+
+

स्थानीय माग्छन् पार्क, बूढानीलकण्ठ बनाउँदै छ भवन

रोक्न अदालतको आदेश

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार २३ गते १६:११

२३ असार, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले अदालतको आदेश विपरीत संरचना निर्माण गरिरहेको छ । स्थानीयको विरोधबीच नगरपालिकाले बसपार्क हटाएको स्थानमा संरचना निर्माण सुरु गरेको थियो । त्यसपछि अदालतले रोक्न आदेश दिँदा पनि काम गरिरहेको हो ।

गत वर्ष बूढानीलकण्ठ नगरपालिका–१० को शिव मन्दिर तल्लोपट्टि रहेको माइक्रो पार्क रहेको लगायत अन्य अस्थायी टहरा नगरपालिकाले हटाएको थियो ।

बेखमार्ग टोल सुधार समाजका अनुसार उक्त स्थानमा नगरपालिकाले सरकारसँग अनुमति विना नै कुनै अमुक युवा संस्थाका लागि संरचना निर्माण गरेर दिन लागेको हो ।

‘पार्क बनाउन रोकेर संरचना बनाउन जबर्जस्ती’

‘खाली जग्गामा महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई हरियाली पार्क निर्माण गरौं भनेर स्थानीय टोलवासीले वृक्षारोपण समेत गरेका थिए, तर अहिले उक्त जमिनमा नगरपालिकाले भवन निर्माण गरिरहेको छ । त्यो पनि युवा विकास केन्द्र भनेर कुनै संघसंस्थालाई दिन,’ टोल विकास समितिका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘सहर नै कंक्रिटको भइसकेको छ । अब अलिकति खाली ठाउँ राखौं भनेको सरकारी जमिनमा नगरपालिकाले आँखा लगाएपछि विरोधमा उत्रेका हौं । बिहान–बेलुका टहल्ने ठाउँ पनि छैन ।’

उनका अनुसार नगरपालिकाले सडकका लागि चालु आर्थिक वर्ष विनियोजित बजेट सडकमा खर्च नगरी बेवास्ता गरेर ठेकेदार मार्फत भवन निर्माण गर्न लागेको हो ।

‘सडकका लागि आएको बजेट मोडेर नगरपालिकाले १ करोडभन्दा बढी रकममा रिभर कर्णाली कन्स्ट्रक्सनलाई ठेक्का दियो । त्यसमा पनि चलखेल भएकै होला, नत्र स्थानीयको विरोधबीच संघसंस्थालाई भवन किन बनाएर दिन लागेको ?,’ ती पदाधिकारीले प्रश्न गरे ।

१३ चैत २०८० मा ठेक्का पाएपछि ठेकेदार कम्पनीले जेठ अन्तिम साताबाट काम सुरु गरेको थियो । स्थानीयको विरोधपछि नगरपालिका काम नरोकेपछि बेखमार्ग टोल सुधार समाजले उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनको इजलासले १६ असारमा अन्तरिम आदेश दिँदै तत्काल काम रोक्न भनेको थियो । तर, नगरपालिकाको सहयोगमा ठेकेदार कम्पनीले काम अहिलेसम्म रोेकेको छैन ।

क्लबकै जग्गामा संरचना निर्माण गर्न लागेका हौं : वडाध्यक्ष

नगरपालिकाका प्रवक्ता समेत रहेका १० नम्बर वडाध्यक्ष नवराज भट्टराई अहिले निर्माण सुरु भएको वडा कार्यालय र युवा विकास केन्द्रको जग्गा तत्कालीन अवस्थाको फ्रेन्डसिप युवा क्लबको भएको बताएका छन् ।

‘यो चाहिँ २०४८/४९ सालमा तत्कालीन गाविस हुँदा क्लबलाई लिखितपत्र नै दिएर भोगचलन गर्न दिइएको थियो । अहिले वडा कार्यालय बनाउन उपयुक्त जग्गा नहुँदा उक्त जग्गा प्रयोग गर्न हुने देखियो,’ भट्टराईले भने ।

उनले क्लबसँग जग्गा माग्दा क्लबले दिने र नगरपालिकाले क्लबको अस्तित्व जोगाइराख्न प¥यो भनेको थियो । ‘अहिले उक्त जग्गामा एकातर्फ टहरा बनाएर भाडा लगाइरहेको थियो भने अर्कातर्फ क्लबको अस्थायी भवन थियो,’ उनी भन्छन् ।

वडाध्यक्ष भट्टराईका अनुसार अहिले क्लबको अस्थायी भवन भएको ठाउँमा युवा विकास केन्द्र भनेर बहुउद्देश्यीय भवन निर्माण गर्ने टहरा बनाएर भाडा उठाइरहेको ठाउँमा वडा कार्यालय भवन निर्माण गर्ने कुरा भएको हो ।

यसमा अहिले भइरहेको विरोध राजनीतिक रूपमा उचालिएको विरोधमात्र भएको उनी बताउँछन् । ‘हाम्रो कार्यकालमा राम्रो काम भयो भने जस लैजान्छ भनेर विरोध भएको हो । नगरपालिका मातहत ल्याएर युवा विकास केन्द्र सञ्चालन गर्दा यहाँको युवाको बहुपक्षीय विकास हुने कुरा गर्दा कसरी गलत भयो ?,’ उनले भने ।

अहिलेसम्म आएको प्रश्न अब अदालतमा गएकाले त्यहीँ जवाफ दिने उनले बताए । ‘केही वर्ष अगाडिसम्म अरूले भोगचलन गरिरहँदा कसैले आवाज उठाएन । बसपार्क, अस्थायी टहरा बनाएर अमुक व्यक्तिले पैसा उठाउँदा चाहिँ अहिले विरोध गर्नेहरू कहाँ थिए ?,’ भट्टराईले भने ।

बजेट स्रोतका लागि रकमान्तर गरेका हौं : मेयर

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले वडा कार्यालय र युवा विकास केन्द्रका रूपमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको बताए । अदालतको अन्तरिम आदेश आएकाले एक–दुई दिनमा काम रोक्ने बताए ।

‘त्यो भवन निर्माण गर्दा केही मान्छेलाई चित्त बुझेको छैन । त्यही भएर विरोध भइरहेको हो । युवा विकास केन्द्र भनेको युवाको मात्रै होइन, बिहान–बेलुका वृद्धवृद्धाले योग गर्ने, महिला विकास तालिम सञ्चालन गर्ने, सिपमूलक कार्यक्रम गर्ने पनि हो । यहाँ सुरुदेखि नै केही व्यक्तिले विरोध गरिरहेका छन्,’ मेयर अधिकारीले भने ।

मेयर मिठाराम अधिकारी ।

उनले सरकारी जमिन भए पनि नगरपालिकाको स्वामित्वमा ल्याउन फाइल अगाडि बढाइरहेको बताए । ‘नगरपालिकाले बनाउने भनेकै सरकारी जमिनमा हो । अहिले भइरहेको स्थान उपयुक्त भएर बनाउन लागेको हो,’ उनले भने ।

नगरसभाबाट पास भएको सडकको बजेट रकमान्तर गरेर भवन बनाउँदा सन्तुलित विकास हुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा मेयर अधिकारीले १० नम्बर वडामा सडक बनाउनुपर्ने कहीँ आवश्यकता नभएकाले बजेट व्यवस्थापन गर्न रकमान्तर गरेको बताए ।

‘कहीँ न कहीँबाट स्रोत नभई त कसरी विकास हुन्छ ? बजेटमा छुट्याएको सबै पैसा त्यही शीर्षकमा नजान सक्छ । त्यही भएर रकमान्तर गरेको हो,’ उनले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?