+
+

देशभरी नै मनसुन सक्रिय, जनजीवन प्रभावित हुनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ७:२२

१२ असार, काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ ।

त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद सञ्जिव अधिकारीका अनुसार काठमाडौंमा आज दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ ।

उनले अनलाइनखबरसँग भने, ‘देशभरी नै वर्षा गराउने बादल ठाउँ–ठाउँमा विकास भएको छ, मनसुन एक्टिभ भएको जस्तो देखिन्छ ।’ उनले यो प्रणालीलाई नियालिरहेको र विशेष बुलेटिन जारी गरेरै थप जानकारी गराउने बताए ।

वर्षा गराउने बादल गाढा रातो रंगमा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?