+

एस्पिरिन : दुखाइदेखि हृदयघातको रोकथामसम्मको औषधि

२०८१ असार  १६ गते १३:५० २०८१ असार १६ गते १३:५०
एस्पिरिन : दुखाइदेखि हृदयघातको रोकथामसम्मको औषधि

एस्प्रिन यस्तो औषधि हो, जसले एउटा मात्र होइन धेरै स्वास्थ्य समस्या कम गर्न मद्दत गर्छ । जुन सामान्य शरीर दुखाइ, टाउको दुखाइ, कुनै अंगमा चोटपटक लागेर सुन्निएको अवस्था र उच्च तापक्रम (ज्वरो) घटाउन प्रयोग गरिन्छ ।

त्यति मात्र नभई यो औषधिमा रगतलाई पातलो बनाउने खुबी हुन्छ । जसकारण रगत जमेर हुन लागेको हृदयघात र पक्षघातमा समेत चाँडोभन्दा चाँडो यो औषधि दिए बचाउन सकिन्छ । यो एन्टी इनफ्लामेटरी औषधिको समूहअन्तर्गत पर्छ ।

औषधिको इतिहास

हजारौं वर्षअघि ग्रीक र इजिप्टका नागरिकहरुले शरीरको कुनै भागमा दुखाइ हुने र ज्वरो आउने समस्यामा वीलो वनस्पतिको बोक्रा प्रयोग गर्थे । त्यसले निको पनि हुन्थ्यो ।

विस्तारै पछि विज्ञहरुले ती बिरुवाको बोक्रामा के त्यस्तो गुण छ भनेर खोज गरे । जसमा स्यालिकिन तत्व रहेको पत्ता लाग्यो । १९औं शताब्दीमा रसायनशास्त्रीहरूले सेलिसिलिक एसिडलाई छुट्टै राखेर औषधिमा रुपान्तरण गर्न सक्षम भए । यद्यपि, सेलिसिलिक एसिडले बिरामीमा पेट पोल्ने र अन्य साइड-इफेक्ट बढी देखायो ।

सन् १८९७ मा औषधि कम्पनी बायरका जर्मन रसायनविज्ञ फेलिक्स होफम्यानले रासायनिक रूपमा सेलिसिलिक एसिडको साइड-इफेक्ट कम हुनेगरी थप प्रभावकारी बनाउन परिमार्जन गर्ने तरिका पत्ता लगाए ।

त्यसका लागि सेलिसिलिकमा एसिटाइल एसिड थपे । सो परिमार्जित औषधिलाई सन् १८९९ मा ‘एस्पिरिन’ नाम दिइयो ।

कुनकुन अवस्थामा प्रयोग हुन्छ ?

दुखाइ : एस्पिरिन एक ‘नन्-स्टेरोइडल एन्टिइन्फ्लेमेटरी ड्रग’ हो । यसको मुख्य काममध्ये दुखाइ र सुन्निएको भाग कम गर्नु हो । प्रायः टाउको दुखाइ, दाँतको दुखाइ, मांसपेशी दुखाइ, बाथले जोर्नी दुखाइ र महिनावारी पीडा कम गर्न प्रयोग गरिन्छ ।

ज्वरो घटाउन : भाइरल ज्वरो, भ्याक्सिनपछि ज्वरो र ब्याक्टेरियल ज्वरो, सबै प्रकारको ज्वरोमा यो औषधिको प्रयोगले निको हुनसक्छ ।

मुटु : कम मात्रा (डोज) भएको एस्प्रिन प्रायः हृदयघात र हृदयघातको जोखिममा भएका व्यक्तिलाई सिफारिस गरिन्छ ।

रगत जम्नबाट जोगाउन : हृदयघात, स्ट्रोक वा केही मुटुको अवस्था भएका व्यक्तिमा रगत जम्नबाट जोगाउन कहिलेकाहीं एस्पिरिन प्रयोग गरिन्छ ।

एन्टिइन्फ्लेमेटरी प्रभाव : एस्पिरिनले रुमेटोइड बाथ र ओस्टियोआर्थराइटिस जस्ता अवस्थामा सुन्निएको कम गर्न मद्दत गर्छ ।

केही प्रकारको क्यान्सरमा प्रभावकारी : एस्पिरिनको लामो समयसम्म प्रयोगले कोलोन क्यान्सर जस्ता निश्चित प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न केही अध्ययनले देखाएका छन् ।

शरीरमा औषधिले कसरी काम गर्छ ?

एस्प्रिनले इन्जाइम साइक्लोअक्सिजेनेज (सीओएक्स) लाई रोक्न मद्दत गर्छ, जसले प्रोस्टाग्ल्यान्डिन हर्मोनको उत्पादनलाई बढावा दिन्छ । यो हर्मोनका कारण शरीरका कुनै पनि अंग सुन्निने, दुख्ने र ज्वरो आउने हुन्छ । इन्जाइम साइक्लोअक्सिजेनजको गतिविधि अवरुद्ध गरेर एस्पिरिनले प्रोस्टाग्ल्यान्डिनको उत्पादनलाई कम गर्छ ।

एस्पिरिनले थ्रोम्बोक्सेनको उत्पादन घटाएर रगत जम्न पनि रोक्न सक्छ ।

हृदयघात र मस्तिष्कघातको रोकथाम

मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल भएका व्यक्तिलाई कुनै पनि बेला हृदयघात र मस्तिष्कघात हुनसक्ने जोखिम हुन्छ । यी कुरा अनियन्त्रि भएका ५० वर्षमाथिका व्यक्तिमा यसको सम्भावना उच्च हुन्छ ।

यस्तोमा हृदयघातको लक्षण देखिनेबित्तिकै यो औषधि दिइएमा हृदयघात हुँदा रगत जमेर रक्तसञ्चार धमनीहरूमा पार्ने अवरोध कम हुन्छ र रगत जमेर पक्षघात हुन पाउँदैन । किनकि यसमा रगत पातलो गराउने क्षमता हुन्छ ।

त्यसैले मधुमेह र रक्तचाप छ भने यो औषधि घरमा र आफ्नो साथमा अनिवार्य राख्नुपर्छ । लक्षण देखिनेबित्तिकै औषधि खाएमा केही हदसम्म यसको जोखिम कम गर्न सकिन्छ ।

यद्यपि, अन्य अवस्थामा एस्पिरिन सबैका लागि सिफारिस गरिएको हुँदैन । स्वास्थ्य सेवा प्रदायकको निर्देशनमा मात्र लिनुपर्छ, किनकि यसको साइड-इफेक्ट पनि धेरै छन् ।

कसले कुन अवस्थामा लिनु हुँदैन ?

– अल्सर भएको अवस्थामा

– ग्यास्ट्रोइन्टेस्टाइनल रक्तस्राव भएको इतिहास

– कलेजोमा समस्या

– तेस्रो त्रैमासिकमा रहेको गर्भावस्था

– दम

के यो औषधि मनलाग्दी खान सकिन्छ ?

यो चिकित्सकको सल्लाहमा लिनै नसकिने भन्ने होइन । तर दैनिकरुपमा भने (दुखाइ र ज्वरोको लागि) नलिनु नै उपयुक्त हुन्छ । किनकि यो भन्दा अरु सुरक्षित औषधिहरु छन् । खानैपर्ने भए चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

एस्प्रिनका साइडइफेक्टहरु

– पेट र छाती पोल्ने

– बान्ता तथा टाउको दुखाइ

– रक्तस्राव हुनु

– खानेबित्तिकै चिलाउने र छाला रातो हुने

– कान बज्ने

बालबालिकाको लागि कति सुरक्षित ?

यो १८ वर्षमुनिका बच्चामा प्रयोग नगर्नु राम्रो हुन्छ । एस्प्रिनले बालबालिकामा ‘रे सिन्ड्रोम’ निम्त्याउन सक्छ । ‘रे सिन्ड्रोम’ एक दुर्लभ तर गम्भीर अवस्था हो, जसमा कलेजो र मस्तिष्क सुनिन्छ ।

त्यसैले बालबालिकाका लागि दुखाइ कम गर्न र ज्वरोका लागि पारासिटामोल र आइव्रुफिनको सुझाव दिइन्छ ।

डा. सतिश यादव
डा. सतिश यादव
लेखक
डा. सतिश यादव
इन्टरल मेडिसिन तथा क्लिनिकल रिसर्चर

डा. यादव काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत छन् । इन्टरनल मेडिसिनमा एमडी गरेका यादवको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३५०० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?