+

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

२०८१ असार  १२ गते १३:४० २०८१ असार १२ गते १३:४०
हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

कुनै पनि काम छिटो सक्नु वा समयमै गर्नु राम्रो बानी हो । तर विना कारण सधैं काम छिटो सक्न हतार गर्ने र आत्तिने स्वभाव छ भने त्यो समस्या बन्न सक्छ । विना कारण जति खेरै हतारमा रहने यो समस्यालाई मनोविज्ञानले ‘हरि सिकनेस’ नाम दिएको छ ।

के हो  ‘हरी सिकनेस’ ?

यो समस्याबाट पीडित व्यक्तिलाई सधैं एक किसिमको उत्तेजना र चिन्ता महसुस हुन्छ । उनीहरूमा धैर्य कम हुन्छ । छिटो काम गर्ने र छिटो नतिजा उनीहरू चाहन्छन् ।

उनीहरूमा काम गर्न हतार मात्र हुँदैन,  ढिलो हुन्छ कि वा हुनसक्छ भन्ने एक किसिमको चिन्ता र भय पनि हुन्छ।

उनीहरू कतै जान र पुग्न पनि हतारमै हुन्छन् । जतिखेरै विना कारण हतारोले दिमागलाई सताइरहन्छ भने यो समस्यालाई ‘हरी सिकनेस’ भनिन्छ ।

यही हतासले गर्दा उसले दिनुपर्ने समयमा केहीमा दिन सक्दैन । त्यस्तो व्यक्तिले काममा पनि दिनुपर्ने जति ध्यान केन्द्रित गर्न कठिन हुनसक्छ ।

अमेरिकी मनोवैज्ञानिक मेयर फ्राइडम्यान र रे एच रोजेनम्यानले सन् १९८५ मा ‘टाइप ए बिहेभियर एन्ड योर हार्ट’ नामक पुस्तक लेखेका थिए। त्यो पुस्तकमा पहिलो पटक ‘हरी सिकनेस’ शब्दको प्रयोग गरिएको थियो ।

फ्राइडम्यान र रोजेनम्यानले लेखेकका अनुसार हरि सिक्नेस एउटा स्वास्थ्य अवस्था होइन । यो कुनै गम्भीर मानसिक समस्या पनि होइन । तर यो समस्या अन्य धेरै स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

प्राय: यो समस्या टाइप ए व्यक्तित्व भएको व्यक्ति सिकार हुन्छन् । टाइप ए व्यक्तित्व भनेको जो व्यक्ति अत्याधिक महत्त्वाकांक्षी  र बढी प्रतिस्पर्धात्मक हुन्छन् । उनीहरूमा कुनै पनि चीज अत्याधिक पाउने लालसा हुन्छ । उनीहरू जे कुरा पनि उत्कृष्ट खोज्ने र चाहने हुन्छन् । यही चक्करमा उनीहरू मध्ये धेरैको जीवन हतासपूर्ण हुन्छ ।

फ्राइडम्यान र रोजेनम्यानले ‘टाइप ए’ व्यक्तित्व भएका अधिकांशमा ‘हरी सिकनेस’को समस्या हुने र कालान्तरमा उनीहरूको मुटुमा नकारात्मक असर पर्ने पत्ता लगाएका थिए ।

कस्ता व्यक्तिमा यो समस्या देखिन सक्छ ?

‘हरी सिकनेस’ को जरा हाम्रो पालनपोषण र बाल्यकालको वातावरणमा निहित छ। यदि हामी शान्त वातावरणमा हुर्कियौं भने हाम्रो मन, मस्तिष्क र स्नायु प्रणाली धेरै हदसम्म शान्त रहन्छ। तर तनावपूर्ण वातावरण छ भने यो समस्याले जरा गाड्न सक्छ ।

त्यस्तै, आफूले जति काम गरे पनि सन्तुष्ट नहुने र आफू पछाडि परेको भान हुने र दिमागमा मनगढन्ते विचार चलिरहने र त्यस्ता विचारलाई नियन्त्रण गर्न नसकी यो समस्या व्यवहारमा देखिन सक्छ । यो हतासले नै पछि तनाव र एन्जाइटी हुनसक्छ ।

छरछिमेक, कार्यालय, साथीभाइको उपलब्धि र आफूलाई तुलना गर्ने, सामाजिक सञ्जालमा अरूको प्रगतिबारे हालिएका पोस्टहरु पटक-पटक हेर्ने र आफूले केही नगरेको अनुभव हुने, सानोतिनो कुरामा पनि सधैं चिन्ता गर्ने, आत्तिने, धैर्य गर्न नसक्ने, सधैं तनावमा हुने, आत्मबल कमजोर भएका र एडीएचडीको समस्या भएका व्यक्तिमा पनि यो समस्या हुनसक्छ ।

अर्को भनेको ‘टाइप ए’ व्यक्तित्व भएकाहरुमा पनि यो समस्या हुनसक्छ ।

यसो भन्दैमा कुनै व्यक्ति कहिलेकाहीं कुनै खास परिस्थितिमा हतार गर्छ भने हरी सिकनेस भएको भन्न मिल्दैन । आफूमा कतिको हतार गर्ने बानी छ भन्ने जान्नका लागि यसको लक्षण बुझ्न आवश्यक छ ।

लक्षण

– खानेकुरा छिटो छिटो खाने बानी हुन्छ ।

—जहिले हतार हुने, जसको कुनै कारण हुँदैन ।

—कुनै समारोहमा एकै ठाउँमा बसिरहन नसक्ने वा अरूले बोल्दा बोल्दै छिटो बोल्ने।

—शान्त र आरामसँग बस्न गाह्रो हुनु, खाली समयमा पनि आरामले बस्न नसक्नु ।

—पटक-पटक समय हेर्नु र कामको समय सीमा सम्झेर तर्सिनु ।

—छिटो बोल्ने र शब्द कहिलेकाहीं मुखमै रहन्छ ।

—तनाव, कहिले अत्यधिक खुसी र प्राय चिन्तित रहनु ।

—फोनमा कुरा गर्दा छिटो छिटो र अस्पष्ट बोल्नु ।

—एकै पटक धेरै काममा हात हाल्ने तर समयमा पुरा गर्न नसक्ने भय रहने ।

—विना कारणको यी कुराले टाउको र शरीर दुखेको जस्तो हुने ।

स्वास्थ्यलाई असर पार्छ ?

हतासमा रहिरहने व्यक्तिलाई उच्च रक्तचापको समस्याले सताउन सक्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनले हरी सिकनेस भएका ‘टाइप ए’ व्यक्तित्व भएका व्यक्तिमा उच्च रक्तचाप हुने जोखिम अन्य व्यक्तित्व प्रकारको तुलनामा १७ प्रतिशत बढी हुने देखाएको थियो ।

आराम गर्ने समयमा पनि मुटुको धड्कन र रक्तचाप सामान्यभन्दा बढी हुनसक्छ । लामो समयसम्म लगातार उच्च रक्तचाप र मुटुको धड्कन बढ्नु भनेको मुटुमा चाप बढ्नु र उच्च रक्तचाप हुनसक्छ ।

‘हरी सिकनेस’ भएका व्यक्तिको स्नायु प्रणालीमा सधैं कुनै न कुनै दबाबमा रहन्छ। उनीहरूमा तनावको हर्मोन कोट्रिसोलको उत्पादनमा वृद्धि गर्छ । जसले दीर्घकालीन स्वास्थ्य समस्या गराउन सक्छ, जस्तै- डिप्रेसन ।

अप्रत्यक्षरुपमा हतार गर्ने बानीले साथीभाइसँगको सम्बन्ध र निकटको सम्बन्धमा पनि दरार आउँछ । हतासको बानीले व्यक्तिको दिमागलाई अति उत्तेजित, अत्याधिक मानसिकरुपमा थकान, चिडचिडापन र आराम गर्न नसक्ने समस्या भइरहन्छ ।

कसरी सामना गर्ने ?

कारण जुनसुकै भएपनि मनोविज्ञान भन्छ, ती कारण पहिचान गरी समाधान खोज्ने आफ्नै हातमा हुन्छ। केही अभ्यास र स्वस्थ जीवनशैलीले धेरै हदसम्म यो समस्याको व्यवस्थापन हुनसक्छ ।

—हरेक बिहान १५ मिनेट ध्यान गर्ने तथा श्वासप्रश्वासको व्यायाम गर्ने बानी बसाल्नुहोस्। यसले धैर्यवान् हुन सिकाउँछ ।

—कसैसँग भलाकुसारी भइरहेको छ भने पहिला कुरा सुन्ने प्रयास गर्नुहोस्। बिस्तारै आफ्नो भनाइ राख्ने प्रयास गर्नुपर्छ । पहिला गाह्रो भए पनि बिस्तारै अभ्यस्त हुँदै गइन्छ ।
— आफूले दैनिक गर्नु पर्ने कामको सूची बनाउने र सो कामको लागि समय निर्धारण गर्ने ।

—कनै काम गर्नु वा बोल्नु अगाडि ५ देखि १० पटक गहिरो लामो श्वास लिने छोड्ने गर्ने क्रिया गर्न सकिन्छ ।

— कुनै काम गर्नु अगाडि गहिरिएर सोच्नुहोस् ।

— पजल वा दिमाग खियाउनुपर्ने वा धैर्य गर्नुपर्ने खेलहरू खेल्न सकिन्छ । यसले धैर्यता ल्याउँछ ।

— शारीरिक अवस्था , हाउभाउ , आफ्नो क्रियाकलापको बारेमा सजग रहने भई आफूलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुहोस् ।

—’माइन्डफुलनेस’को अभ्यासले आफूलाई नियन्त्रणमा राख्न र बुझ्न सहयोग गर्छ ।
—यति गर्दा पनि हतासको व्यवहार परिवर्तन गर्न नसकेको अनुभव हुन्छ भने मनोचिकित्सक वा मनोविद्को परामर्श लिन सकिन्छ ।

(ढकाल मनोविद् हुन् ।)

टाइप ए व्यक्तित्व मनोविद् गोपाल ढकाल हरी सिकनेस
लेखक
गोपाल ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय