+
+

मलेसियाको जेलमा पर्नुको मुख्य कारण गैरकानुनी बसाइँ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २०:१२

१६ असार, काठमाडौं । मलेसियाको जेलमा रहेकामध्ये अधिकांश गैरकानुनी रूपमा त्यहाँ बसिरहेका नेपाली रहेको पाइएको छ ।

प्रवासी नेपाली समन्वय समितिसँगको सहकार्यमा ‘सेन्टर फर द स्टडी लेबर एण्ड मोबिलिटी’ (सेस्लम), सोसल साइन्स बहाःले ‘मलेसियामा नेपाली आप्रवासी कामदारलाई ठगी, गिरफ्तारी र थुना’बारे तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

२०२० देखि २०२३ सम्म मलेसियामा ७५८ जना नेपाली श्रमिक जेलमा परेको प्रतिवेदनमा उल्लेख छ ।

जसमा जेल पर्नुको मुख्य कारण कागजपत्र सम्बन्धी मुद्दा ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका मुद्दा ८ प्रतिशत र हत्या, चोरी, लागुऔषध बेच्ने, सेवन गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरणजस्ता ३ प्रतिशत आपराधिक गतिविधि र २८ प्रतिशत अन्य कारण रहेका छन् ।

अनुसन्धानकर्ता सदीक्षा भट्टराईले कागजपत्र सम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशतभन्दा बढी श्रमिक ‘वर्क प्रमिट’ भएको कम्पनी छोडेकाहरू भएको बताइन् ।

९ प्रतिशत भने वैध भिसा नभएको र ‘वर्क प्रमिट’ नहुँदा जेल परेको उनले बताइन् । १ प्रतिशतसँग भने राहदानी र परिचयपत्र नहुँदा जेलमा परेका छन् । भट्टराईका अनुसार श्रमिकले सोचे अनुरूपको काम नहुनु, श्रम शोषण हुनु, तलब नपाउने जस्ता कारणले रोजगारदाता वा कम्पनी छोड्ने गर्छन् ।

मलेसियाको कानुनअनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुुपर्ने हुन्छ । तर धेरैले राम्रो सेवा सुविधाको अपेक्षामा भागेर कम्पनी परिवर्तन गर्ने गर्छन् ।
कम्पनी छाडेर भाग्दा पासपोर्ट रोजगारदाता वा कम्पनीमै छोडेर भाग्नुपर्छ । त्यसपछि उनीहरु कागजविहीन हुन्छन् र कानुनी झमेलमा फस्छन् ।

प्रतिवेदनमा जेलमा परेका श्रमिकले आफ्नो अधिकार, कानुनी प्रक्रिया र सहयोगका लागि उपलब्ध संयन्त्रको बारेमा चेतना अभाव र भाषासम्बन्धी समस्या हुँदा न्यायको पहुँचमा समस्या हुने गरेको उल्लेख छ ।

त्यस्तै मलेसियाको जेलमा रहेका बेला आफ्ना परिवारसँग सम्पर्क गर्न समस्या भएको कुरासमेत प्रतिवेदन उल्लेख छ । जेलमा परेका श्रमिकमा मानसिक समस्यासमेत देखिने गरेको प्रतिवेदनमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?