+
+

आयातित मसला रुखले सोस्दैछ मधेशको पानी !

कतिपय अनुसन्धानले सपेता (मसला) पर्यावरणका लागि हानिकारक देखाएका छन् भने कति अनुसन्धानले छिटो बढ्ने र सुख्खा ठाउँमा पनि सजिलै हुर्किन सक्ने हुँदा व्यावसायिक रुपमा फाइदाजनक रहेको उल्लेख गरेका छन् ।

विकास रोकामगर विकास रोकामगर
२०८१ असार १७ गते ८:०६

१७ असार, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाकी विद्यादेवी भुजेलको परिवारले करिब ०६० सालतिर खेती गर्दै आएको खेतका डिलमा १० वटा मसलाको रुख रोप्यो । वरिपरि सबै छिमेकीहरुले राम्रो आम्दानीको स्रोत देखेर रुख धमाधम लगाउन थालेपछि भुजेल परिवार पनि हौसिएको थियो ।

२ दशकअवधिमा २ पटक मसलाको रुख काटेर बिक्री पनि गरे । तर, त्यही १० वटा मसलाको रुखले गर्दा करिब २ कठ्ठा खेतीयोग्य जमिन कामै नलाग्ने गरी विस्तारै सुख्खा बन्दै गयो ।

‘सुरुमा त बालीबाट पनि आम्दानी, रुखबाट पनि आम्दानी हुनेर सबैले लगाएका थियौं । पछि पो थाहा भयो, त्यसको वरिपरि बालीनाली केही पनि नहुने गरी सुख्खा हुने रैछ’, धनुषाधामकी उपप्रमुखसमेत रहेकी भुजेलले अनलाइनखबरसँग भनिन्, ‘बुझ्दै जाँदा त यसको फाइदाभन्दा बेफाइदा बढी हुने रैछ ।’

एकपटक काटिसकेपछि पनि फेरि उम्रँदै फैलिँदै जाने हुनाले पूर्ण रुपमा विस्थापन गर्न पनि हम्मेहम्मे परिरहेको भुजेल सुनाउँछिन् । उनको परिवारले पोहोरसाल नै सबै रुख हटाएर बञ्जर बनिसकेको जमिनको उर्बराशक्ति फर्काउन लागेको छ ।

‘आलीआलीमा लगाउँदा आफ्नो त खत्तम भयो । अरुको खेत पनि खत्तम बनाउने रैछ । अहिले सबैले हटाउन लागिसकेका छन् । आधाभन्दा बढीले हटाइसके’, भुजेलले भनिन्, ‘यो रुख काम छैन रैछ भनेर सबैले बुझ्न थालिसके ।’

कुनै समय तराई–मधेश क्षेत्रमा छिटो उम्रिने र बिक्री गरेर तत्काल आम्दानी हुने सपना बुनेर मसलाका रुख रोप्ने अभियानै चलेको पनि भुजेल सुनाउँछिन् । तर, अध्ययनविना रोपिएका रुखले कालान्तरमा धेरै समस्या निम्त्याउन लागेपछि मसला रोपेका स्थानीय पछुताइरहेको उनको जिकिर छ ।

वडामा मसलाको रुखले पारिरहेको असरबारे व्यापक गुनासो आउन थालेपछि कार्यपालिकाबाट निर्णय गरेरै मसलाका रुख हटाउन लागिएको उपप्रमुख भुजेलको भनाइ छ । ‘सुरुमा सबै वडामा पत्राचार गरेर सपेताको रुख हटाउन भनिएको थियो । त्यतिले पनि नभएपछि कार्यपालिकाबाटै निर्णय गरेर अघि बढेका छौं’, उनले भनिन् ।

सपेता (मसला) रुखले पारेको समस्या लिएर पालिकामा दिनहुँ गुनासो आउन थालेपछि सिरहाको कर्जन्हा नगरपालिकाले पनि उक्त रुख हटाउने अभियानै सुरु गरेको छ । जेठ ३० गते बसेको कार्यपालिका बैठकले नै सपेता प्रजातिको रुख हटाउने र बरु त्यसको ठाउँमा अरु उपयोगी बिरुवा लगाउने नीति नै ल्याएको छ ।

‘आफूले लगाएको मसला (सपेता)को रुख, म काट्छु’ भन्ने अभियान सुरु गरेर नगरपालिकाले १५ दिनभित्र सबै मसला प्रजातिका रुख हटाइसक्न सबैलाई सार्वजनिक सूचना नै जारी गरेको छ । ‘यो वनसँग पनि जोडिने भएकाले पालिका र वन सबैबाट अनुमति लिएर गाउँलेहरु अहिले रुख काटिरहनु भएको छ’, नगरपालिका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले अनलाइनखबरसँग भनिन् ।

कर्जन्हा नगरपालिकामा ११ वटा वडा छन् । त्यसमध्ये अधिकांश वडा चुरे पर्वत श्रृंखलासँग जोडिएका छन् । ‘चुरेले छोएको वडामा धेरै लगाइएका छन् । त्यसले पनि पानी छिटो सुकाउने समस्या देखियो’, लक्ष्मीले भनिन्, ‘रुखको ठाउँमा रुख रोप्ने नीतिअनुसार मसलाको रुख काटेर निम, अमलाको रुख वनसँग समन्वयन गरेर रोप्न लगाइरहेका छौं ।’

कुनै समय तराई–मधेश भाँवर क्षेत्रमा अत्याधिक रुचाइएको सपेता रुखलाई स्थानीयहरु कतै मसला, भिक्स, निलगिरी आदि नामले चिन्दछन् । रुखबाट एकप्रकारको गन्ध आइरहने भएकाले पनि स्थानीयले यसलाई मसला वा भिक्स नामाकरण गरेका हुन् । तर, यो प्रजातिको वास्तविक नाम भने ‘इक्युलिप्टिस’ हो ।

३० को मध्य दशकदेखि नेपाल भित्रिएको मानिने मसला रुख पछिल्लो समय तराई–मधेशका पूर्वीदेखि पश्चिमी क्षेत्रसम्म फैलिएको छ । सुरुमा छिटो हुर्किने र सजिलै बिक्री गरेर आम्दानी हुने देखेर स्थानीयले घर वरपरिसँगै खेतका आलीआलीमा लगाएका थिए ।

तर, पछि उक्त रुखले गर्दा वरिपरिको जमिनको उर्बराशक्ति घट्दै गएको, पानीको स्रोत पनि प्रभावित भएको भन्दै रुख काट्न पालिकामा गुनासो गर्न आउनेको संख्या पनि बढ्दै गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि बताउँछन् ।

मसलाको रुख काट्न अनुमति माग्नेको भिड बढ्दै गएपछि मधेशका दर्जनौं पालिकाले धमाधम अनुमतिमात्रै होइन, सार्वजनिक सूचना जारी गरेरै रुख काट्न लगाइरहेका छन् । मधेशका धनुषाधाम, मिथिला, बर्दिबास, कर्जन्हालगायत नगरपालिकाले आ–आफ्नो पालिकाबाट मसलाको रुख हटाउने निर्णय नै गरिसकेका छन् ।

सपेतासम्बन्धी विश्वव्यापी रुपमा नै विभिन्न अध्ययन अनुसन्धान भएका छन् । कति अध्ययनले छिटो बढ्ने र सुख्खा ठाउँमा पनि सजिलै हुर्किन सक्ने हुँदा व्यावसायिक रुपमा फाइदाजनक रहेको उल्लेख गरेका छन् ।

यद्यपि केही अध्ययनले भने सपेताको रुख कम पानी पर्ने क्षेत्र र कृषि क्षेत्रमा रोप्नु निकै हानिकारक हुनेसमेत देखाएका छन् । ती अध्ययनले समेत सपेताले अन्य वनस्पतिको तुलनामा पानी सोस्ने र त्यसले गर्दा यो रुख वरिवरि पानीको स्रोत भण्डारण हुन नपाउने उल्लेख गरेका छन् ।

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले तयार पारेको एक रिपोर्टअनुसार मसलाको रुख फैलिँदै जाँदा पर्यावरणमै खतरा पारिरहेको उल्लेख छ । रिपोर्टका अनुसार अस्ट्रेलियाबाट भित्रिएको यो रुख सन् १९३० मा पहिलोपटक बंगलादेशमा रोपिएको थियो ।

त्यतिबेला पूर्वी बंगलादेशका चियाबगानमा रोपिएको रिपोर्टमा उल्लेख छ । उक्त, रिपोर्टले लापरवाहीपूर्वक रुख रोपिँदा पानीको सतह र स्रोतमा समेत असर पुगेको थियो ।

पूर्वी बंगलादेशका चियाबगानमा लापरवाहीपूर्वक रुख रोपिएको, त्यसले असर देखाउन थालेपछि सन् १९९५ मै बंगलादेश सरकारको वन तथा वातावरण विभागले यो प्रजातिको रुख रोप्ने कार्यक्रम हटाएको र उप्रान्त नरोप्न पनि नागरिकलाई सचेत गराएको उल्लेख छ ।

रिपोर्टले मसला रुखले पानीको मात्रालाई र माटोको उर्बराशक्तिलाई पनि घटाउने उल्लेख गरेको छ ।

भारतको कर्नाटकमा पनि सन् १९४६ मा सरकारले नै छिटो हुर्किने विरुवाको रुपमा मसला रुखलाई प्रवद्र्धन गरेको थियो । सन् १९६० तिर किसानले हुर्काएका उक्त रुख बिक्रीवितरणका लागि व्यापारिक क्षेत्रसँग सरकारले नै समन्वय पनि गरिदिएको थियो । तर, पछि मसलाको रुखले माटाको उर्बरा शक्तिमा कमी आएको भन्दै २०११ मा कर्नाटक सरकारले मसलाको रुख लगाउन प्रतिबन्ध लगायो ।

सन् २०११ मा इरानमा भएको इन्टरनेसनल कमिसन अन इरिगेसन एन्ड ड्रेनएजको २१ औं सम्मेलनमा दक्षिणी कर्नाटकको भूमिगत जल सतहमा सपेताले पारेको प्रभाव विषयमा रिपोर्ट प्रस्तुत भएको थियो । उक्त रिपोर्टका अनुसार सपेताले प्रतिदिन ४०–५० लिटर पानीसम्म खपत गर्न सक्छ ।

संयुक्त राष्ट्र संघको फुड एन्ड एग्रीकल्चरले गरेको अध्ययनले पनि कम पानी पर्ने ठाउँमा मसला रुख अनुपयुक्त हुने उल्लेख गरेको छ । उक्त प्रतिवेदनअनुसार मसलाको रुखले अन्य विरुवाभन्दा धेरै बायोमास उत्पादन गर्न सक्छ ।

‘यसले धेरै अन्य प्रजातिका रूखहरूको तुलनामा उत्पादित बायोमास प्रति एकाइ कम पानी पनि खपत गर्दछ,’ रिपोर्टमा भनिएको छ,’ तर यो प्रजातिको रुख छिटो बढ्ने र उच्च बायोमास उत्पादनको परिणाम हुने भएकाले अरुभन्दा बढी पानी खपत गर्छ ।’
प्रतिवेदनले अगाडि भनेको छ, ‘कम वर्षा हुने क्षेत्रहरूमा नीलगिरीको खेती गर्दा अन्य प्रजातिहरूसँग पानीको प्रतिस्पर्धा र एलेलोप्याथीको बढ्दो घटनाका कारण प्रतिकूल वातावरणीय प्रभाव हुन सक्छ ।’

प्रतिवेदनले सामान्यतया वार्षिक ४ सय मिमीभन्दा कम वर्षा हुने क्षेत्रमा मसला रुख रोप्न अनुपयुक्त हुने उल्लेख गरेको छ । यसले माटोको उर्बराशक्ति पनि घटाउने हुँदा यो रुखको आसपास भएका अन्य वनस्पति हुर्काइ तथा उत्पादनमा पनि समस्या पार्ने गरेको प्रतिवेदनमा भनिएको छ ।

रिपोर्टका अनुसार मसलाको रुखको पातमा विषालु रस हुन्छ, जसले अन्य बोटविरुवालाई पनि असर गरिरहेको हुन्छ ।

नेपालमा कसरी भित्रियो मसला रुख ?

वन पैदावार विकास समिति गठन आदेश–२०३३ अनुसार विभिन्न वन विकास समितिहरु स्थापना भए । त्यसैअनुरुप २०३५ सालमा सर्लाही, रौतहट र महोत्तरी कार्यक्षेत्र हुने गरी ०३५ सालमा सागरनाथ वन विकास परियोजना सुरु भयो ।

त्यही परियोजनाले पहिलो पटक अस्ट्रेलियाबाट इक्युलिप्टिस अर्थात् मसलाको रुख नेपाल भित्र्याएको थियो । सुरुमा अस्ट्रेलियाबाट मसला रुखको बिउ ल्याएर उत्पादन गरिएको सागरनाथ वन विकास परियोजना प्रमुख प्रेमीलाल प्रसाद बताउँछन् ।

‘त्यतिबेला पहिलो त तराई क्षेत्रका पुराना सालका वनलाई क्लियर गर्ने र तत्काल हुर्किने प्रजातिको रुख चाहिएको थियो । बिजुलीको पोलका लागि पनि यो एकदमै उपयुक्त थियो अनि काठदाउराको लागि पनि राम्रो मानिने’, प्रसादले अनलाइनखबरसँग भने, ‘मुख्य त यी तीन कारणले नेपालमा सपेता ल्याइएको हो ।’

तत्कालीन समयमा परियोजनाले आफ्नो क्षेत्रभित्र पर्ने अधिकांश क्षेत्रमा धमाधम मसलाको रुख लगाउने, स्थानीयलाई वितरण गरेको पनि प्रसाद सुनाउँछन् । ‘विद्युत प्राधिकरणसँग त हुर्केको रुख परियोजनाले उत्पादन गर्ने र उसले खरिद गरेर पोल बनाउने सम्झौता नै भएको थियो’, उनले भने, ‘अहिले पो सबै आरसीसी पोल आए ।’

प्रसादका अनुसार तत्कालीन समयमा प्राधिकरणले बिजुलीका पोल बनाउन मसला र पीट प्रजातिका रुख उत्पादन गर्ने गरी परियोजनासँग सम्झौता गरेको थियो ।

६० दशकतिर मसला रुख उत्पादन बढाउन ‘आलीआलीमा सपेता, १० वर्षमा गरिबी बेपत्ता’ अभियान नै चल्यो । वन विकास परियोजनासहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था नै जोडेर रुख रोप्न प्रोत्साहन गर्न थाले ।

‘त्यतिबेला तराई क्षेत्रमा छिटो आम्दानी हुने र नौलो प्रजाति भएकाले पनि धेरैले यो रुख रोपेको पाइयो’, परियोजनाकै कर्मचारी चन्देश्वर पटेल भन्छन्, ‘छिटो उम्रियो भने छिटो बेचेर छिटो नाफा हुन्छ भन्ने भयो ।’

धनुषाधामकी विद्यादेवी भुजेलले पनि मसला रुख छिट्टै हुर्किने र सजिलै बिक्री वितरण गर्न पाउने भनेर रोपेको बताउँछिन् । ‘रुख छिटो हुर्किने पनि रहेछ । तर, यसको असरबारे सुरुमै नभनिदिँदा उत्पादन त घट्यो नै भनेजस्तो आम्दानी पनि हुन सकेन, पानी पनि सुक्दै गयो’, उनले भनिन् ।

चारकोशे झाडी, साललगायतका रुख हटाएर सरकारी निकायबाटै मसलाको रुख रोप्न थालेपछि निजी तवरबाट पनि बिउ उत्पादन गरेर व्यापार बढ्दै गएको परियोजनाका पटेल बताउँछन् । हाल यो रुख तराई–मधेशका अधिकांश भागमा फैलिएको छ ।

मसलाले पानीको स्रोत घटाएको होइन : परियोजना

मसला रुखले पानीको स्रोत सुकेको र जमिनको उर्बराशक्ति पनि घटाएको स्थानीयको दाबीमा भने सागरनाथ वन विकास परियोजना मान्न तयार छैन । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर र चुरे क्षेत्रको दोहनले पानीका स्रोत सुक्दै जानको थालेको परियोजना प्रमुख प्रेमीलाल प्रसाद सुनाउँछन् ।

मसलाको रुखले नै तराई-मधेश क्षेत्रमा पानीका स्रोत सुकाएको भन्नेबारे कुनै अध्ययनले प्रमाणित गर्न नसकेको परियोजनाको भनाइ छ । ‘हाम्रो अध्ययनमा सपेताले नै यहाँको पानीको स्रोत घटाएको भन्ने कुनै प्रमाणित भएको छैन । मधेश क्षेत्रमा पानीका स्रोत सुक्नुमा अरु धेरै फ्याक्टर छन्’, परियोजना प्रमुख प्रेमीलाल प्रसाद भन्छन्, ‘तराई–मधेश क्षेत्रमा सपेता रुख नभएका जिल्लामा पनि पानीका स्रोत सुकेकै छन्, यो जलवायु परिवर्तनको असर हो ।’

वनस्पतिविद कमल मादेन मसलाको रुखले बढी पानी सोस्ने र यसका पात माटोमा छिटो नकुहिने भएकाले उर्बराशक्ति ह्रास हुने बताउँछन् । तर तराई मधेशका जिल्लामा मसलाकै कारण पानीको स्रोत सुकेको भनेर एकिनका साथ भन्न भने नसकिने उनी बताउँछन् ।

मधेशका जिल्लामा पानीको स्रोत सुक्नुमा चुरेको दोहन मुख्य कारण हुनसक्ने मादेन बताउँछन् । ‘तराई मधेशका धेरै जिल्ला चुरेसँग जोडिएका छन् । त्यहाँ जनघनत्व बढ्दा र चुरे दोहन हुँदा पानीको स्रोत प्रभावित भएका छन्,’ मादेन भन्छन्, ‘त्यसमा मसलाको रुखको पनि केही भूमिका हुने भएकाले मधेशका पालिकाहरुले त्यसलाई हटाउने अभियान चलाएका हुन् ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?