+
+
रास्वपाको असहज बैठक :

महामन्त्रीको मुखमा कालोटेप, नेताहरुमा आक्रोश

रास्वपा बैठकको मुख्य एजेन्डा थियो, महामन्त्री मुकुल ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदनबारे छलफल । उनी बैठक अवधिभर मुखमा टेप टाँसेर बसिदिए ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असार १९ गते २२:०१

१९ असार, काठमाडौं । कुनै पनि पार्टीमा प्रवक्ताको मुख्य काम हो, बोल्ने । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भने प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै मुखमा टेप टाँसेर बसिदिए ।

बैठकको मुख्य एजेन्डा थियो, महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पाने समीक्षा प्रतिवेदनबारे छलफल ।

इलामको उपचुनावमा नराम्रो धक्का व्यहोरेपछि रास्वपाले समीक्षा प्रतिवेदन तयार पार्न महामन्त्री ढकाललाई खटाएको थियो । १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएसँगै रास्वपा बहस व्यक्ति केन्द्रित हुन थाल्यो ।

किनकी ढकालले समीक्षा प्रतिवेदनको निष्कर्षकै आधारमा आफूलाई कारबाही हुनसक्ने अभिव्यक्ति दिए भने पार्टी अनुशासन आयोगले पनि उनलाई स्पष्टीकरण सोध्यो ।

बुधबारको केन्द्रीय समिति बैठक अझै अस्वाभाविक भयो । बैठकमा महामन्त्री ढकालले आफूले समीक्षा प्रतिवेदन पेश गर्दा लाइभ (प्रत्यक्ष प्रशारण) गर्नुपर्ने माग राखे ।

१६ असारमा नै ढकालले सभापति रवि लामिछानेलाई केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेका थिए । त्यसबेला सभापति लामिछानेले सुरुमा ‘हुन्छ/हुँदैन’ भन्नेबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

केन्द्रीय समिति बैठकमा भने उनले प्रत्यक्ष प्रसारणका लागि आफूलाई समस्या नभएको सुनाए ।

तर केन्द्रीय सदस्यहरु त्यसको विपक्षमा उभिए । प्रतिवेदनमा रणनीतिक र कूटनीतिक विषय पनि हुनसक्ने भएकाले लाइभ गर्न नहुने उनीहरुको मत थियो । आफूहरुले सुनिसकेपछि प्रतिवेदन भने सार्वजनिक गर्न सकिने केन्द्रीय सदस्यहरुको मत थियो ।

‘राजनीतिमा कतिपय कुरालाई संवेदनशील र रणनीतिक रुपमा पनि बुझ्नुपर्छ’, सहप्रवक्ता मनिष झाले भने, ‘प्रत्यक्ष प्रसारण गर्न त्यति व्यवहारिक हुँदैन भनेर हामी सबैले भन्यौं । लाइभ गर्नुपर्ने महामन्त्रीको प्रस्तावलाई नकार्‍यौं ।’

हलबाट प्राप्त नेताहरुको सुझावअनुुसार सभापति लामिछानेले प्रत्यक्ष प्रसारण हुन नसक्ने जानकारी गराए । महामन्त्री ढकाल भने त्यसको विरोधमा उत्रिए । ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता माथि हनन भएको जिकिर गरे ।

‘यो अभिव्यक्ति स्वतन्त्रताको हनन हो, म मुखमा कालो टेप लगाएर बस्छु’, ढकालले मास्कमाथि कालो टेप लगाए । एक महिना लगाएर तयार गरेको समीक्षा प्रतिवेदन पेश गर्न उनी तयार भएनन् ।

महामन्त्रीमाथि कारबाहीको माग

ढकालका गतिविधि बैठक सञ्चालनको विधि, प्रक्रिया र कार्यविधि पार्टी अनुशासन विपरीत रहेको भन्दै सदस्यहरुले आपत्ति जनाए । ढकालका कारणले सभापति लामिछानेले १५ मिनेट बैठक स्थगित गर्नुपर्ने स्थिति आयो । महामन्त्री ढकालले गरेका गतिविधिलाई अनुशासनको विषय बनाउने र अनुशासन आयोगले थप हेर्ने सहमतिपछि सभापति लामिछानेले बैठक अगाडि बढाए ।

ढकाल मुखमा टेप लगाएर बसेपछि प्रतिवेदन पेश गर्न नयाँ विकल्प खोजियो । ढकालले तयार गरेको ३२ पृष्ठको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पढीवाची सुनाए ।

प्रतिवेदन पढेर सुनाउन करिब डेढ घण्टा लाग्यो । खाना ब्रेकपछि फेरि सुरु भएको बैठक दिनभर बैठक चल्यो, केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखे ।

तर उनीहरु समीक्षा प्रतिवेदनभन्दा महामन्त्री ढकालको कार्यशैलीमाथि केन्द्रित भए । ढकालले तयार पारेको समीक्षा प्रतिवेदन मात्र होइन, उनलाई महामन्त्री नमान्ने बताएका छन् ।

महामन्त्रीको प्रस्तावअनुसार सभापतिले टेबल गरेको र त्यसमाथि छलफल मात्र गरेको रास्वपा सहप्रवक्ता मनिष झाले बताए । प्रस्तावमाथि छलफल गरेर पुनरावलोकन गरेपछि मात्र स्वीकार गर्न सकिने भन्दै उनले भने, ‘जभाथावी लेखेर कसैले टेबल गर्छ भने कसरी सांगठनिक दस्तावेज मान्न सकिन्छ ?’

साथै महामन्त्रीको व्यवहार अराजक भएको भन्दै कारबाही गर्नुपर्नेमा सबैजसो एकमत देखिएका छन् । ‘महामन्त्रीलाई कारबाही गर्नुपर्छ, यदि यो अराजकतालाई दण्डित नगर्ने हो भने पार्टीमा खराब नजीर बस्छ भनेर लगभग सर्वसम्मत ढंगले आवाज उठानुभएको छ’, उपसभापति स्वर्णिम वाग्लेले भने ।

नेताहरुका अनुसार महामन्त्री ढकाल मुखमा टेप लगाएर बस्ने र अरुले उनीमाथि कारबाही गर्न माग गरेको केन्द्रीय समितिको बैठक निकै असहज थियो ।

तनावपूर्ण बैठकमा उठेका प्रश्नहरुको जवाफ दिन महामन्त्री ढकाललाई भनेका थिए । सभापति लामिछानेले त ढकालले लिखित रुपमा तयार पारेको धारणा प्रस्तुत गर्न भनेका थिए । तर ढकालले आफूमाथि लागेका व्यक्तिगत आरोपको समेत खण्डन गर्दै ६ पृष्ठ लामो धारणा सञ्चार माध्यमलाई पठाएका थिए ।

पार्टीमा पेश गर्नु अगाडि नै सञ्चार माध्यममा पठाएर आफूहरुको मानमर्दन गरेको भन्दै उनीहरुले लामिछानेको प्रस्ताव अस्वीकार गरेका छन् ।

त्यसपछि महामन्त्री ढकाल बैठक छाडेर हिँडे ।

रविमाथि खनिए ढकाल

ढकाल तिनै नेता हुन्, जो कुनै बेला सभापति लामिछानेसँग अति निकट थिए । अनि अरु केन्द्रीय सदस्यलाई बैठकस्थलमा मोबाइल फोन लैजान समेत बर्जित गर्थे । ढकालकै शब्दमा भन्दा पार्टीको जलेश्वर बैठकको निर्णय विपरीत लामिछानेकै अनुकुल सचिवालय समिति बनाउन समेत भूमिका खेलेका थिए ।

त्यो बेला रविले देश बनाउँछन् भनेर सहयोग गरेको, तर गृहमन्त्री भएपछि देश बनाउँदैन भन्ने निष्कर्षका साथ आफूले आलोचनात्मक ढंगले हेर्न थालेको ढकाल बताउँछन् । मुखमा लगाएको मास्कमा कालो टेप लगाएर सञ्चारकर्मीहरुमाझ उपस्थित भएका उनले डीएसपी सरुवासम्म संलग्न भएको बताए । गृहमन्त्रीसमेत रहेका लामिछानेको कार्यशैली कस्तो हो भनेर उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, गृह सचिवले भन्न सक्ने उनले बताए ।

‘आजको दिनको महामन्त्रीलाई दोष थोपरेर आफ्नो अक्षमतालाई ढाक्न खोज्नुभयो, यो आपत्तिजनक छ’, उनले भने ।
हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको उनले बताए ।

पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’

उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

बुधबारको बैठकमा प्रत्यक्ष प्रशारण नहुँदासम्म आफूले नबोल्ने भन्दाभन्दै जबर्जस्ती बोल कि बोल भनेर आफूलाई ह्यारेसमेन्ट (दुर्व्यवहार) गरेको समेत आरोप लगाए ।

कारबाहीको तयारी

बुधबार साँझसम्म ढकालमाथि रास्वपाले कारबाही त भएको छैन, तर त्यो धेरै टाढा देखिन्न । उपसभापति स्वर्णिम वाग्लेका अनुसार अनुशासनको डण्डा महामन्त्री ढकालमाथि चाहिँ लाग्दैन भन्दै देशभरबाट फोन आएको छ । बैठकमा नेताहरुले समेत उनको प्रस्तुति यति अस्वभाविक किन भनेर प्रश्न गरेका छन् ।

सभापति लामिछानेले भने आक्रोशमा आएर हठात कारबाही गर्नु हुँदैन भनेको भन्दै उपसभापति वाग्लेले भने, ‘अनुशासन आयोगबाट ट्याकल गरौं भनेर संयमित ढंगले लागेका छौं ।’

केन्द्रीय सदस्य सन्तोष परियार भने प्रतिवेदनमाथि छलफल गर्नुलाई ह्यारेसमेन्ट भन्न नमिल्ने बताउँछन् । उनले अगाडि भने, ‘अनुशासनभन्दा बाहिर गएर अराजकता सिर्जना गर्नुभयो । यो किसिमको अराजकता, अभद्रता क्षम्य छैन ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?