+

चिनीले क्यान्सर हुन्छ ?

२०८१ असार  ९ गते १४:२० २०८१ असार ९ गते १४:२०
चिनीले क्यान्सर हुन्छ ?

काठमाडौं । चिनी धेरै खाएर क्यान्सर हुन्छ भन्ने खबर अहिले सामाजिक सञ्जालमा सुनिंदै आएको छ । विज्ञहरुले त खानामा जतिसक्दो चिनी नमिसाउन समेत सुझाव दिन्छन् ।

के वास्तवमै चिनीले क्यान्सर गराउँछ ? र, चिनीले क्यान्सरको कोष बढाउन मद्दत गर्छ त ?

पहिला चिनीबारे बुझौं ।

पोषणविद् प्रतिमा सेनका अनुसार चिनी विभिन्न किसिमका हुन्छन् । चिनीका प्रकारमा ग्लुकोज, ल्याक्टोज, सुक्रोज र फ्रक्टोज पर्छन् ।

डा. सेन भन्छिन्, ‘फलफूलमा ग्लुकोज र फ्रक्टोज बढी पाइन्छ । दूध, पनीर जस्ता डेरी उत्पादनमा ल्याक्टोज पाइन्छ । मह र फलहरूमा ग्लुकोज पाइन्छ र त्यो हानिकारक हुँदैन । तर प्रशोधित चिनी अर्थात् सुक्रोज हालिने खानेकुरा बढी खाँदा शरीरलाई हानि पुग्छ ।’

प्रतिमा केसी, पोषणविद्

चिनी र क्यान्सर

चिनीले मोटोपन बढाउँछ । र, मोटोपन मधुमेह जोखिम कारण हो । यसमा कुनै शंका छैन । किनकि चिनीको मात्रा शरीरमा बढ्दै गयो भने अनावश्यक बोसोको रुपमा शरीरमै रहन्छ । र, मोटोपन ल्याउँछ ।

तर यसले क्यान्सर गराउँछ वा कसरी क्यान्सर गराउँछ भन्ने सन्दर्भमा स्पष्ट निचोड विज्ञानले निकाल्न सकेको छैन ।

के भन्छ अध्ययन ?

गत वर्ष फ्रान्सका वैज्ञानिकहरूले गरेको एक अध्ययनले चिनीका कारण क्यान्सरको खतरा बढेको पाइएको बताएका छन् । अध्ययनका अनुसार हरेक दिन थप १०० मिलिलिटर त्यस्ता चिनीजन्य पदार्थ पिउने हो भने क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ ।

यो खबरले जनमानसमा तरंग नै उत्पन्न भएको थियो । सो अध्ययनमा मुसाको प्रयोग गरिएको थियो । तर मानिसमा परीक्षण भने भएको थिएन । यसको लागि थप अध्ययन गर्न बाँकी रहेको उनीहरुको तर्क छ । यस्तै केही अध्धयनले पनि कुनै स्पष्ट रुपमा पुष्टि भएको बताउन सकेका छैनन् ।

केही विज्ञको भने क्यान्सरँग चिनीको प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण नमिले पनि मोटोपनाले क्यान्सर गराउन सक्ने मत राख्छन् । शरीरमा हुने प्रत्येक कोष ब्लड सुगर (ग्लुकोज) को लागि प्रयोग हुन्छ । ग्लुकोजले नै शरीरमा ऊर्जा ल्याउँछ ।

तर क्यान्सर कोषिकाहरु सामान्य कोषिकाको तुलनामा लगभग २०० गुणा बढी ऊर्जाको उपयोग गर्छ । टयुमर पातलो, फराकिलो हुँदै बढ्छ, जसलाई बढाउन फोक्सोलाई बढी भन्दा बढी ग्लुकोजको आवश्यकता पर्छ । यसले के देखाउँछ भने ग्लुकोज क्यान्सर कोष बन्न पनि मद्दत गर्छ ।

अमेरिकन क्यान्सर सोसाइटी एण्ड नेसनल क्यान्सर इन्टिच्युटले पनि चिनीले क्यान्सर गराउँछ भन्ने बताएको छैन ।

बोसोमा हुने कोषिकाले इन्फ्लामेटरी प्रोटिन निष्कासन गर्छ, जसलाई एडीपोकिन्स भनिन्छ । यी तत्वले मानिसको डीएनएलाई क्षति गरी टयुमर गराउन सक्छ । जति बोसोमा हुने कोषिका थुप्रिन्छन्, उति ती घातक प्रोटिन शरीरमा रहन्छ । मोटोपनले स्तन क्यान्सर, कलेजो र आन्द्राको गरी १३ प्रकारको क्यान्सरको जोखिममा राख्छ ।

अमेरिकन क्यान्सर सोसाइटी एण्ड नेसनल क्यान्सरका अनुसार चिनीमा क्यान्सर गराउने कार्सिनोजेनिक तत्व हुँदैन । यद्यपि, अत्याधिक मात्रामा चिनीयुक्त खानेकुराले मोटोपन बढाई क्यान्सरको जोखिम बढाउँछ । तर क्यान्सरको कोष नै तीव्ररुपमा बढाएर क्यान्सर गराउँछ भन्ने कुराको कुनै प्रमाण छैन ।

चिनीले क्यान्सर गराउँछ भन्नु अफवाह

डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ

हामीले खाने चिनीले क्यान्सर गराउँछ भने कुरामा सत्यता छैन । यसबारे जति पनि अध्ययन तथा अनुसन्धान भएका छन्, तिनमा कुनै ठोस प्रमाण देखिएको छैन । बृहत अध्ययन पनि यसबारे भएको छैन ।

कतिपयले यस्तो अफवाहलाई पत्याएर गुलियो खानेकुरा नै चटक्कै छाडेको पनि देख्न सकिन्छ, जुन स्वास्थ्यको हिसाबले राम्रो मानिंदैन । हामीले खाएको जति पनि खानेकुरा छन् । त्यसबाट प्रोटिन, कार्बोहाइड्रेट र फ्याट बन्छ ।

डा. अरुण शाही

कहिलेकाहीं खानपिन राम्रोसँग भएन र लामो समयसम्म भोको भएपछि प्रोटिन र फ्याट पनि ग्लुकोजमा बदलिन्छ । यसको मतलब के हो भने ऊर्जाको लागि ग्लुकोज चाहिन्छ । तर अत्याधिक हुनु भनेको मोटोपन र मधुमेहलाई बढावा दिनु हो ।

मोटोपन नियन्त्रण भएन वा मधुमेह भएको १० देखि १५ वर्ष पुगिसकेको छ भने आमाशयको क्यान्सर हुनसक्छ । क्यान्सर हुनु भनेको कोषहरु अनियन्त्रित भएर विभाजन हुनु हो । यी विभाजित भएका कोषिका बढ्न पनि ग्लुकोज चाहिन्छ । जुन कार्बोहाइड्रेट र चिनीजन्य पदार्थबाट बढी प्राप्त हुन्छ ।

त्यसैले ग्लुकोज आधारभूत इन्धन हो, जसले हाम्रो प्रत्येक कोषिकालाई शक्ति दिन्छ । यदि हामीले धेरै ग्लुकोज भएका खानेकुरा खायौं वा पियौं भने सिधै रगतमा अवशोषित हुन्छ, जुन कोषिकाहरूले प्रयोग गर्नका लागि तयार हुन्छ ।

यसरी हेर्ने हो भने चिनीजन्य खानेकुराले सोझो असर गर्दैन तर मोटोपन र मधुमेह छ र नियन्त्रित छैन भने अत्याधिक मात्रामा प्रशोधित चिनीजन्य खानेकुरा खाइन्छ भने पक्कै पनि क्यान्सरको जोखिम रहन्छ ।

चिनी कसरी बन्छ ?

चिनी बन्न सर्वप्रथम उखु पाकेपछि त्यसलाई काट्नुपर्छ । त्यसपछि उखुलाई सानो टुक्रा बनाई काट्नुपर्छ । काटिसकेको उखुलाई सफा हुने गरी धोएर त्यसबाट रस निकाल्नुपर्छ । त्यसपछि चुना र सल्फरमा घोलेर सफा गरिन्छ । यसो गर्दा माटो र फोहोर निस्किन्छ । अनि विभिन्न चरणमा पकाएर चिनीको दाना बनाइन्छ ।

चिनी नखाए पनि हुन्छ ?

पोषणविद् प्रतिमा सेन केसीका अनुसार चिनी गुलियो स्वादका लागि खाइन्छ । ‘यो कार्बोहाइड्रेटको स्रोत हो । हामीले खाने अन्न जस्तो चामल, गहुँ पनि कार्बोहाइड्रेटको स्रोत हो, यी खानेकुरा खाँदा त्यो पनि सुगरमा नै परिणत हुन्छ । त्यसैले हाम्रो शरीरलाई चाहिने सुगर अन्य खानेकुराबाट पनि प्राप्त हुने भएकाले चिकित्सकहरूले अतिरिक्त चिनी नखाए पनि हुन्छ भनेका हुन्,’ उनी भन्छिन् ।

चिनीयुक्त खानेकुरा कति खाएमा बढी हुन्छ ?

अमेरिकन हार्ट एसोसिएसनका अनुसार एकजना पुरुषले प्रतिदिन ३६ ग्राम वा १५० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन । महिलाले भने २५ ग्राम वा १०० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन ।

चिनीको विकल्पमा के के खान सकिन्छ ?

कतिपयले चिनीको विकल्पको रूपमा मिस्री, सक्खरको प्रयोग गर्छन् । तर यो राम्रो विकल्प होइन, किनकि मिस्री र सक्खरमा पनि कार्बोहाइड्रेट तथा ग्लाइसेमिक इन्डेक्सको मात्रा उति नै हुने केसी बताउँछिन् ।

‘मिस्री र सक्खरलाई चिनीको विकल्पको रूपमा प्रयोग नगर्नु नै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘चिनीको विकल्पमा हामी प्राकृतिक चिनीलाई प्रयोग गर्न सक्छौं । जस्तो, फलफूल, छोकडा, किसमिस आदि प्राकृतिक चिनीका स्रोत हुन् ।’

क्यान्सर चिनी स्वास्थ्य समस्या
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय