+
+

टिभी कार्यक्रम ‘इट्स माइ शो’मा व्यक्तिगत विषय उठाइएको भन्दै जसिता गुरुङको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:०८

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी हुन् । उनको पहिलो एपिसोड नै विवादमा परेको छ ।

ओसिनले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो ।

उक्त कार्यक्रममा एउटा सेग्मेन्ट अन्तर्गत खेल खेलाउने भन्दै होस्ट ओसिनले अभिनेत्रीद्वयलाई विभिन्न प्रशन सोध्छिन् । जसमा अभिनेत्री जसिताका प्रेमीहरुको बारेमा समेत प्रश्न सोध्छिन्, स्वस्तिमा र साम्राज्ञीले उनका प्रेमीहरुको नामै खुलाउँछिन् ।

यससँगै अभिनेत्री जसिता गुरुङले राष्ट्रिय टेलिभिजन कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् ।

इन्स्टाग्राममा पोस्ट गर्दै उनले यो अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाबाट आफूलाई गहिरो दु:ख लागेको बताएकी छन् । ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौं ? उनीहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि नै मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ? ‘

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नुभएको ? भनेर प्रश्न समेत गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन ? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको हो ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’

जसिताको यो पोस्टमा धेरैले कमेन्ट गर्दै आफूहरुको उनको पक्षमा रहेको जनाएका छन् । अभिनेता अनमोल केसीले कमेन्टमा उल्लेख गरेका छन्, ‘म आदरणीय नारीहरुलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नुहोस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

गायिका त्रिशला गुरुङ, मोडल तथा नृत्य कलाकार कविता नेपालीले पनि आफू जसिताको साथमा रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?