+
+

अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १८:४२

१९ असार, काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।

डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ ।

घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

पछि त्यो ठाउँमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी उजुरी परेको थियो ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनको भनाइ छ ।

अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यले आफूहरूले गुठीको जग्गा र सार्वजनिक सम्पत्ति अतिक्रमण नगरेको प्रतिक्रिया दिइन् । ‘त्यो घर कम्पाउण्ड २०३४ सालमा बनेको हो, गत वर्ष पुरानो पर्खाल भत्काएर नयाँ बनाउने बाहेक केही फेरबदल गरिएको छैन,’ उनले भनिन्, ‘ललितपुर महानगरपालिकाले ममाथि अन्याय गरेको छ । कुनै सूचना जारी नगरी मलाई म्यादसमेत नदिएर घर भत्काएको छ ।’

आफ्नो पर्खालसँग जोडिएको जग्गा सार्वजनिक बाटो भएको र त्यसको छेउमा शहरी विकास मन्त्रालयले पार्क बनाएको भन्दै उनले आफूले जग्गा मिच्नुपर्ने आवश्यकता नै नभएको बताइन् ।

ललितपुर महानगरपालिका–१० को तःननी गुठीका गुठियार सुरेशमान महर्जनले त्यो जग्गा गुठीको नाममा रहेकाले गुठीयारहरूले संरचना हटाइदिन आग्रह गरेको बताए ।
गुठीको नाममा भएको जग्गामा आयुक्त अमात्यले संरचना बनाउन खोजेको र त्यसमा गुठीयारहरूले रोकेको उनको जिकिर छ । तर आयुक्त अमात्यले स्थानीय समुदायकै आग्रहमा खुला ठाउँमा पार्क बनाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?