+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

३०० वर्ष पुरानो हनुमान नाच संरक्षण गर्दै बागलुङ नगरपालिका

रासस रासस
२०८१ असार १७ गते १६:३९

१७ असार, गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवर्द्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।

यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताए ।

‘करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौंमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उद्देश्य छ’, नगर उपप्रमुख खड्काले भने, ‘साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।’

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवर्द्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेको उनले जानकारी दिए । विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताए ।

मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको हो । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख भन्दा बढी भक्तजन आउने गरेका छन् ।

ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्युआरकोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम सङ्ग्रहालयलगायत ११ स्थानमा १२ भाषामा अध्ययन गर्न सक्ने गरी ‘क्युआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाइ छ ।

नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई सौन्दर्यीकरण गर्ने, मालढुङ्गादेखि उपल्लाचौरसम्मको भिरमा लहरा फूल लगाउने र पहरामा कला संस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?