+

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि

२०८१ असार  ३ गते १७:४१ २०८१ असार ३ गते १७:४१
सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि

३ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ७५ हजार र  तेस्रो हुनेले १ लाख २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौं हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिने आयोजकले जनाएको छ । कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए। दुई दिनको खेल पश्चात कट लागु हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।

यो सिजनको अन्तिम प्रतियोगिता पश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन्।

उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन्। भुवनले यो सिजनको सात प्रतियोगिता सकिंदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन्। उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए।

निरज तामाङ ४ लाख ४८ हजार सहित मनी लिडर तालिकामा दोस्रो स्थानमा छन्। उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए। सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन्। सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजारसहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगद सहित सञ्जय लामा पाँचौं स्थानमा छन् ।

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुवास तामाङले  चुनौती प्रस्तुत गर्ने सम्भावना छ । एमेच्योर गल्फर रहँदा सुवासले कुल पाँच उपाधि जितेका छन् । यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो।

यो सिजन सातमध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन्। उनले यो सिजन सात प्रतियोगिताको समाप्तिमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो-एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ ।

पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भन्दै जितको शुभकामना दिएका छन् ।

गल्फ सूर्य नेपाल गल्फ टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय