+

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

२०८१ असार  १८ गते १३:०३ २०८१ असार १८ गते १३:०३
मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

तपाईं मुटु स्वास्थ्यबारे कति जानकार हुनहुन्छ ? अहिले सुनेको भरमा मुटु स्वास्थ्यबारे ज्ञान दिने र लिने धेरै भेटिन्छन् । जस्तै, मुटुरोग उमेर ढल्किएको मानिसलाई मात्र लाग्छ । बुढेसकाल नलागेसम्म मुटुमा कुनै समस्या पर्न सक्दैन । यस्ता ज्ञानको पछि लाग्दा कहिलेकाहीं आफैंलाई हानि गरिरहेको हुन्छ ।

यस्तै, केही भ्रम मुटु स्वास्थ्यबारे सुनिन्छ । मुटुरोग लाग्ने कारक तत्व जीवनशैली हो । के खानुहुन्छ ? कस्तो छ जीवनशैली ? परिवारमा कसैलाई पहिला मुटुरोग भएको थियो कि यस्ता कुराले फरक पार्छ । विशेषगरी मोटोपन, टाइप २ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल हुने व्यक्तिमा मुटु समस्या कम उमेरमै गराउन सक्छ ।

अन्तर्राष्ट्रिय जर्नल कार्डियाक मेटाबोलिक इन्स्टिच्युट अनुसार अहिले हृदयघात हुनेमध्ये पाँच जनामा एक जना बिरामी ४० वर्षभन्दा कम उमेरको भेटिन्छ । त्यसैले ढुक्कले बस्न हुँदैन ।

भ्रम : छाती दुख्ने बित्तिकै हृदयघात हुन्छ ।

छाती दुखाइ र असहज हुनु हृदयघातको लक्षण हो । तर त्यसमा अन्य लक्षण पनि हुनसक्छ । जस्तै, सास छिटो छिटो फेर्ने, रिंगटा लाग्ने, हल्का टाउको दुखाइ, पाखुरा दुख्दै बायाँतर्फ सर्दै जाने, बङ्गारा, घाँटी र ढाड दुखाइ हुन पनि यसको लक्षण हो । तर यो हुँदा पनि हृदयघात नै भएको पक्का गर्न सकिंदैन । कहिलेकाहीं ग्यास्ट्रिकले पनि छाती दुख्न सक्छ ।

त्यसैले छाती दुख्नेबित्तिकै आत्तिने भन्दा पनि धैर्यपूर्वक अस्पताल लग्ने व्यवस्था गरिहाल्नुपर्छ ।

भ्रम : मधुमेहको औषधि नियमित खानेलाई मुटुरोग लाग्दैन ।

मधुमेहको उपचार भइरहेको छ भने पक्कै यसले मुटुरोगको जोखिमलाई पर लैजान्छ । तर मधुमेह नियन्त्रणमा रहे पनि मुटुरोग र पक्षघातको जोखिम रहन्छ । किनकि मधुमेहले मात्र मुटुरोगलाई बढावा दिंदैन । यसको लागि उच्च रक्तचाप, शारीरिक निष्क्रियता, मोटोपन र धुम्रपान पनि जिम्मेवार हुन्छ ।

त्यसैले मधुमेहसँगै कोलेस्टेरोल, वजन नियन्त्रण, शारीरिक सक्रियता बढाएमा पक्कै पनि मुटुमा समस्या हुने जोखिम कम हुन्छ ।

भ्रम : मुटुरोग घरमा एक जनालाई लाग्यो भने सबैलाई लाग्छ, यसको रोकथाम हुन सक्दैन ।

– परिवारमा मुटुरोग कसैलाई पहिला देखिएको थियो भने पक्कै पनि मुटुरोगको जोखिम रहन्छ । तर यसो भन्दैमा सबैलाई लाग्छ । र, यसबाट बच्न सकिंदैन भन्ने कदापि हुँदैन । मुटु स्वस्थ राख्ने उपाय तथा वर्षमा एक पटक मुटुको सामान्य जाँच गरेर यसबाट बच्न सकिन्छ ।

भ्रम : उमेर पाको नहुने र कुनै स्वास्थ्य समस्या नदेखिने समयसम्म कोलेस्टेरोलको परीक्षण आवश्यक हुँदैन ।

– जोखिम कारकको बारेमा युवा उमेरमै परीक्षण गर्दा मुटुरोगको जोखिम कम हुनसक्छ । युवा उमेरमा पनि ब्याड कोलेस्टेरोल हुनसक्ने सम्भावना रहन्छ । त्यसैले २० वर्षको उमेरपछि ४ देखि ६ वर्षमा चेकअप गराउनै पर्छ ।

भ्रम : मुटु फेल हुनेबित्तिकै धड्कन पनि बन्द हुन्छ ।

मुटुले अचानक धड्कनको गति रोक्नुको कारण ‘कार्डियाक अरेस्ट’ हो, मुटु फेल हुनु होइन । मुटु फेल हुँदा पनि मुटुले काम गरिरहेको हुन्छ । तर जति धड्कन धड्किनुपर्ने हो त्यही अनुपातमा भने धड्किन सक्दैन । मुटु खराब हुँदा सास छिटो गतिमा फेर्ने, खुट्टा तथा कुर्कुच्चा सुन्निने, खोकी लाग्ने हुन्छ ।

तर कार्डियाक अरेस्ट हुँदा व्यक्तिले आफ्नो सचेतना पनि गुमाउँछ । र, सामान्यरुपमा अरुबेला जस्तो सास फेर्न सक्दैन ।

भ्रम : विना चोटपटक दिनहुँ खुट्टा दुख्नु बुढेसकाल लागेर हुनसक्छ । डराइहाल्नुपर्ने अवस्था होइन ।

बुढेसकाल लागेर खुट्टा दुखेको भनेर चुप लागेर बस्नु हुँदैन । विना चोटपटक दिनहुँ जस्तो खुट्टा दुख्नु भनेको ‘पेरिफेरल आर्टिरी डिजिज’को संकेत हुनसक्छ । यो समस्याले धमिनीलाई असर गर्छ ।

यसले खुट्टामा रक्तसञ्चार हुने धमिनीहरूलाई ब्लक गर्छ । जसकारण त्यहाँ बोसोयुक्त पदार्थ जम्न सक्छ । लामो समयसम्म धमिनी अवरुद्ध हुँदा धमिनी कडा हुने, संकुचित हुँदै कमजोर हुन्छ । जसले खुट्टा दुख्न सक्छ । प्राय: ६० वर्षमाथि उमेरको व्यक्तिलाई यो समस्या देखिन्छ । समयमा पहिचान र उपचार नहुँदा हृदयघात र पक्षघात समेत हुनसक्छ ।

भ्रम : मुटुरोग लागेपछि यौन सम्बन्ध राख्नु हुँदैन ।

यौन आधारभूत आवश्यकता नै हो । यसलाई कुनै रोगमा पनि पूर्ण वर्जित विषय मानिंदैन । त्यसकारण मुटुको समस्या भएका व्यक्तिमा पनि यौनक्रिया गर्नु सुरक्षित मानिन्छ । मुटु तथा उच्च रक्तचाप भएका व्यक्ति जो भर्‍याङ चढ्न, हिंड्न र केही दूरीसम्म दौडिन कुनै समस्या हुँदैन भने सहवास गर्नु सुरक्षित मानिन्छ । कुनै कठिन लक्षण देखिंदैन भने सहवास गर्न समस्या हुँदैन ।

तर यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल बढ्ने तथा रक्तचाप पनि केही बढ्ने भएकाले मुटुलाई थप दबाब चाहिं पर्न सक्छ । यही कारण मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ । तर यौन सम्पर्कबाट टाढै बस्नुपर्छ भन्ने छैन ।

भ्रम : एकपटक मुटुको शल्यक्रिया गराएपछि अर्को पटक हृदयघातको जोखिम रहँदैन ।

एकपटक अवरुद्ध भएको मुटुको धमिनी खुलाएर शल्यक्रिया गरेपछि पनि हृदयघातको जोखिम रहन्छ, जब एकपटक ठीक भएपछि पनि जीवनशैली र खानपिनमा ध्यान छैन । जीवन तनावग्रस्त छ र नियमित गरिनुपर्ने चेकजाँच छैन भने हृदयघातको जोखिम उत्तिकै रहन्छ ।

भ्रम : हृदयघात भएपछि व्यायाम गर्नु हुँदैन ।

यो भनाइमा कुनै सत्यता छैन । किनकि शारीरिक सक्रियता बढाउन पनि व्यायाम गर्नुपर्छ । अध्ययनहरुले पनि हृदयघातपछि बाँचेका जति पनि व्यक्ति छन्, तीमध्ये जो बढी शारीरिकरुपमा सक्रिय रहन्छन् ।

त्यति स्वस्थ र लामो जीवन बिताउने देखाएको छ । व्यायाम मात्र होइन, उनीहरूले दैनिक गर्ने कामकाज पनि गर्न सक्छन् । यसो भन्दैमा शरीरमा भार पर्ने व्यायाम भने गर्न हुँदैन । चिकित्सकको सल्लाहमा हल्का खालको व्यायाम गर्न सकिन्छ ।

भ्रम : हृदयघात भएपछि उपचारले ठीक हुँदैन ।

हृदयघात भएमा उपचारपछि निको हुनसक्छ । तर ठीक हुने भन्ने कुरा कति छिटो उपचार भयो भन्नेमा निर्भर रहन्छ । किनकि जति ढिलो भयो मुटुको धमिनीमा उति मुटुमा क्षति पुग्छ ।

हृदयघात भएको आधा घण्टादेखि दुई घण्टाको बीचमा अवरोध भएको रगतको नसा खोल्न सकियो भने बचाउन सकिन्छ ।

त्यसकारण जति सक्दो छिटो अस्पताल लैजाने र चिकित्सकले रगत जम्न नदिने औषधि, शल्यक्रिया गर्न सके भनी हृदयघातबाट बचाउन सकिन्छ । र, घरमा गएपछि चिकित्सकको निर्देशनअनुसारको स्याहार र जीवनशैलीमा ध्यान दिए सामान्य व्यक्ति जसरी जीवनयापन पनि गर्न सकिन्छ ।

छाती दुखाइ डा. माधव विष्ट मुटु स्वास्थ्य हृदयघात
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय