+
+

राजदूतमा भागबन्डा : एमालेलाई ८, रास्वपालाई २, माओवादीलाई १

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २०:३६

६ असार, काठमाडौं । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन् ।

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्नेछन् । ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो’, सचिवालयले बतायो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतले बतायो ।

रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार भएनन् ।

बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।

‘बीचमा केही तिक्त अभिव्यक्तिहरु बाहिर आए, असहयोग पो हुन थाल्यो कि भन्ने पनि भयो’ बालुवाटार स्रोतले भन्यो, ‘तर हाम्रोमा असामान्य विषय केही छैन, समझदारीमै छौं भन्ने सन्देश बैठकबाट गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?