+
+
अर्थोपार्जन :

पात र बोक्राले पैसा फलाउने बिरुवा : तेजपात

डा. मित्र पाठक डा. मित्र पाठक
२०८१ असार १० गते १०:०७

केटाकेटी हुँदाको याद आउँछ, धेरै बिरुवाका पातका पैसा बनाएर खेलेको। आहा ! त्यतिबेला सबै कुरा आउँथ्यो हरेक रूखका पातका पैसाले। अहिले जमाना बदलियो, पैसा खोज्न देशभित्र दौडेर मात्रै हुँदैन। कतै पहिचान गुमाएर त कतै पहिचान लुकाएर संसारभर भौंतारिनुपर्छ। यसको लागि कतै बाध्यताले काम गरिराखेको छ भने कति असीमित रहर, देखासिकी र उच्च महत्वाकांक्षाले पनि।

अर्कोतर्फ मुख्य कुरा त देश बनाउँछु भन्नेहरूको भिजन नहुँदाको परिणाम हो यो भन्न कत्ति अप्ठ्यारो मान्नै पर्दैन। त्यसैले त आफैं साहस बटुलेर संघर्ष गरिरहेका बाहेक वर्तमान युवा पुस्ताले कसै गरे पनि आफ्नो भविष्य देखिरहेको छैन यो देशमा। यद्यपि यो सोच बदल्न र बुझाउन धेरै ढिला भइसकेको छ।

हामी कमैलाई थाहा छ, हाम्रै घर छेउछाउमा उम्रेर हुर्किने केही बहुउपयोगी त्यस्ता बिरुवा छन् जसका पात, फल, बोक्रा या जरा बेचेरै पनि लाखौं करोडौं कमाउन सकिन्छ र मिहिनेती केही किसानहरूले कमाइराखेका पनि छन्। रूखमा पैसा फल्छ र ? भन्नेहरूलाई जवाफ बनेका छन् ती रूखहरू। आज यहाँ यस्तै एक बिरुवा तेजपात बारे चर्चा गर्नेछु।

परिचय

लौरेसी वानस्पतिक परिवारमा पर्ने, वैज्ञानिक भाषामा सिनामम्मम् टमला भनिने तथा तेजपत्ता, तजी, सिन्कौली आदि स्थानीय नामले पनि चिनिन्छ। यो सानो तथा मझौला प्रकारको सदाबहार रूख हो। नेपालमा रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भन्ने गरिन्छ भने वैज्ञानिक हिसाबले (विशेषत: भारतमा) दालचिनी भनेको फरक प्रजाति, सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो भन्ने मान्यता छ।

महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट ५०० मि. देखि २५०० मी. उचाइको क्षेत्रमा यदाकदा तेजपातको जंगल विद्यमान छ भने नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म ५०० देखि २२०० मिटरसम्म तेजपातको खेती गरेको पाइन्छ।

उपयोग                                               

तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ, यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। औषधिको रूपमा पनि प्रयोग हुन्छ। छाला सम्बन्धी रोग र कपालका लागि पनि उपयोगी हुन्छ। झिंगा र साङ्ला हटाउन पनि प्रयोग हुन्छ। आयुर्वेदिक महत्वको हिसाबले यसलाई वाक्‌वाकी, वमन, उत्तेजना, पौष्टिक तथा सुगन्धित तेलको रूपमा प्रयोग गर्न सकिने आयुर्वेद ग्रन्थहरूमा उल्लेख छ। अल्सर र कलेजो सम्बन्धी रोगमा पनि तेजपात उपयोगी पाइएको छ। यसको तेल दाँतदुखाइमा पनि प्रयोग गरिन्छ।

धेरै पसल र होटलहरूमा तेजपात र दालचिनीको प्रयोग चिया र मासुमा गरिएको हुन्छ। केही अनुसन्धानले तेजपातको धेरै सेवनले रगतमा चिनीको मात्रा घटाउने उल्लेख गरेका छन्। तसर्थ ठूला शल्यक्रिया गर्ने तयारी गरेका तथा गरिसकेका बिरामीलाई धेरै नखान सुझाइएको पाइएको छ।

खेती तथा बजार मूल्य

नेपाल सरकारको जल, जमीन, जङ्गल, जडीबुटी, जनशक्ति गरी पाँचवटा ‘ज’ मार्फत देशलाई समृद्ध बनाउने नीति पुरानो हैन। त्यही अनुरूप वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले ३३ प्रकारका जडीबुटीहरूलाई नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीमा सूचीकृत गरेको छ। तीमध्येमा तेजपात पनि रहेको हुँदा यो प्रजातिको व्यावसायिक महत्व दिनानुदिन अरु बढेको छ।

तराईतिर २००–३०० मिटरको उचाइमै तेजपात हुर्किएको देखिए पनि त्यसमा हुने गुणस्तर भने कमसल हुन सक्छ। त्यसैले पनि यसको व्यावसायिक खेती हुने उपयुक्त जमिन भनेको सामुद्रिक सतहबाट ५००-६०० मिटर भन्दा माथि नै हो। नेपालमा पनि ६००–७०० मिटरदेखि २०००–२५०० मिटरसम्म पूर्वदेखि पश्चिमसम्मै तेजपातको खेती भएको पाइन्छ।

राष्ट्रिय वन, सामुदायिक वन र कबुलियती वनको अलावा निजी वन, घर छेउछाउका बारी, खरबारी, खोला छेउका फालिएका जग्गा, मिचाहा वनस्पतिले छोपेका ठाउँ सबै तेजपात खेतीका लागि उपयोगी जग्गा हुन्।

प्राकृतिक रूपमा खोल्सा खोल्सी र ओसिलो सेपिलो ठाउँ यसले बढी मन पारेको देखिन्छ भने खेतीका लागि उचाइ मिल्ने सबै ठाउँ प्रयोग गर्न सकिन्छ। उत्तरी र पश्चिमी मोहडाका चिसो वा छहारी परेका भागहरूमा (कालो वा बलौटे माटोमा) यो वनस्पति राम्ररी फस्टाएको पाइन्छ।

बिरुवा रोपेको चार–पाँच वर्षबाट आम्दानी लिन सकिन्छ भने राम्रो आम्दानी भने आठ–दश वर्षपछि मात्रै हुन्छ। वर्षमा एक पटक (असोजदेखि चैतसम्म) रूखको हाँगाहरू भाँचेर या काटेर पात बेच्ने गरिन्छ। सुकेको पातको मूल्य तीस पैंतीस रुपैयाँ प्रति केजीदेखि पैंतालीस रुपैयाँसम्म छ भने बोक्राको मूल्य १०० देखि १२० प्रति केजीसम्म पर्छ।

१०–१५ वर्षसम्म बढेका प्रत्येक बिरुवाबाट ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुने अनुमान गरिन्छ। मुख्य रूपमा तेजपात र दालचिनीको व्यवसाय भारतीय बजारमा निर्भर रहेको हुँदा कहिलेकाहीं मूल्यमा तल–माथि भने हुन सक्दछ। पातको प्रति केजी राजस्व तीन रुपैयाँ र बोक्राको २८ रुपैयाँसम्म भएको व्यापारीको भनाइ छ।

हाल तेजपातको बजार राम्रो भएकाले अधिकांश व्यवसायीले अलि धेरै बुटा भएका किसानका घरघरमा पुगेर नै पात तथा बोक्रा लिने गरेका छन्। ढुवानी कटाएर बजार मूल्यमै व्यापारीले घरमै खरिद गरेपछि अन्य बाली लगाउँदै आएका किसान समेत यसमा आकर्षित हुन थालेका छन्। वर्षभरि काम गर्दा पनि धान खेतीबाट खान–लाउन नपुगेपछि विभिन्न क्षेत्रका अधिकांश किसान व्यावसायिक रूपमा तेजपात खेतीमा व्यस्त हुन थालेका छन्।

हाल नेपालमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा लगायत देशका विभिन्न जिल्लामा यसको व्यावसायिक खेती प्रवर्धनमा जोड दिएको पाइन्छ। पाल्पामा त धेरै गाउँपालिकामा तेजपातको पकेट क्षेत्र घोषणा गरिएको छ भने बेला–बेला तेजपात विशेष मिनी महोत्सव पनि हुने गरेका छन्। उता वार्षिक ५०० मेट्रिक टन बढी उत्पादन हुने उदयपुरको तेजपात काठमाडौं, विराटनगर र भारतका विभिन्न क्षेत्रमा बिक्री हुने गरेको त्यहाँका किसानको भनाइ छ। तर, भौगोलिक विकटता र ढुवानी अभावले बजारसम्म पुर्‍याउन नसक्दा कतिपय तेजपात सडेर खेर जाने गरेको विकट ठाउँका किसानको गुनासो पनि छ।

समस्या र सम्भावना

बोक्रा निकाल्नको लागि बोट नै काटेर निकाल्ने प्रचलन रहेकोले प्रत्येक वर्ष बोक्रा निकाल्ने बोटहरू यकिन गरी वर्षेनि आम्दानी लिने गरी व्यवस्थापन गर्न सकिन्छ। दुईचार वर्षमा फेरि पलाउने गरेर दिगो रूपमा रूखको बोक्रा झिक्न सिक्नु जरूरी छ।

पात तथा बोक्रालाई सुकाउने, प्याकेजिङ गर्ने जस्ता कुराहरूमा विशेष ध्यान दिनुपर्दछ। अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय तेजपात र दालचिनी बजारमा पठाउन सकियो भने हाम्रो खेती, व्यवसाय र हाम्रो बजार सुनिश्चित र दिगो बन्न जान्छ। यसतर्फ उत्पादक र संकलकहरूको ध्यान जानु जरुरी देखिन्छ। स्वदेशभित्र यसको बजार प्रवर्धन गर्नको लागि तीनै तहका सरकारी तवरबाट पनि सम्भावनाहरू खोजिनुपर्दछ।

नेपालमा तेजपात लगायत जडीबुटी पर्यटनको प्रचुर सम्भावना छ। तेजपातका बगानमा रमाउने, हेर्ने, घुम्ने अध्ययन गर्ने र पर्यटकहरूलाई स्थानीय होमस्टेमा तेजपातकै माला लगाई आतिथ्यता प्रदान गर्न सकियो भने स्थानीयस्तरमा अर्थोपार्जन हुन्छ। इलाम जिल्ला जसरी चिया पर्यटनमा केन्द्रित छ, सल्यानमा टिमुर र सुन्तला छ, जुम्ला स्याउका लागि छ, त्यस्तै विभिन्न जिल्ला तेजपात पर्यटनको केन्द्र बन्न सक्दछन्।

पर्यटकहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छन्। त्यसैले तेजपात र दालचिनीलाई आकर्षक रूपमा प्याकेजिङ गरी कोसेलीको रूपमा उत्पादन गर्न सकिन्छ, ठाउँ–ठाउँमा कोसेली घर खोल्न सकिन्छ। स्थानीयस्तरमै गुणस्तरीय मसला बनाई नजिकको बजारलाई केन्द्रित गरेर देशभर पनि खपत गर्न सकिन्छ। सदावहार बिरुवाका पातको माला तथा ब्याच बनाई मौलिक पहिचान दिन सकिन्छ।

खेती प्रविधि सम्बन्धी तालिम, प्राविधिक सल्लाह र बिरुवाका लागि समेत वनस्पति विभाग, डिभिजन वन तथा सो अन्तर्गतका कार्यालयहरूमा सम्पर्क गर्न सकिन्छ ।

लेखकको बारेमा
डा. मित्र पाठक

डा. पाठक वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?