+

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

२०८१ असार  १८ गते १६:४६ २०८१ असार १८ गते १६:४६
क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् ।

क्यान्सरको निदान र उपचारको क्रममा बिरामी धेरै डराएका हुन्छन् । यही डर, र सचेतनाको कमीले पनि क्यान्सरका बिरामीहरूले विभिन्न गल्ती गरिरहेका हुन्छन्, जुन हानिकारक हुनसक्छ ।

रोगको बारेमा चिकित्सकसँग कुरा नगर्ने

क्यान्सरको बिरामी उपचार गर्न अस्पताल जाँदा चिकित्सकसँग रोगको बारेमा खुलेर कुरा गर्दैनन् । कुन क्यान्सर हो, कुन स्टेज हो, यसको उपचार प्रक्रिया के हो,  उपचारमा कति खर्च लाग्छ लगायत कुरा सोध्दैनन् । डाक्टरले क्यान्सर भयो भनेपछि दु:खी भएर, उपचार हुँदैन भनेर निराश भएर घर फर्किन्छन् । फेरि समस्या धेरै बढेपछि मात्र अस्पताल पुग्छन् । जसले गर्दा छिटो उपचार गर्दा निको हुने बिरामी पनि उपचार नपाएर मृत्युको अवस्थामा पुग्छन् ।

क्यान्सरको लक्षणलाई बेवास्ता गर्ने

क्यान्सर त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । धेरै बिरामीले शरीरको आकारप्रकारमा आएको परिवर्तनलाई बेवास्ता गर्ने गर्छन् । त्यसैले उनीहरूको क्यान्सरको निदान ढिलो हुन्छ र उपचारमा पनि कठिनाइ हुन्छ । त्यसैले क्यान्सरको कुनै पनि लक्षणलाई बेवास्ता गर्ने गल्ती गर्नु हुँदैन । क्यान्सरको लक्षण देखिएको शंका लागेमा तुरुन्तै अस्पताल गएर जाँच गर्नुपर्छ ।

उपचारलाई बीचमा नै छोड्ने

क्यान्सरको बिरामीले उपचार बीचमै छोड्ने गरेको पनि पाइन्छ । जस्तै, स्तन क्यान्सरको बिरामीले अवस्था हेरेर शल्यक्रिया र किमोथेरापी लगायतका उपचार गर्नुपर्ने हुन्छ । तर शल्यक्रियापछि गाँठागुठी हराएपछि निको भयो भनेर किमो नै नगरी हराउने गरेको पनि पाइन्छ । कतिपय बिरामीले खर्चको अभावमा पनि उपचार बीचैमा छोड्ने गर्छन् । यसरी बीचमै उपचार छोड्ने कारणबारे पनि अध्ययन हुन जरुरी छ ।

चिकित्सकले बोलाएको बेला फलोअपमा नजाने

क्यान्सरको उपचार एकदमै लामो हुन्छ । यस्तोमा केही समय बिरामी अस्पतालमा नै बसेर उपचार गर्नुपर्छ । केही समयपछि भने थप उपचारका लागि चिकित्सकले बोलाएको समयमा अस्पताल पुग्नुपर्छ । तर धेरै बिरामीले चिकित्सकले बोलाएको समयमा फलोअपमा जाँदैनन् । जसले बिरामीको समस्या बढ्न सक्छ । त्यसैले बिरामीले फलोअपमा नजाने गल्ती गर्नु हुँदैन ।

चौबीसै घण्टा आराम गर्ने

क्यान्सरका बिरामीले आराम गर्नुपर्छ भनेर २४ घण्टा आराम गरेको पाइन्छ । तर बिरामीले २४ घण्टा बेड रेस्ट गर्नु हुँदैन ।  ६ देखि आठ घण्टा आराम गरे पुग्छ । बाँकी समयमा हल्का काम र हल्का व्यायाम गर्नुपर्छ । आराम मात्र गर्दा बिरामीको अवस्था सुधार हुने भन्दा पनि बिग्रिन सक्छ ।

क्यान्सरको बिरामीले अन्य औषधिउपचार गर्नहुँदैन भन्ने द्विविधमा बस्ने

क्यान्सरको उपचार गरिरहेका व्यक्तिलाई केही गरी कुकुरले टोक्यो भने खोप लगाउने कि नलगाउने भन्ने द्विविधामा बस्छन् । त्यस्तै निमोनिया भयो, एलर्जी भयो भने पनि उपचार गर्ने कि नगर्ने भन्ने द्विविधामा बस्छन् । तर बिरामीले चिकित्सकको सल्लाहमा उपचार गर्न खोपहरू लगाउन मिल्छ । त्यसैले द्विविधामा बस्नु भन्दा आफूले उपचार गराएको चिकित्सकको सल्लाहमा खोप लगाउने र अन्य समस्याको उपचार गर्नुपर्छ ।

क्यान्सरको बिरामी दुब्लाउनु हुन्न मोटाए केही हुन्न भन्ने सोच

क्यान्सरको बिरामी दुब्लाउनु राम्रो होइन तर मोटाएको राम्रो हो भन्ने सोच छ । तर त्यो सत्य होइन क्यान्सरको बिरामी पनि धेरै मोटाउनु राम्रो हुँदैन । त्यसैले बिरामीले आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । तौल नियन्त्रणमा राख्नका लागि सन्तुलित खाना र हल्का व्यायाम गर्नुपर्छ ।

क्यान्सर निको भएपछि फेरि चुरोट, रक्सी खाने

कुनै व्यक्तिलाई चुरोट रक्सी सेवनको कारण क्यान्सर भएको छ र उसको सफल उपचार भएपछि फेरि चुरोट, रक्सी खान हुन्छ भनेर खाने पनि गरेको पाइन्छ । तर क्यान्सरको उपचारपछि फेरि चुरोट, रक्सीको सेवनले फेरि क्यान्सर हुने सम्भावना बढ्छ ।

काम नगर्ने

क्यान्सरको बिरामी कमजोर हुन्छन् । त्यसैले काम गर्न सक्दैनन् भन्ने सोचको साथ बिरामी उपचार गरिरहँदा वा उपचारपछि कममा फर्किंदैनन् । तर बिरामीसँग काम गर्ने शक्ति छ भने गर्नुपर्छ । काम नगर्दा उसको सम्पूर्ण ध्यान रोगमा केन्द्रित हुन्छ र काम गर्दा उसको ध्यान विचलित हुन्छ । यसले सकारात्मक सोच पैदा गर्छ, जुन बिरामीको लागि लाभदायक हुन्छ ।

क्यान्सर डा. अरुण शाही स्वास्थ्य समस्या
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

गर्भावस्थामा एक्स-रे गर्दा भ्रूणलाई असर गर्छ ?

गर्भावस्थामा एक्स-रे गर्दा भ्रूणलाई असर गर्छ ?

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

काखी गन्हाउनुको कारण र उपचार

काखी गन्हाउनुको कारण र उपचार

स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?  

स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?