+
+

गण्डकीको बजेटमा हिसाब मिलेन, एमालेले गर्‍यो संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २०:३५

६ असार, पोखरा । गण्डकी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हिसाब नमिलेको पाइएको छ ।

१ असारमा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए । त्यसपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्णप्रसाद धितालले बैठक स्थगित गरे ।

छलफलको सुरुमा कांग्रेसका सांसद अशोक श्रेष्ठले आफ्नो भनाइ राखेलगत्तै एमालेका थापाले बजेटको हिसाब नमिलेको विषय उठाए । बजेट वक्तव्यमा हिसाब नै नमिल्नुले सरकार र अर्थमन्त्रीमाथि  नैतिकताको संकट देखिएको उनले बताए ।

आर्थिक वर्ष २०८१/२०८२ को वजेट वक्तव्यमा घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट आवश्यक पर्ने उल्लेख थियो ।

त्यसको स्रोतमा भने वित्तीय समानीकरण अनुदानको ७ अर्ब ६३ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानबाट ३ अर्ब १० करोड र समपूरक अनुदानबाट १ अर्ब १९ करोड अनुमान गरिएको थियो ।

त्यस्तै प्रदेशको राजस्व ५ अर्ब १७ करोड, नगद मौज्दात २ अर्ब ९४ करोड र १ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने पनि भनिएको छ ।

बजेट वक्तव्यको यो विवरण अनुसार बजेटको स्रोत ३२ अर्ब ४८ करोड ७६ लाख मात्र हुन्छ । जुन कुल बजेट भन्दा ४९ करोड ९ लाख कम हो । एमाले संसदीय दलका उपनेता थापाले आर्थिक मामिलामन्त्री गुरुङलाई सोधे, ‘४९ करोड रुपैयाँको हिसाबै पुगेन । यसलाई हामीले कसरी लिने हो ?’

१ रुपैयाँ पनि हिसाबकिताब नमिले सरकारको गतिविधि अगाडि बढ्न नसक्ने थापाको भनाइ छ । आफूले पूर्वाग्रह नराखेको भन्दै थापाले हिसाबकिताबको जवाफ नदिई संसद चल्न नसक्ने प्रस्ताव संसदमा राखे ।

थापाको भनाइ राखेलगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटमा हिसाब नमिलेको बारे रुलिङ गर्न सभामुखसँग माग गरे । सभामुख धितालले सरकारको तयारीबारे सोधेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले १० मिनेटका लागि संसद स्थगित भएको बताएका थिए ।

त्यसपछि बसेको बैठकमा पनि एमालेले यही विषयमा सरकारको जवाफ मागेपछि बैठक अगाडि बढ्न सकेन र शुक्रबारसम्मका लागि बैठक स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?