+
+
विचार :

मोदी ३.० : ‘विश्वगुरु’ होइन, ‘विश्वामित्र’ होउन्

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०८१ जेठ २७ गते १९:५६

सन् २०२४ चुनावको वर्ष रह्यो  । ७० वटा देश, दुनियाँको जनसंख्याको ठूलो अंश चुनावमा गएको वर्ष हो । ताइवानको चुनावबाट सुरु भएको वर्षको अन्त्यमा अमेरिकामा चुनाव हुनेछ ।

गएको केही दिनमा मात्र पनि धेरै महत्वपूर्ण चुनाव भए । भारतमा मात्र होइन, मेक्सिको र दक्षिण अफ्रिकामा पनि चुनाव भयो । दुवै चुनाव उनीहरूको ठाउँबाट हेर्दा अत्यन्त महत्वपूर्ण थियो । रंगभेदको नीति अन्त्य गरेर मण्डेलाले सुरु गरेको अफ्रिकन नेशनल कंग्रेसको राजनीतिको विरासत दक्षिण अफ्रिकामा पहिलोपल्ट तोडिएको देखिन्छ । मेक्सिकोमा भने पीआरआई पार्टीको विरासतले निरन्तरता पायो । त्यसअर्थमा यी चुनाव पनि महत्वपूर्ण छन् ।

तर भारतको चुनाव दुनियाँ र अझ बढी हाम्रा लागि महत्वपूर्ण छ, तपाईं हामी नै यही चासोबाट कुरा गर्न बसेका छौं ।

४ जून अगाडिको बहस हेरौं । भारतको पत्रकारिता र निर्वाचन विशेषज्ञहरूबाट प्रभावित भएर नेपालमा पनि हामीले त्यही किसिमको बहस गरेका थियौं होला । तर फरक परिणाम आइसकेपछि हामीकहाँ पनि केही दिनमै धेरै नै मान्छेले लेखेका, छलफल–चर्चा गरेका छन् । यसरी दुनियाँलाई, दुनियाँभन्दा हामीलाई धेरै किसिमले फरक पार्ने निर्वाचन सम्पन्न भयो ।

***

यो चुनावलाई हेर्न आज भारत कहाँनेर छ भनेर हेर्नुपर्ने हुन्छ ।

चीन र भारत बेग्लाबेग्लै मोडलको शासन व्यवस्था भएका देश हुन् । म एउटा लोकतन्त्रवादी पार्टीको मानिस, भारतको शासन व्यवस्था जस्तै नेपालमा पनि लोकतान्त्रिक शासन व्यवस्था बनाउने काममा लागेको र यही शासन व्यवस्थाका आधारबाट नेपाल सदाका लागि चल्नेछ भन्ने मान्यता राख्ने मान्छे हो । त्यसैले मेरा लागि भारत कहाँ छ, चीन कहाँ छ भन्ने महत्वपूर्ण छ ।

चीनको व्यवस्था के हुन्छ ? त्यो महत्वपूर्ण भएन । एउटा नेपालीका लागि छिमेकी देशको कुनै पार्टी रोज्नु वा व्यवस्था परिवर्तनको कुरा गर्नु मूर्खता हुन्छ । भारतको चुनावमा पनि कसैप्रति सद्भाव हुनु एउटा कुरा हो, तर कसलाई रोज्ने वा नरोज्ने भन्ने हुँदैन । त्यसैले चीनको व्यवस्थाबारे बहस हाम्रो विषय होइन ।

तर कसैले पनि भूगोलको यो भागमा हेर्दा दुनियाँको राजनीतिमा चीन झण्डै–झण्डै सुपर पावर र भारत चाहिं ग्रेट पावरको स्टाटसमा भएको बेला कहाँ छन् भनेर दुई तीन वटा कुरा हेर्नुपर्ला ।

चीनमा ३०/३५ वर्ष अगाडि रहेको औसत आयु र साक्षरताको तहमा भारत भर्खर पुगेको छ । चीनमा १५/१६ वर्ष अगाडि कुल गार्हस्थ्य उत्पादन र त्यसमा कृषिको जुन हिस्सा जति थियो, भारत आज त्यहाँ पुगेको छ । गरिबी र उपभोग चाहिं चीनमा भन्दा ५/६ वर्ष जति मात्र फरक छ । किनकि लोकतान्त्रिक शासन व्यवस्था भएका कारण राजनीति व्यक्तिमाथि केन्द्रित हुँदोरहेछ । यसले गरिबीबाट माथि निकाल्ने विषय प्रधान हुनआयो ।

सँगसँगै हामीले के बिर्सन हुन्न भने ३०/३२ वर्ष अगाडि दुनियाँका २ अर्ब गरिबमध्ये ६० प्रतिशत भारत र चीनमा थिए । अहिले ५ प्रतिशत मात्र छन् । अर्थात् दुवै मुलुकले गरिबी निवारणमा असाध्यै ठूलो उपलब्धि हासिल गरेका छन् । चाँडै एउटै ठाउँमा सँगसँगै पुग्न थालेका छन् र, चाँडै एक ठाउँमा जोडिएलान् भन्ने देखिन्छ ।

आज पनि भारतको प्रतिव्यक्ति आम्दानी चीनको भन्दा करिब पाँच गुणा (४.६) कम छ । तर कमै आम्दानीमा पनि त्यहाँसम्म पुगेको भारतले त्यसैको बुतामा चीनसँगै प्रतिस्पर्धा गर्न सक्दै छेउछाउ पुग्दै जाला । त्यो बेला चीनसँगको सम्बन्धमा एउटा लेभरेज खोजी गर्न दुनियाँको सुपर पावर र पश्चिमा पावरका लागि भारत प्रधान मित्रशक्ति बन्न सक्छ वा सक्दैन भन्ने विषय महत्वपूर्ण भएर आउँछ जस्तो लाग्छ । यसअर्थमा पनि भारतको निर्वाचन महत्वपूर्ण छ ।

यसमा जानुपूर्व निर्वाचन परीक्षणबारे थोरै चर्चा गरौं ।

राहुल गान्धीले जिते जस्तो, आजको नेता र भोलिको पनि सम्भावित बलियो नेताका रूपमा स्थापित भयो भने जस्तो भाष्य बनेको छ

बहुमत त हिजो मात्र होइन, अघिल्लो चुनावमा पनि आएको थियो । यसपटक एक्लै हिजोको ३०३ सिटभन्दा बढी आउँछ, एनडीए गठबन्धन निकै ठूलो हुन्छ भन्ने एउटा आत्मविश्वासको साथ मोदीले चुनाव लडेका थिए । ठूलो संख्यामा सिट घट्यो, त्यो पनि मूलतः भाजपाकै । यद्यपि मतको प्रतिशत खासै घटेको देखिन्न ।

५ वर्षको राजनीति, बहुमत, अल्पमतमा पार्ने प्रभाव, संसद्बाट पास हुने विधेयकहरूमा पार्ने प्रभाव अथवा सरकारको नीतिहरू वा संविधानका विषयमा केही सोच बनाउने सामर्थ्यमा प्रभाव पारेको छ । तर जग चाहिं धेरै हल्लिएको देखिन्न । किनभने अघिल्लो चुनावमा साढे ३७ प्रतिशत जति थियो, अहिले साढे ३६ प्रतिशत छ ।

दक्षिण भारतमा भाजपाको भोट बढे पनि सिट बढ्न सकेको छैन । उत्तर भारतमा मत घट्यो, विशेषतः ग्रामीण क्षेत्र र अल्पसंख्यक एवं दलित समुदायको सघन बसोबास भएको ठाउँमा निकै नै संकुचित भयो । मत घट्नासाथ सिट पनि घट्यो । भाजपाको उत्तर भारतमा मात्र ५५ सिट घटेको देखिन्छ । अरूतिर केही गुमाएको छ, केही थपेको छ, साङ्गोपाङ्ग बराबरी भएको छ ।

विपक्षी गठबन्धनको प्रमुख दल इण्डियन नेशनल कंग्रेसले ९९ सिट जितेको छ । इन्डिया गठबन्धनका सबै दल मिलाउँदा २३४ सिट हुन्छ जबकि भाजपा एक्लैको २४० सिट छ । भारतीय कंग्रेसको मत पनि धेरै बढेको छैन । अघिल्लो चुनावमा साढे १९ प्रतिशत थियो, अहिले २१ प्रतिशत छ ।

तर राहुल गान्धीले जिते जस्तो, आजको नेता र भोलिको पनि सम्भावित बलियो नेताका रूपमा स्थापित भयो भने जस्तो भाष्य बनेको छ, यो होइन भन्ने आधार छैन । किनकि यो चुनावी परिणाम नआएको भए इण्डियन नेशनल कंग्रेसले राहुलको सट्टा अर्को नेता खोज्नुपर्थ्यो होला ।

***

भारतका नेता मोदीले धार्मिक, सांस्कृतिक र आर्थिक विषयलाई प्रमुख चुनावी मुद्दाका रूपमा उठाएका थिए । खासगरी दि इकोनोमिस्ट पत्रिकाले दिएको इमेजबारे कुरा गर्न चाहन्छु ।

पहिलो, इम्पेरर अफ हिन्दु हार्ट अर्थात् हिन्दुहरूको सम्राट ।

नेपालका नेताहरूको मनमा के छ थाहा छैन, तर सार्वजनिक स्थलमै देखिने गरी, सन्देश पठाउनका लागि झैं गेरुबस्त्र लगाएर पूजाआजा र ध्यानका लागि तयार भएर राजनीति गर्न थालेका थिए ।

हिजो नेपालमा संवैधानिक राजा भएको बेला हिन्दु सम्राट भनिन्यो । तर आजको दिनमा हिन्दुहरूको सम्राटका रूपमा दुनियाँभर स्थापित नाम मोदी जस्तो भयो ।

दोस्रो, आर्थिक विकास डेलिभर गर्ने नेता ।

हिजो मोदी शासन गर्न आउँदा करिब १० वटा देशको अर्थतन्त्र भारतको भन्दा ठूलो थियो । आज चार वटा देशको मात्र छ । यही कार्यकालमा ३ वर्ष पछाडि अझ एक तह माथि पुग्छ । यो असाध्यै फड्को मारेको बेला मोदीको शासन थियो र मोदी भएका कारण मात्र सम्भव भयो भन्ने भाष्य सहित चुनाव लडेका थिए ।

पहिलो भाष्यले हामीलाई पनि प्रभावित गरेको थियो भन्ने लाग्छ । कम्युनिस्ट शासन प्रणाली भएको उत्तरतर्फ हिजोका कम्युनिस्ट नेताहरू खासगरी माओत्से तुङभन्दा पनि बलियो सी जिनपिङ अनि लोकतान्त्रिक शासन व्यवस्था भएको दक्षिणतर्फ पार्टीभन्दा निकै बलियो नेताका रूपमा मोदी आएको हुनाले नेपालले पनि बलिया शासकहरूलाई रिझाउनुपर्छ भन्ने मोडल देखेको थियो ।

त्यही क्रममा नेपालका नेताहरूले, मनमा के छ थाहा छैन, तर सार्वजनिक स्थलमै देखिने गरी, सन्देश पठाउनका लागि झैं गेरुबस्त्र लगाएर पूजाआजा र ध्यानका लागि तयार भएर राजनीति गर्न थालेका थिए ।

हिजो पशुपतिमा भारतीय मुलको भट्ट हटाउने असफल प्रयास गर्ने प्रचण्डजी गेरुबस्त्र लगाएर भारत (महाकालेश्वर मन्दिर) मा दर्शन गर्न जानुभयो, त्यहाँबाट पानी ल्याएर पशुपतिमा चढाउनुभयो । मैले उहाँमा आध्यात्मिक विषय कति गहिरो छ भनेर प्रश्न गर्न खोजेको होइन, तर मोदीलाई खुशी पार्नुपर्छ भन्ने भाव प्रधान रह्यो जस्तो लाग्छ ।

ओलीजीले भारतसँग कठिनाइ बढ्दै गएपछि त्यसलाई कम गर्ने बाटोमा मोदीसँगै सिकेको वा सी जिनपिङबाट प्रेरणा लिएर नेपालमा ओलीको मात्र चल्छ भन्ने शैलीमा राम नेपालमै जन्मिएको भन्नुभयो । यो अधिक अभिमान होला ।

तर पशुपतिमा सुनको जलहरी चढाउने काम चाहिं मज्जैसँग गर्नुभयो । यो पशुपतिलाई खुसी पार्नेभन्दा हिन्दु सम्राटका रूपमा राजनीतिक छवि बनाउँदै गरेका मोदीलाई खुसी पार्नका लागि बढी थियो होला ।

मेरै पार्टीमा पनि हिन्दु राज्यको कुरा गर्ने साथीहरूलाई कुनै पनि स्थान नदिने चलन थियो । उही सभापति हो, उहाँको राजनीतिक सोचमा पनि परिवर्तन आएको छैन । तर यो पार्टीको महासमितिमा हिन्दु राज्य वा हिन्दु राष्ट्रवाला विचारले प्रवेश पाउनुपर्छ भन्ने भाष्य देखियो । यसअर्थमा सबै पार्टीहरूमा प्रभाव देखियो ।

अर्को, आफू पनि बलियो शासक बन्ने मोडलमा जानुपर्छ भनेर हाम्रा नेताहरूले सिको गर्न खोजे ।

चाहे त्यो अमेरिकाको ट्रम्पको शैली होला वा रूसका पुटिन, टर्कीका एर्दोगान, हंगेरीका अल्बर्न वा ब्राजिलका बोल्सेनारोको शैली होला । त्यसको निरन्तरतामा नेपालमा पनि निर्वाचित हुने हो, निर्वाचित भइसकेपछि लोकतन्त्रका अरू संस्थालाई आफ्नो आज्ञाकारी बनाउनुपर्छ भन्ने देखियो ।

भारतमा राहुल गान्धीलाई संसद्बाट बाहिर राख्ने, चुनाव अगाडि कंग्रेसको बैंक खाता बन्द गर्नेदेखि कानुनलाई प्रयोग गरेर दुई जना निर्वाचित मुख्यमन्त्री जेल हाल्ने काम भयो । भ्रष्टाचारको मुद्दाबाट जोगिन सत्तारुढ दल वा गठबन्धनको टिकट लिएर चुनाव लड्ने प्रवृत्ति देखियो ।

हामीकहाँ पनि सत्तामा पुग्न वा सत्ता बचाइराख्न अदालतलाई प्रयोग गर्ने, संवैधानिक आयोगहरूमा आफ्ना मान्छे कसरी पुर्‍याउने र तिनको आधारबाट आफ्नो शासन व्यवस्थालाई बलियो बनाउने वा भ्रष्टाचारका मुद्दाहरू पक्ष–विपक्षमा प्रयोग गर्ने प्रवृत्ति देखियो ।

यो चुनावी परिणामले भारतमा कति परिर्वतन हुन्छ, थाहा छैन । हुन्छ वा हुन्न, भारतको आन्तरिक विषय हो । नेपालमा परेको मनोवैज्ञानिक प्रभाव चाहिं फेरिन्छ जस्तो लाग्छ ।

हिजो भारतको भ्रमण गर्दा सहज रूपमा विपक्षी दलको नेतालाई पनि भेट गर्ने चलन थियो । अझ कांग्रेसका लागि चाहिं प्रधामन्त्री वा सभापतिले भारतको भ्रमण गर्दा कंग्रेस नेता सोनिया गान्धी र विपक्षीसँग भेटघाट नियमित प्रक्रियाभित्र पर्ने गर्दथ्यो । अब त्यो चलन फेरि थपिएला कि !

केही मुद्दाहरू छन्, जसका आधारमा नेपालको विकासमा भारतको सहयोग जुटाउन सकिन्छ । केही असहजता छन्, त्यसमा सरकार मात्र होइन, त्यहाँका दलहरूसँग पनि समझदारी निर्माण गर्न सकियो भने नेपालको राजनीति अझ सहज हुन्छ भन्ने सोचले काम गर्ला ।

अनि मोदीले भारतलाई ग्रेट पावरका रूपमा पश्चिम मुलुकहरूको उदार शासन व्यवस्थासँग जोडिने, चीनसँग घच्चीसाथ प्रतिस्पर्धामा उभिने र विस्तारै चीनसँग बराबरीको तागतमा उभिने भारत निर्माण गर्ने बलियो आधार प्रदान गर्नुभयो भने उदार लोकतान्त्रिक राजनीतिमा त्यो स्पेश नेपालले प्राप्त गर्न सक्छ ।

त्यो बेला पश्चिमा मुलुकहरूले पनि चीन छ, त्यसकारण भारतसँग व्यवहार गर्नुपर्छ भन्दा पनि आफ्नो जस्तै राजनीतिक व्यवस्थासँग सम्बन्ध सहज हुन्छ, दिगो हुन्छ र साँच्चै अर्थमा दुनियाँलाई उदार लोकतन्त्रको बाटोमा लिएर जाने बलियो नेतृत्व भारतबाट पनि प्रदान हुनसक्छ भन्ने मान्यता भयो । सबैभन्दा धेरै जनसंख्या भएको लोकतन्त्रवादी मुलुकको सट्टा साँच्चै अर्थमा बलियो र अमेरिकाको हाराहारीको प्रभाव बनाउन सक्ने मुलुकका रूपमा भारत बन्न सक्यो भने हाम्रा लागि पोलिसी स्पेश प्राप्त हुन्छ भन्ने मलाई लाग्छ ।

पोलिसी स्पेशको कुरा गर्दा हाम्रा लागि जलस्रोतको विकास महत्वपूर्ण छ । यसमा केही उपलब्धि हासिल भएका छन् । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेका छौं । भारतको बाटो भएर बंगलादेशसम्म बिजुली बेच्ने भन्ने छ ।

भाजपा र कंग्रेस दुवै दलले आफ्नो घोषणापत्रमा नेपालसँग विशेष सम्बन्ध कायम गर्ने भनेका छन् । भुटान र बंगलादेशसँग भारतको सहज सबन्ध नै छ, त्यसका आधारमा बीबीआईएन (नेपाल, भुटान, बंगलादेश र भारत) मा बिजुली व्यापार गरेर कसरी फाइदा लिन सक्छौं भन्ने हुन सक्छ ।

कृषिको विकास गर्ने क्रममा उत्तर भारतमा सिंचाइको महत्व हुन्छ । पानीको उद्गमस्थल नेपाल भएर जाने खोलानाला हुन् । त्यसलाई जोडेर भारतले सिंचाइ र जल यातायातको प्रबन्ध गरिरहेको छ । यसले हामीलाई असाध्यै सहज पनि बनाउन सक्छ, अप्ठ्यारो पनि बनाउन सक्छ ।

त्यहाँको सिंचाइ प्रबन्धले हामीकहाँ जलवायुमा निकै फरक पर्छ भन्ने प्रारम्भिक रिपोर्ट आएको छ । हाम्रो विपद्सँग लड्ने क्षमता वृद्धि गर्नुपर्ने होला, अनि उनीहरूको नदीनाला ठिकसँग बस्न हाम्रो हिमाल पग्लिन वा तापक्रम बढ्ने नहोस् भनेर भारतसँग जोडिनुपर्ला ।

पर्यटनमा भारतको महत्व जति बढ्दै जान्छ, भारतमा आउने पर्यटनको लेभल पनि त्यति नै बढ्दै जान्छ । नेपालले पनि पर्यटनमा विस्तारै फड्को मार्न थालेका छौं, तर केही समस्या छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या होला अथवा बनेका दुइटा विमानस्थलको प्रयोग गर्न नसकेको समस्या होला । यसमा पनि भारतको भूमिका महत्वपूर्ण हुन्छ ।

अब भारतको नेता, प्रधानमन्त्री र पार्टीलाई रिझाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेभन्दा नेपालको दीर्घकालीन स्वार्थका लागि सबै पार्टी नेपाली नेशनका रूपमा प्रस्तुत गर्न सकिन्छ भनेर काम गर्ने अवसर प्राप्त भएको छ

अनि भारतसँग हाम्रो सहज सम्बन्ध बन्यो, अहिलेभन्दा प्रगाढ भयो भने चीनबाट पनि फाइदा लिन सक्छौं । अहिलेसम्म राजनीतिमा के देखिन्छ भने भारत धेरै रिसाउला कि भनेर चीनसँगको सम्बन्ध मुखले जे सुकै भने पनि तात्विक रूपमा अगाडि बढाउने काम भएको छैन ।

तर भारतसँग सम्बन्ध सहज र विश्वासको भयो, मोदीजी र त्यहाँका नेताहरूसँग गहिरो सम्बन्ध भयो भने अर्को छिमेकबाट फाइदा लिन सक्छौं । त्यसो गर्दा भारतसँग असमझदारी पनि नहोला । चीन र भारतका बीचमा हामीले सहयोग पुर्‍याउन सक्ने विषय हुनसक्छ, त्यो पनि नेपालको विकासका लागि सम्भावना हुन्छ । त्यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ । कथंकदाचित सहज सम्बन्ध बनेन भने हाम्रो राजनीति पनि निकै सकसपूर्ण हुन्छ । त्यो सकसबाट बाहिर निस्कन सक्ने क्षमता विकासका लागि भारतबाट सिक्ने आधार थुप्रै हुन्छन् ।

गम्भीरतापूर्वक ध्यान दिनुपर्ने चाहिं, १० वर्ष पहिला जब मोदीजी एउटा बलियो राजनीतिक नेताका रूपमा दिल्लीको राजनीतिमा स्थापित हुनुभयो । उहाँले छिमेकी पहिलो हो भन्ने रणनीति अगाडि सार्नुभयो । यसपालि पनि छिमेकका नेताहरूलाई शपथमा बोलाइए जस्तो त्यो बेला अझ बढी महत्वका साथ बोलाइएको थियो ।

त्यो बेला हामीलाई एउटा स्पेश प्राप्त भएको थियो । हामी आफ्नो संविधान बनाउने काममा थियौं । नेपालको राजनीतिसँग लामो समयदेखि जोडिएको भारत, शान्ति प्रक्रिया हुँदै संविधानसभाबाट संविधान बनाउने कुरामा संलग्न थियो ।

भारतको केन्द्रीय राजनीतिमा नयाँ पार्टी (भाजपा) आयो, उसको विचारहरू फरक खाले भयो । त्यो बेला हामीले पुरानो निरन्तरता (प्रजातन्त्र स्थापना, प्रजातन्त्र पुनर्स्थापना, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको बाटो)मा जाँदा उनीहरूलाई पनि विश्वासमा राखेर जान सकेको भए भारतसँग सम्बन्ध पनि गहिरो हुन्थ्यो होला, दिल्लीको आलाकमानमा स्थापित भएको भाजपा र मोदीजीसँग पनि सम्बन्ध सहज हुन्थ्यो होला । हाम्रो संविधान बनाउने प्रक्रिया पनि सहज हुन्थ्यो होला । त्यसो नगर्दा १० वर्ष भारतसँगको सम्बन्ध अलि असहज भयो ।

अनि, भारतसँग सम्बन्ध असहज भयो भने मेरो पार्टी र मेरो नेतृत्वका लागि चाहिं मोदीजीसँग विशेष सम्बन्ध कसरी बनाउन सकिन्छ भनेर नेताहरूको बीचमा अलि असहज प्रतिस्पर्धा देखियो ।

नेपालको राजनीतिको त्यो प्रतिस्पर्धालाई भारतको राजनीति, मोदीजीको सम्बन्ध सहज रूपमा कायम राखेर सीमाको विषयलाई आ-आफ्नो जनतालाई खुसी बनाउने, उनीहरूको देशभक्तिको भावलाई मात्र सम्बोधन गर्ने भन्दा दिगो रूपमा लामो समयसम्म अप्ठ्यारो नपर्ने गरी समाधान गर्नुपर्नेछ । त्यस्तै अरु सन्धिहरूको विषय छ । भारतसँग बलियो सम्बन्ध विकास हुँदा चीनसँगको सम्बन्धलाई पनि परिभाषित गर्ने अवसर फेरि प्राप्त भएको छ ।

त्यसैले आजको दिनमा मेरो आफ्नै पार्टी, हाम्रो प्रतिस्पर्धी एमाले पार्टी, हाम्रो देशका प्रधानमन्त्री र सरकारलाई अनुरोध छ– अब भारतको नेता, प्रधानमन्त्री र पार्टीलाई रिझाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेभन्दा नेपालको दीर्घकालीन स्वार्थका लागि, भारत र नेपालको विशेष सम्बन्धका लागि कसरी नयाँ विन्दु पहिल्याउनुपर्छ र नेपालका सबै पार्टी (सरकार र विपक्षी) नेपाली नेशनका रूपमा प्रस्तुत गर्न सकिन्छ भनेर काम गर्ने अवसर आएको छ ।

मोदी ३.० लाई यसरी प्रयोग गर्न सकौं । जसै मोदी विकसित भारतको मिसनमा अगाडि बढ्छन्, ‘विश्वगुरु’ होइन, ‘विश्वामित्र’का रूपमा हामीलाई सहज रूपमा उपलब्ध होऊन् ।

 

लेखकको बारेमा
डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?