+

पाकिस्तानी क्रिकेट : गुटैगुटले फुटैफुट

२०८१ असार  ४ गते ९:३१ २०८१ असार ४ गते ९:३१

पाकिस्तानी मिडियालाई आधार मान्ने हो भने यो टिमको अपेक्षाभन्दा खराब प्रदर्शनको एउटै कारण रह्यो, खेलाडीबीच रहेको गुट । अनि त्यसैकारणले टिमभित्र सिर्जना भएको फुट ।

पाकिस्तानी क्रिकेट : गुटैगुटले फुटैफुट

४ असार, काठमाडौं । पाकिस्तान टी-ट्वान्टी विश्वकप २०२४ को समूह चरणबाटै बाहिरिनु केहीका लागि स्तब्धपूर्ण रह्यो भने केहीका लागि अपेक्षित पनि ।

प्रतियोगिता सुरु हुन लाग्दा पाकिस्तान आफैं उपाधिका लागि बलियो प्रत्यासी थियो । कम्तीमा कागजमा पाकिस्तान बलियो नै थियो । तर यही टिम सुपर-एट पनि पुग्न सकेन ।

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानको यति खराब प्रदर्शन किन भयो त ? अहिले यसको कारण खाज्ने काम भइरहेको छ ।

पाकिस्तानी मिडियालाई आधार मान्ने हो भने यो टिमको अपेक्षाभन्दा खराब प्रदर्शनको एउटै कारण रह्यो, खेलाडीबीच रहेको गुट । अनि त्यसैकारणले टिमभित्र सिर्जना भएको फुट ।

टी-ट्वान्टी विश्वकप सुरु हुनु केही समय अगाडि मात्र बाबरलाई फेरि कप्तानीको जिम्मेवारी दिनु असाध्यै गलत निर्णय सावित भयो । यसअघिका कप्तान थिए, साहिन शाह अफ्रिदी । उनलाई किन हो, नेतृत्वबाट हटाइयो । बायाँ हातका यी बलरले सबै घटनाक्रमलाई स्वीकार्नै सकेनन् ।

अब तयजस्तै देखिएको छ, केही दिनपछि पाकिस्तानबाट खबर आउने छ, टिममा व्यापक फेरबदलको । यो फेरबदल टिममै मात्र सीमित हुने छैन, पाकिस्तानी क्रिकेट बोर्डमै पनि हुनेछ । अनि टिमसँग जोडिएका सबै क्षेत्रमा पनि ।

पाकिस्तानी मिडियाका अनुसार अहिले टिममा तीन गुट छन् । त्यसमध्ये एकको नेतृत्व स्वयं बाबरले गरिरहेका छन् । अर्को गुट साहिनको पक्षमा भयो । अनि तेस्रो गुटका नाइके भने मोहम्मद रिजवान हुन् ।

साहिनको कप्तानी खोसिएपछि बाबरले उनलाई समर्थन गर्न पनि आवश्यक मानेनन् । त्यसबीच रिजवान भने आफूले किन कप्तानी पाएन भनेर रिसाए ।

यही विश्वकपका लागि भनेर टिममा दुई पुराना खेलाडीले पनि प्रवेश पाएका थिए । ती थिए, मोहम्मद आमिर र इमाद वासिम । उनीहरू आएयता टिममा अझ अन्यौलता छाएको थियो । आमिरलाई किन टिममा राखियो भन्नमै ठूलो विवाद रह्यो ।

विशेषतः पाकिस्तानी क्रिकेटको ठूलै खेमा आमिरलाई कुनै पनि हातमा पाकिस्तानी टिमबाट खेलाउनु हुन्न भन्ने पक्षमा थियो, किनभने उनी स्पट फिक्सिङमा संलग्न रहेको प्रमाणित भइसकेका खेलाडी हुन् ।

कुरा कतिसम्म आइरहेको छ भने पाकिस्तानका खासखास खेलाडीबीच बोलचाल पनि छैन ।

पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिम नक्भीलाई सबै स्थितिबारे राम्रोसँग जानकारी थियो र उनले खेलाडी-खेलाडीबीच मेलमिलापका लागि प्रयास पनि गरेका थिए । तर, उनले पनि केही गर्न सकेनन् ।

छनोटकर्ता रहेका वाहब रियाजले पनि खेलाडी-खेलाडीबीचको तनावपूर्ण सम्बन्ध चिस्याउने प्रयास गरेकै थिए । उनको पनि केही चेलन ।

त्यसैकारण यसपल्टको विश्वकपमा कुनै एक खास टिमले सबैलाई निराश पारेको छ भने त्यो पाकिस्तानै रह्यो । अमेरिकाविरुद्ध पाकिस्तानले सुपर ओभरमा बेहोरेको हारमा त खोट लगाउने ठाउँ नै ठाउँ थियो ।

अब साँच्चै के हुनेछ त ? यसको ठोस उत्तर पनि कोहीसँग छैन । यस्तो किनभन्दा पाकिस्तानी टिमको प्रदर्शन जस्तो अनिश्चितता छ, स्वयं त्यहाँको बोर्ड, छनोट समितिदेखि सबैमा अनिश्चितता मात्रै छ ।

पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय