+
+

मुकुलको प्रतिवेदन : सभापतिको बोलीमा लगाम लगाउनुपर्छ

ढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असार २० गते २०:२७

२० असार, काठमाडौं । महामन्त्री मुकुल ढकालले पेस गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार सार्वजनिक गरेको छ ।

रास्वपा संकटमा रहेको उल्लेख गर्दै ढकालले पार्टी सुधारको सुरुवात सभापति रवि लामिछानेबाट गर्नुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमा प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउनुपर्ने, २०८४ को चुनावअघि बालेन शाहसँग सहकार्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

पार्टीको जनमत खस्किएकाले यही अवस्थामा चुनावमा जाँदा १/२ सिट भन्दा जित्न नसक्ने ढकालले बताएका छन् । ढकालले आर्थिक रुपमा सबल व्यक्तिहरू मात्रै पार्टीमा प्रवेश हुने अवस्था बनेको उल्लेख गरेका छन् ।

सभापतिमाथि दर्जनौं प्रश्न

प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गरेका छन् । सरकारमा सहभागी हुँदा सभापति नै किन जानुपरेको भनी शुभेच्छुकहरूले प्रश्न गरेको ढकालले प्रतिवेदनमा लेखेका छन् । ‘सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सीके राउतजस्तो ब्याकमा किन नबसेको ?,’ ढकालले प्रतिवेदनमा लेखेका छन्, ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’

गृहमन्त्रीको सचिवलायमा ग्यालेक्सी टेलिभिजनमा सँगै काम गरेकाहरू धेरै भएको पनि ढकालले प्रश्न उठाएका छन् । ‘सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?’ प्रतिवेदनमा लेखिएको छ, ‘सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ । सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् ।’

धेरै बोलेर पार्टी कमजोर हुने अवस्था बनेकाले विशेषतः सभापतिले बोलीमा लगाम लगाउनुपर्ने सुझाव दिइएको छ । ‘तयारी र गुदी विना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्काल ताली त पाइयो होला तर यसले पार्टीलाई क्षति मात्र गर्‍यो,’ ढकाल लेख्छन्, ‘आउने चुनावसम्म पार्टीका नेताको बोलीका क्लिप्सहरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनपर्छ ।’

जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी परेको उल्लेख गरिएको छ । नेताहरूमा अध्ययन कम, विचार कम, काम कम तर बोली धेरै देखिएको प्रतिवेदनमा लेखिएको छ ।

रास्वपा नयाँ पार्टी बनाउने कि सुधारिएको पुरानो पार्टी तहको मात्र बनाउने ? प्रश्न उब्जिएको प्रतिवेदनमा लेखिएको छ । ‘पार्टी सरकारमा गएको औचित्य पुष्टि गर्नपर्छ । ढिला नगरी हाइ प्रोफाइल भ्रष्टाचार फाइलहरू खोलिनपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रत्यक्षमा १–२ सिट जित्ला !

पार्टीको धरातल कमजोर रहेकाले जनमत घट्दै गएको ढकालको प्रतिवेदमा उल्लेख गरिएको छ । पार्टीको वर्तमान भनेको जनमत नभएको अवस्था उनले उल्लेख गरेका छन् । ‘जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला,’ प्रतिवेदनमा भनिएको छ, ‘भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ ।’

बालेनसँग सहकार्यको प्रस्ताव

२०८४ को स्थानीय चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर काठमाडौंका मेयर बालेन शाहसँग सहकार्य गर्न सकिने प्रतिवेदनमा लेखिएको छ । स्थानीय तहमा गैरदलीय उम्मेदवार बनाए उनीसँग कार्यगत एकता गर्न सकिने ढकालको निचोड छ ।

स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तहलाई गैरदलीय बनाउने अभियान चलाउन आवश्यक रहेको उल्लेख गरिएको छ । रास्वपाले पार्टीको उम्मेदवार स्थानीय तहमा उम्मेदवार नबनाए बालेनसँगको सहकार्य त्यति पर नभएको उल्लेख गरिएको छ । ‘बालेन, गोपी हमाल र हामी मिल्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ तर यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन् तर माहोल अहिलेबाट बनाउन जरुरी छ,’

प्रतिवेदनमा भनिएको छ, ‘बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले हामीलाई थप क्षति मात्र हुन्छ । आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रा लागि हितकर छ ।’

प्रदेश संरचना खारेजको पक्षमा उभिनुपर्दछ

प्रदेश संरचना सुधार भनेर लेखिए पनि पार्टीले यो संरचना खारेज गर्ने मुद्दा उठाउनुपर्ने प्रतिवेदनमा लेखिएको छ । ‘मेरो विचारमा पार्टीले इन्तु, किन्तु, परन्तु, केही नलगाइ प्रदेश संरचना खारेजको मुद्दा उठाउनपर्छ,’ ढकालले लेखेका छन्, ‘प्रदेश जनताको माग नै होइन । जनताको एकल माग छ, प्रशासन सुधार ।’

राजनीतिक पार्टीहरूले आफ्नो नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रदेश राखेको दाबी प्रतिवेदनमा गरिएको छ । ‘पार्टीले प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनपर्छ । रास्वपाले यो मुद्दा नउठाए भोलिका दिनमा यही मुद्दामा नेपाली राजनीतिमा नयाँ शक्ति स्थापना हुन सक्ने प्रशस्त जग खाली छ,’ ढकाल लेख्छन्, ‘प्रदेश संरचना खारेजको मुद्दा बोक्ने मात्र होइन, खरो रूपमा उत्रन पनि पर्छ, पार्टीका सबै नेता प्रदेश खारेजीका लागि मुखारित हुनपर्छ । आगामी चुनावमा ‘पुरानालाई प्रदेशमा, नयाँलाई संघमा’ भनी चुनावी नारा बनाउनुपर्ने उनले लेखेका छन् ।

ढकालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका एजेन्डा पार्टीले बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टीले वाचा पत्रमा लेखेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जुन छ त्यो ठीक छ र त्यसका बारेमा पार्टीका नेताहरूले जोडतोडले नबोलेको गुनासो छ,’ प्रतिवेदनमा भनिएको छ ।

सञ्चार, संवाद, सम्पर्कको अभाव

पार्टीका केन्द्रीय नेताहरूमा फोन नउठाउने प्रवृत्ति रहेको औंल्याइएको छ । नेताहरूले जिल्ला वा पालिकाका कार्यक्रममा आउँदा खबर नगर्ने गुनासो शुभेच्छुकको छ ।

कार्यकर्ता र शुभेच्छुकले पार्टीका मन्त्री, सांसद र नेतालाई भेट्न नपाएको गुनासो राखेका छन् । गुनासो व्यवस्थापन पार्टीभित्र कमजोर रहेको औंल्याइएको छ । ‘केन्द्रीय समिति सदस्य थप्दा वा विभागमा नियुक्ति गर्दा स्थानीयस्तरमा सामान्य सोधपुछ पनि गरिएन,’ सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

केन्द्रीय नेता भूगोलमा नखटिएको गुनासो कार्यकर्ताले गरेका छन् । पार्टीभित्र कसलाई भूगोलमा खटाउने आधार नभएको समस्या देखाइएको छ । ‘हालका सदस्यहरूलाई थोरैलाई केन्द्रीयस्तरमा विषय विज्ञता वा अन्य आवश्यक कामका लागि राख्नपर्ने र बाँकी सबैलाई भूगोलमा खटिने गरी तोक्नुपर्ने आवश्यक छ,’ प्रतिवेदनमा सुझाव छ ।

कामको मूल्याङ्कन नभएको र गुटगत राजनीति हाबी भएको प्रतिवेदनमा लेखिएको छ । इमान्दारीपूर्वक काम गर्ने पार्टी सदस्यको पार्टीले उचित मूल्याङ्कन गर्न नसकेको लेखिएको छ ।

सुविधाभोगी नेता

नेताहरू सुविधाभोगी भएको प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय नेताहरू काठमाडौं बाहिर जाँदा जसले गाडी चढाउन सक्छ उसैसँग मात्र हिँड्ने, ठूला होटलमा जसले बसाउन सक्छ, उसैकोमा मात्र बस्ने जस्ता सुविधाभोगी देखिएको प्रतिवेदनमा लेखिएको छ । ‘पार्टी एलिटहरूको मात्र हो कि जस्तो आभास हुन थालेको छ । आम जनता नेताहरूबाट टाढा हुँदै गएको र धनी वा दलालहरूले नेताहरूलाई घेर्दै गएको विषय उठान भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

अवसरवादीहरूको झुण्ड

रास्वपा अवसरवादीहरूको झुण्ड भइसकेकाले शुद्धीकरण आवश्यक रहेको प्रतिवेदनमा लेखिएको छ । पार्टी शुद्धीकरण केन्द्रबाटै हुनुपर्ने ढकालको जिकिर छ ।

ढकालले तयार गरेको प्रतिवेदनमा पार्टी एनजिओ जस्तो देखिएको लेखेका छन् । प्रत्येक विषयमा अल्पमत र बहुमतले निर्णय गर्दा पार्टीको मूल विचार नै छायामा परेको उल्लेख गरिएको छ । ‘राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता जाने दुविधा भएमा छलफलअनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

सामान्यभन्दा सामान्य कुरामा कार्यविधि खोज्ने, नेता र कर्मचारीको फरक छुट्याउन नसक्नु, विचार भन्दा मत सङ्ख्या प्रधान हुनु आदि एनजीओको प्रारूप भएको ढकालले लेखेका छन् ।

पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन

रास्वपामा आर्थिक रुपमा सबल व्यक्तिहरू मात्रै आर्कषित भएको जनाइएको छ । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु भन्ने बोली उपल्लो तहको नेतृत्वबाट नै सुनिएको प्रतिवेदनमा लेखिएको छ । ‘वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो । गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ । यस हिसाबमा कार्ल मार्क्स यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ,’ प्रतिवेदनमा भनिएको छ ।

समाजको देखासिखी गर्ने बानी बदल्न आएको पार्टी, आफैँ देखासिखीमा लागेको प्रतिवेदनमा लेखिएको छ । पार्टी सरकारमा गएपछि बेथितिले निरन्तरता पाएको उल्लेख गरिएको छ । ‘पाँच तारे होटलमा मात्र कार्यक्रम गर्ने, बहस गर्ने कार्यक्रम राख्नेहरूका कार्यक्रममा पनि पार्टीका नेताहरूको उपस्थिति देखियो,’ प्रतिवेदनमा लेखिएको छ,‘ पाँच तारे होटलमा कार्यक्रम राखेर कर्णालीमा छौपडी प्रथा कसरी अन्त्य गर्न सकिन्छ?’

पार्टीभित्र रहेको विकृत प्रवृत्तिले ‘हाम्रा राता पासपोर्ट धारीहरूमध्येमा केही भोलि यो पार्टी यस्तै रहेछ भनेर ०८४ को सुरुवाततिर अमेरिकातिर नै भासिए भने अचम्म नमान्दा हुने’ लेखिएको छ ।

उपनिर्वाचनमा उम्मेदवार छनोट गलत

इलामको चुनावमा मिलन लिम्बुलाई टिकट दिनुलाई गल्ती भनेर औंल्याइएको छ । ‘केही दिन अगाडि मात्र पार्टीलाई गाली गरिरहेको व्यक्तिलाई टिकट दिइनु गलत रहेको बुझाइ छ,’ प्रतिवेदनमा भनिएको छ ।

इलामको उपनिर्वाचनलाई हल्का रूपमा लिए भविष्यमा ठूलो नोक्सानी हुने लेखिएको छ । उपचुनावका लागि तयारी पनि नपुगेको जनाइएको छ । पार्टीले उम्मेदवार छनोट विधिमा स्पष्ट पार्न नसक्नु समस्याका रुपमा औंल्याइएको छ ।

२०८४ को चुनावको बेला टिकट वितरणदेखि, भित्रभित्रै खेलिएका खेलहरू एकै पटक उजागर हुँदाको सावधानी हामीले अपनाउन सर्तक हुनुपर्ने प्रतिवेदनमा लेखिएको छ ।
इलाम २ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवारले चौथो स्थानको मत ल्याएका थिए ।

गगनको क्षेत्रमा उम्मेदवार नदिंदा चोट पुगेको छ

गत निर्वाचनमा काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापा विरुद्धको उम्मेदवारलाई फिर्ता गर्नु गलत भएको प्रतिवेदनमा लेखिएको छ । थापाका विरूद्ध सशक्त उम्मेदवार उठाइ उनको राजनीतिलाई त्यहीं विराम लगाइदिने रणनीति पार्टीले बदलेको लेखिएको छ । ‘गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?