कम्पनीको मूल्यमा असर पार्दछ, अन्य क्षेत्रभन्दा यो क्षेत्र चलाउन सहज छ ।माइक्रोफाइनान्स कम्पनीमा पनि बढी चुक्ता पूँजी भएका कम्पनीको मूल्य बढ्न सकेको छैन । तर मध्यम र न्यून चुक्ता पूँजी भएका माइक्रोफाइनान्सको मूल्य भने उच्च दरले बढेको छ ।

‘जुन कम्पनीलाई सहज रुपमा मूल्य बढाउन सकिछ, कारोबारी/लगानीकर्ता त्यस्तै कम्पनीमा लागेको देखिन्छ, त्यसकारण ठूला पूँजीका माइक्रोफाइनान्स कम्पनी बढ्न सकेका छैनन्’ कोइरालाले भने ।

अरु क्षेत्रका सूचकहरु तलमाथि गरेका बेला यो समूहको सूचकले सबैभन्दा राम्रो प्रदर्शन गरेपछि कारोबारी र लगानीकर्ता दुबैको भीड बढेको छ । मंसिरमा मूल्य धेरै नै न्यून विन्दुमा आएकाले पनि छोटो अवधिमा यसको वृद्धिदर राम्रो भएको लगानीकर्ताको भनाइ छ ।

‘मंसिर/पुसताका केही समूहले माइक्रोफाइनान्स कम्पनीहरुलाई लक्षित गर्दै विरोध प्रदर्शन गरे’ अर्का लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘साँवा, ब्याज नतिर्ने, कर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्ने जस्ता कार्य गरे यसले गर्दा यो समूहप्रति लगानीकर्ता डराउँदा सूचक धेरै नै तल झरेको थियो ।’

अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण पनि खराब आएको थियो । समयमै ब्याज र साँवा नउठ्दा निष्क्रिय कर्जा बढेको थियो ।

न्यून विन्दुमा मूल्य झरेका बेला कतिपयले पोर्टफोलियोमा कम्पनीको मूल्य ‘एभरेजिङ’ गर्नतिर लागे । कतिपयले मूल्य बढ्ने आशा कायमै राखेर खरिद बढाए । क्रमिक रुपमा लघुवित्त कम्पनीविरुद्ध भ्रम छर्ने र विरोधका कार्यहरु मत्थर हुँदै गए ।

माइक्रोफाइनान्स कम्पनीहरुको दोस्रो त्रैमासिक वित्तीय विवरणमा खास सुधार नदेखिए पनि वैशाखमा आएको तेस्रो त्रैमासिक वित्तीय विवरणमा राम्रो सुधार देखियो । नउठेको साँवा तथा ब्याज रकम उठ्नु, नाफा बढ्नुले माइक्रोफाइनान्स कम्पनीप्रति कारोबारी र लगानीकर्तामा थप उत्साह देखियो ।

लोक्यापका कम्पनीहरु जति घट्छन् त्यति नै रिकभर हुन पनि समय नलाग्ने गरेको ढु‌ंगानाको भनाइ छ । ठूला कारोबारीले खरिद बढाउनेवित्तिकै यस समूहका कम्पनीमा आपूर्तिले थेग्न सक्दैन, जसले गर्दा मूल्य उचालिने गरेको छ ।

अरु क्षेत्रका सूचकहरु माथि सर्दै गरेका बेला यो समूहको सूचकले सबैभन्दा राम्रो प्रदर्शन गरेपछि कारोबारी र लगानीकर्ता दुबैको भीड बढेको छ । अन्य क्षेत्रका सूचकले राम्रो संकेत नदेखाएका बेला कारोबारीले यहीं माइक्रोफाइनान्स क्षेत्रलाई गति दिइरहेका छन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?