+
+

अब लाइसेन्सको काम राष्ट्रिय परिचय पत्रले गर्ने, त्यो पनि पाउन मुस्किल

राष्ट्रिय परिचय पत्रमा विवरण एकीकृत गरेर लाइसेन्स विस्थापित गर्ने योजना भए पनि कसरी चेकजाँच गर्ने भन्नेमा विभाग अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते २०:०२

२९ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन ।

अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा अपग्रेड गरेको लाइसेन्स आउन वर्षाैं लाग्छ ।

विभागले २०७२ देखि स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको थियो । तर विभागले समयमा स्मार्ट लाइसेन्स दिन सकेको छैन । त्यसैले धेरैको हातमा राजस्व तिरेको कागज छ, लाइसेन्स छैन ।

ट्रायल पास गरेको वर्षाैंसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोकिराख्नुपर्ने छैन भने विभागले लाइसेन्स छाप्ने प्रक्रिया नै बन्द गर्ने योजना बनाएको छ । ‘ढिलोचाँडो लाइसेन्सको आवश्यकता नपर्ने नै हो, अहिले नै त्यो निर्णयमा पुगेका छैनौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘साउनबाट कार्यान्वयनमा आएपछि केही समय हेरौं, अनि थप निर्णय हुन्छ ।’

१ करोड परिचय पत्र छापिन बाँकी

लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गरेपछि छपाइको समस्या भने समाधान हुने देखिँदैन ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार १ करोड ५० लाख व्यक्तिले राष्ट्रिय परिचय पत्रका लागि निवेदन दर्ता गराएका छन् ।

अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यसैले राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ४० लाखले मात्रै राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

बाँकी एक करोडभन्दा बढीले पाएका छैनन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङका अनुसार अहिले दैनिक २५ हजार हाराहारी परिचय पत्र दैनिक छापिँदै आएको छ । नियमत यही गतिमा छपाइ हुने हो भने पनि यसकै लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ

ट्राफिकले कसरी चेकजाँच गर्ला ?

विभागको योजनाअनुसार लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो र पञ्जीकरण विभागले छपाइ गरेर दियो भने पनि सडकमा ट्राफिक प्रहरीले कसरी चेकजाँच गर्ने भन्ने अलमल कायमै छ ।

स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा विभागले ट्राफिक प्रहरीलाई रिडेबल मेसिन दिने बताएको थियो । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन पाएको छैन ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरीहरूले स्मार्ट लाइसेन्समा उल्लेख भएको विवरण आँखाले हेरेर चेकजाँच गर्ने गरेका छन् ।

अब राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्दा कसरी चेकजाँच गर्ने भन्ने अन्योल हुनेछ । किनकि राष्ट्रिय परिचय पत्रमा नाम, परिचयपत्र नम्बर, जारी भएको मिति लगायतका विवरण मात्र उल्लेख हुन्छ ।

थप विवरणका लागि क्यूआर कोड छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात १ साउनदेखि लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने बताएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार पनि ट्राफिक प्रहरीले कुन माध्यमबाट परिचय पत्रको क्यूआर स्क्यान गर्छन् भन्नेमा विभाग अहिलेसम्म निर्णयमा पुगेको छैन ।

भन्छन्, ‘प्राविधिक काम भइरहेको छ । एप्लिकेसन बनाएर मोबाइलबाट हेर्ने वा ट्राफिकलाई नयाँ डिभाइस दिने निर्णय भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?