+
+

‘आरोहणको रोयल्टीले सगरमाथाको सरसफाइ धान्न मुस्किल छ’

सगरमाथा सफाइ एकदमै खर्चिलो छ । सगरमाथा आरोहणबाट आएको रोयल्टीले मात्रै यो सरसफाइ धान्न मुस्किल पर्छ । त्यसैले अब सरसफाइका लागि छुट्टै रकम लिने बारेमा पनि सोच्न थाल्नुपर्छ ।

आङ्बाबु शेर्पा, आरोही आङ्बाबु शेर्पा, आरोही
२०८१ असार २१ गते १७:३४

सगरमाथामा फोहोर कति छ भन्ने ठ्याक्कै अनुमान गर्न सकिन्न । यतिबेला सफा गरेर आएकै ठाउँमा अर्कोपालि जाँदा आइसको मूभमेन्ट भएर पुरानो फोहोरहरू देखा पर्न थालिसकेका हुन्छन् । तलको फोहोर माथि आइसकेको हुन्छ ।

मैले यही २१ मे २०२४ मा सगरमाथा आरोहण गरेको थिएँ । यसअघि पनि म व्यवस्थापनको कामका लागि क्याम्प २ र ३ सम्म गइराख्थें । पहिले र अहिले धेरै फरक देखिन्छ । पहिले एकदमै धेरै जहाँ पायो त्यहीं फोहोर देखिन्थ्यो ।

कहिलेकाहीं त ककनीतिर जाँदा देखिने जस्तै फोहोरहरू त्यहाँ देखिन्थ्यो । अहिले धेरै कम भए जस्तो महसुस हुन्छ । त्यहाँ हुने भनेको टेन्ट, टेबुल, चियर, भाँडाकुँडा यत्रतत्र छरिएका देखिन्छन् । पछिल्लो समय सिसाको बोतल, रबर, प्लास्टिकहरू हुन्थे ।

सरसफाइ अभियान चलाउँदा कस्तो गाह्रो हुँदोरहेछ भने कतिपय ब्लू आइसमा टाँसिएको हुँदोरहेछ, त्यस्तोमा निकाल्न मुस्किल पर्छ । आइसभित्र फोहोर जमिसकेको हुन्छ, कि त पानी तताएर निकाल्नुपर्‍यो । त्यसलाई निकाल्न पनि गाह्रो हुन्छ ।

क्याम्प ३ मा केही फोहोरहरू देखिन्छन् । क्याम्प ४ मा फोहोरहरू आइसमा टाँसिएको देखिन्छ । क्याम्प ४ मा मुख्य समस्या भनेको अक्सिजन हो । विना अक्सिजन उभिन पनि सकिंदैन, हिंडडुल पनि गर्न सकिंदैन । प्रयोग भइसकेका अक्सिजनहरू पनि त्यत्तिकै फ्यालिएका छन् त्यहाँ । सातु खाने र विदेशीलाई नुडल्स पकाउने बाहेक अरू उपाय हुँदैन ।

धेरै पहिलेदेखि आइसमा टाँसिएर बसेको फोहोरहरू यहाँ छ । धेरैपछि सरसफाइ अभियान भइरहँदा पनि जति खोतल्दा पनि फोहोर देखिन्छ । यसपालि हामीले मुख्य प्राथमिकता मृत शरीर ल्याउनलाई दिएका थियौं । पाँच वटा मृत शरीर ल्यायौं ।

त्यो निकाल्ने क्रममा मृत शरीरको अवस्था के छ भनेर हेर्न जानुपर्ने थियो । त्यहाँ हेर्न जाँदा अरूले सोचे जस्तो चिम्टी वा अरू कुराले चेपेर ल्याउन सक्ने अवस्था पनि थिएन । किनभने, शरीर पनि आइसभित्र हुन्थ्यो ।

यसरी त्यहाँको फोहोरलाई पानी नै पोखाएर मेल्ट गराउनुपर्छ । कि त दुई तीन दिन घाम लाग्यो भने मात्र फोहोर आफंै देखिन्छ । अर्को के देखियो भने मान्छेले जहाँ टेन्ट टाँग्ने ठाउँ छ, त्यहाँमुनि हिउँ छ, त्यसदेखि तल फोहोर पनि छ । टेन्ट उठाएपछि आइसको मात्रा मेल्ट हुँदा फेरि फोहोर देखिन्छ ।

सरसफाइ अभियान चलाउँदा मैले यो समस्या देखेको हुँ । अहिलेसम्म सगरमाथाबाट ल्याएको फोहोर भनेको क्याम्प ४ सम्मको हो । यहाँ भएको फोहोर निकै पहिलेदेखिकै हो । किनभने, पछिल्लो दशकमा भने खुम्बु आइस फल क्रस गरेर जानेले ८ किलो फोहोर ल्याउनै पर्ने प्रावधान सरकारले लागू गरेको छ ।

अहिले पूर्णतः कसरी आरोहणलाई सहज बनाउने भन्नेतिर मात्रै ध्यान देखिन्छ । सगरमाथामा आरोहीको भीडले पारेको प्रभाव, मानवीय गतिविधिले पारेको असरबारे धेरैले सोचेको देखिन्न । त्यसैले अब सगरमाथाबारे फरक तरिकाले पनि सोच्न थाल्नुपर्छ ।

एउटा मृत शरीर निकाल्न शेर्पा दाजुभाइलाई ११ घण्टा लाग्यो । एउटा मृत शरीर ३० वर्षभन्दा पुरानो थियो, ७९०० मिटरमा । शरीर आइसभित्र थियो, त्यहाँबाट शरीरलाई निकालेका थियौं । ज्याकेटको आधारमा ३० वर्षभन्दा पुरानो होला भन्ने अनुमान गरिएको हो ।

चार वटा मृत शरीर अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । एउटा मानव कंकाल छ । जम्मा पाँच वटा ल्याएको हो । अक्सिजन मास्क लगायतका आधारमा त्यो शेर्पाको हो भन्ने अनुमान गरेका छौं । यो क्याम्प ४ बाट ल्याएका थियौं । यो अलि पर थियो, तर बाटोमा नेगेटिभ भयो भनेर साइड लगाएका रहेछन् ।

लोत्से हिमालको चुचुरोको ५ मिटर तलबाट एभरेष्टको क्याम्प टु सम्म ल्याउनलाई ३७ घण्टा लागेको थियो । एभरेष्टको बाल्कोनी (८,४०० मिटर) बाट तल ल्याउन १७ देखि १८ घण्टा लागेको थियो । तान्न मात्रै एक÷डेढ घण्टा लागेको थियो । त्यो पनि स्केटमा हालेर ल्याउनुपर्ने हुन्छ ।

एक जना बराबर तीनदेखि चार वटा अक्सिजन चाहिन्छ । एक बोतल भनेको पाँच किलो हुन्छ । एक बोतल पनि सहजै ल्याउन मिल्दैन ।

अहिलेकै स्थितिमा हेर्दा अझै १० वर्षभन्दा बढी लाग्छ, सगरमाथा सफा गर्न । अहिले क्याम्प टुसम्म ५० प्रशितसम्म क्लियर भइसक्यो । यो अवस्थामा क्याम्प ४ लाई मात्र टार्गेट गरेर सफा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

हरेक वर्ष क्याम्प वाइज प्रायोरिटी दिंदा राम्रो हुन्छ कि ? कतिपय अवस्थामा एउटाले फोहोर गर्‍यो अर्कोले सफा गरिहाल्छ भन्ने सोचाइले पनि हुँदैन । एकदम चेतना फैलाउनुपर्‍यो कि यस्तो हुँदा यस्तो किसिमको असर पर्छ भनेर ।

सगरमाथा सफाइ एकदमै खर्चिलो छ । सगरमाथामा आएको रोयल्टीबाट मात्रै यो सरसफाइ धान्न मुस्किल पर्छ । अहिले पर्यटन ऐन पनि नयाँ आउन खोजिरहेको छ । त्यसबाट पनि धेरै कुराहरू सम्भव होला । सरसफाइका लागि भनेर छुट्टै रकम लिने हो कि त्यसबारेमा पनि अब सोच्नुपर्छ ।

अहिले फोहोर बापत आरोहीले ४ हजार डलर डिपोजिट गर्नुपर्छ । ८ किलो फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई बुझाएपछि पाइने कागजका आधारमा त्यो पैसा फिर्ता आउँछ ।

आरोहीबाट सरसफाइ सम्बन्धी निश्चित ५००, ३०० डलर अथवा कति भनेर तोकेर सरसफाइका लागि छुट्टै उठाउँदा पनि सहज हुन्थ्यो । विश्वमा जुनसुकै ठाउँमा हिमालमा रेन्जर पठाउँछ । अमेरिकाको डेनालीमा एउटा टिममा एउटा रेन्जर खटाएको हुन्छ । त्यो भनेको करारमा कोही सैनिक पृष्ठभूमिको मानिस माउन्टेन गाइड हुन्छन् । ऊ टिमसँगै माथि जान्छ, तल फोहोर ल्यायो, ल्याएन । सरसफाइ गर्‍यो गरेन भन्छ । त्यसले हेरेर फर्किने वित्तिकै डकुमेन्ट दिन्छ ।

चीनतिर हेर्ने हो भने पनि यहाँको जस्तो लियाजन अफिसरको भीड हुँदैन । फेरि नेपालमा लियाजन अफिसर सबै बेसक्याम्पमसम्म पनि पुग्ने होइनन् । अहिले हिमालमा हेलिकप्टर र ड्रोनको समस्या छ । अहिले पनि हेलिकप्टर ग्राउण्डेड भइराख्छन् । अवैध रेस्क्यू, क्याम्प टुमा अनियमित हेलिकप्टर उडान अवतरण भयो भनेर पनि प्रश्न उठिराखेको छ ।

यसपालि सगरमाथाबाट फोहोर संकलन गर्न ड्रोनको पनि प्रयोग भएको थियो । खुम्बु पालिकाले २०० किलो जति फोहोर, भर्‍याङ र खुम्बु आइसफलमा भएका डोरीहरूलाई आधार शिविरसम्म झारेको थियो ।

उहाँहरूले बेसक्याम्पबाट तीन वटा अक्सिजनका बोतललाई क्याम्प १ सम्म पुर्‍याउन सफल हुनुभएको थियो । यो पूर्ण रूपमा कार्यान्वयनमा जाने हो भने धेरै सजिलो हुन्छ ।

अहिले पूर्णतः कसरी आरोहणलाई सहज बनाउने भन्नेतिर मात्रै ध्यान देखिन्छ । सगरमाथामा आरोहीको भीडले पारेको प्रभाव, मानवीय गतिविधिले पारेको असरबारे धेरैले सोचेको देखिन्न । त्यसैले अब सगरमाथाबारे फरक तरिकाले पनि सोच्न थाल्नुपर्छ ।

(आरोही तथा पर्वतारोहण व्यवसायी शेर्पासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?