+
+

‘इनोसेन्ट’ स्वभाव र कर्णप्रिय स्वरका संगम करण परियार 

डेलिभरी ब्वाइदेखि नेपाल आइडलसम्म

करणले चार महिनाको नेपाल आइडलको अवधिमा आफूलाई थप निखारेका छन् । निकै सिधा-सरल करणलाई यस्तै रुपमा रहिरहन उनलाई जज कालीप्रसाद आशीर्वाद मिश्रित आग्रह गरिरहन्छन् । भन्छन्, ‘सांगीतिक आकाशमा उचाइको उडान भर्नु, धेरै नमात्तिनु, नआत्तिनु । खराब मान्छेको संगत पर्नबाट जोगिनु ।’

खेम रिसाल खेम रिसाल
२०८१ असार ९ गते २०:२७

काठमाडौं । चार महिनाअघि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का लागि देशव्यापी अडिसन भइरहेको थियो । सातै प्रदेशका प्रमुख सहरमा अडिसन सकिएर संघीय राजधानीमा अडिसन हुँदैथ्यो ।

यस्तोमा एक २०-२२ वर्षीय युवक जजहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा सामुन्ने अडिसन दिन उपस्थित भए ।

सामान्य कपडा, गोडामा चप्पल, हातमा पञ्जा लगाएका दुब्लो पातलो कदका ती युवकले गाए- शिव परियारको स्वरमा रहेको फिल्म ‘ब्याच नम्बर १६’ को गीत ‘संगी’ । उनको गायकी यस्तो थियो कि जजहरु नै मन्त्रमुग्ध बने । स्पष्ट र सुरिलो आवाज, खोट लगाउने कतै ठाउँ थिएन ।

उनी थिए बर्दियाको बारबर्दिया नगरपालिकाका करण परियार ।

गीत सकिएपछि जज न्ह्यूले सोधे- ‘तिमी संगीत सिक्ने बाहेक के गर्छौ ?’

उनले भने- ‘काम गर्छु, कार्पेट फर्निसिङमा डेलिभरी ब्वाइको ।’

न्ह्यूले फेरि भने- ‘तिमी गिफ्टेड मान्छे हौ । यदि भगवान छन् भने तिमीलाई भगवानले नै संगीत हालेर पठाइदिएको हो ।’

जज इन्दिराले थपिन्- ‘रेडिमेड जस्तो टक्क मिलेको आवाज ।’

न्ह्यूले फेरि सोधे- ‘यस्तो राम्रो आवाज भएको मान्छेलाई कसैले गीत रेकर्डिङ गर्न बोलाएन ?’

करणले भने- ‘नाइँ’ ।

उनको निर्दोषपन यस्तो थियो कि जजहरुले भनेको कुराको सिधा र सरल जवाफ दिन्थे ।

न्ह्यूले ‘अब तिमीलाई सुनेपछि धेरैले गीत रेकर्डिङको अफर गर्नेछन्’ भने ।

उनको गायकी सुनेर जजहरुले एकपछि अर्को गीत सुनाउन लगाए । उनले निर्धक्क अन्य गीतहरु पनि गाएर सुनाए । जजहरुले सेलेक्ट भएको कार्ड दिन आफूहरुतिर उनलाई बोलाए । जज इन्दिराले भनिन्- अहिलेसम्म कहाँ लुकेर बसेका थियौ मेरो राजा ।’

अर्का जज कालीप्रसादले भने- ‘कार्ड दिनुअघि म तिमीलाई अँगालो हाल्छु ।’

तर उनले कार्ड मात्र होइन, गोल्डेन माइक नै पो पाए । गोल्डेन माइक पाउने प्रतिस्पर्धी सिधै अर्को राउन्डमा पुग्न पाउँथे ।

करणले अडिसनमा गाएको भिडियो प्रसारण भएसँगै यो सामाजिक सञ्जालमा भाइरल भयो । गायक शिव परियारले ‘करण भाइलाई देख्दा मेरै संघर्षको बेलाको याद आयो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे । अन्य थुप्रै कलाकार र संगीतप्रेमीहरु करणको प्रशंसा गर्दै भिडियो सेयर गरे ।

यसरी बर्दियाको एक ‘इनोसेन्ट’ युवक नेपाल आइडलमा आएसँगै रातारात चर्चित बने । धेरैले त्यतिबेलै भने- ‘नेपाल आइडल यिनैले जित्छन् होला ।’

नभन्दै शनिबार सम्पन्न नेपाल आइडल सिजन ५ को ग्रान्ड फिनालेमा अरु तीन जना फाइनलिस्ट सचिन विश्वकर्मा, मोहित भुजेल र सलोमी गुरुङलाई दर्शकको भोटको आधारमा पछि पार्दै उनी विजेता चुनिए । विजेता घोषित भएसँगै उनलाई बधाई दिनेहरुको लर्को छ ।

यस सिजनमा सलोमी फर्स्ट रनरअप, सचिन सेकेन्ड रनरअप र मोहित थर्ड रनरअप भए ।

संगीतले काठमाडौंसम्म डोर्‍यायो

करण सानैदेखि संगीतमा लगाव राख्थे । घरमा, गाउँमा, स्कुलमा गाउँथे । उनलाई पढाएकी स्कुलकी शिक्षिका सुनाउँछिन्, ‘हामीले कार्यक्रम सुरु गरेर करणलाई माइक दिएपछि विद्यार्थीहरुलाई बोलाइरहनै पर्दैनथ्यो ।’

यसले उनमा संगीतको तिर्खा, लगाव र मेहनत सानैदेखि थियो भन्ने देखाउँछ । सानैदेखि गायक बन्ने बाहेक अरु सपना नै उनले देखेनन् । ‘ममी-बाबाले मलाई सुनाउनुहुन्थ्यो, म सानैदेखि गाउँथे रे । बुझ्ने भएदेखि सिंगर बन्ने बाहेक अरु सोचेकै थिइनँ,’ करणले भनेका थिए ।

गाउँमा गीत त गाउँथे तर संगीतको कखरा सिक्ने ठाउँ नै कहाँ थियो र ? त्यसपछि हो उनी काठमाडौं आएको । काठमाडौं आएपछि उनको संघर्ष कम्ता मर्मस्पर्शी छैन ।

‘सुरुमा काठमाडौं आएपछि म्युजिक सिक्नलाई पैसा थिएन । कतैबाट एक हजार रुपैयाँ म्यानेज गरेर, सरसँग रिक्वेस्ट गरेर सिक्न थालें,’ उनी सुनाउँछन् ।

उनी निराश भएनन् गाउँबाट जे सोच बोकेर आएका थिए, त्यो पूरा हुने बाटोतिरै थियो ।

काठमाडौं गएपछि गिटार किन्ने उनले सोचेका थिए । तर उनीसँग पैसा थिएन ।

कार्पेट डेलिभरी ब्वाइको काम गरेर महिना-महिना गरेर केही पैसा जोगाएका थिए उनले । अनि दुई हजार जति जम्मा भएपछि केही पैसा जोरजाम गरी थपेर गिटार किने ।

काठमाडौं आउँदा उनको कोही थिएन । काम पाउन पनि गाह्रो थियो । करणसँग केही समय त बुवा पनि बसे । त्यसबेला केही समस्या भएन । जब बुवा गाउँ फर्किए, करणलाई खाने, बस्ने समस्या भयो । त्यसबेला उनलाई भरथेग, साथ-सहयोग दिने साथी थिए रोहित । रोहितले आफ्नै घरमा लगेर उनलाई राखे । तीन दिन उनी रोहितको घरमा गएर बसे । आफ्नो साथीको प्रशंसामा करण भन्छन्, ‘साथी होस् त यस्तो ।’

नेपाल आइडलको फिनाले प्रत्यक्ष हेर्न आएका रोहित आफ्नो साथी करण विजेता बन्दा औधी खुसी देखिन्थे ।

करणको सांगीतिक आइडल हुन् शिव परियार । उनले नेपाल आइडलमा शिवका केही गीत गाए । अनि शिवसँगै ‘संगी’ गाउने अवसर पनि पाए । त्यसबेला उनले भनेका थिए- ‘मेरो सपना पूरा भयो ।’

नेपाल आइडलमा उम्दा प्रस्तुति

नेपाल आइडलमा सिजन ५ मा करणले एकपछि अर्को उम्दा प्रस्तुति दिए । उनले कहिले ‘संगी’ गाए त कहिले ‘फूलको थुंगा हौ कि’ । अनि कहिले ‘के लत बस्यो’ जस्तो गजल त कहिले नारायण गोपालको कालजयी गीत ‘अल्झेछ क्यारे पछ्यौरी ।’

सबै खालका गीतमा उनले जबर्जस्त प्रस्तुति दिंदै जज र संगीतप्रेमी श्रोताको मन जिते । नेपाल आइडलमा आउने धेरै अतिथिहरुले भन्थे- ‘वाह, कस्तो मीठो गाएको । तपाईं धेरै माथि पुग्नुहुन्छ करण ।’

करणले चार महिनाको नेपाल आइडलको अवधिमा आफूलाई थप निखारेका छन् । निकै सिधा-सरल करणलाई यस्तै रुपमा रहिरहन उनलाई जज कालीप्रसाद आशीर्वाद मिश्रित आग्रह गरिरहन्छन् । भन्छन्, ‘सांगीतिक आकाशमा उचाइको उडान भर्नु, धेरै नमात्तिनु, नआत्तिनु । खराब मान्छेको संगत पर्नबाट जोगिनु ।’

करणले नेपाल आइडलको उपाधि त जिते । तर सांगीतिक आकाशमा सफलताको उडान भर्न आफ्नै गीतको दरिलो साथ चाहिन्छ, ती गीत श्रोता-दर्शकले रुचाउनुपर्छ । करणको संगीत यात्राले बाटो पहिल्याउन थालिसकेको पनि छ ।

हालै उनले नेपाल आइडलका जज तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीतमा एक गीत रेकर्ड समेत गरिसकेका छन् । अनि करणको ‘युनिक’ आवाजमा गीत रेकर्ड गराउन चाहने संगीतकारहरु पनि धेरै होलान् ।

गायक शिव परियार करणको निर्दोषपन तथा संगीतप्रति मोह, लगाव र दृढनिश्चयले उनलाई धेरै माथि पुर्‍याउने बताउँछन् । ‘करण बाहिरबाट हेर्दा जति निर्दोष देखिन्छ । भित्रबाट पनि उसलाई परिस्थितिहरुले जीवन बाँच्ने सवालमा धेरै कुरा सिकाएको महसुस हुन्छ । उसको बोलीमा, स्टाटसमा त्यो देखिन्छ,’ शिव भन्छन्, ‘भविष्यमा म के हुँ, म को हुँ, म कहाँबाट आएको हुँ, मेरो बाटो के हो भन्ने कुरा करणले आत्ममन गरेको जस्तो लाग्छ । यी कुरालाई जीवनमा मनन् गरेर बढ्छन् भन्ने कुरामा म विश्वस्त छु । उनको सांगीतिक भविष्य म उज्ज्वल देख्छु ।’

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?