+

बाढीपहिरोले बढायो संक्रामक रोगको जोखिम, कसरी बच्ने ?

२०८१ असार  २३ गते १६:४२ २०८१ असार २३ गते १६:४२
बाढीपहिरोले बढायो संक्रामक रोगको जोखिम, कसरी बच्ने ?

मनसुन सक्रिय भएसँगै काठमाडौं लगायत नेपालका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम ह्वात्तै बढेको छ । तर यस्तो जोखिमको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिंदै आइरहेको पनि थियो । यस्ता विपद्को समयमा पहिलो प्राथमिकतामा सधैं विस्थापितहरुको लागि गाँस, बास र कपास हुने गर्छ । यो स्वाभाविक पनि हो । तर यस्ता प्राकृतिक विपद्लगत्तै स्वास्थ महामारीको जोखिम पनि सधैं उच्च रहन्छ ।

विशेषगरी बाढीको समय पानीजन्य रोग फैलिने सम्भावना उच्च हुन्छ । हैजा, टाइफाइड, इकोलाई, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस ए र ई, छालारोगको संक्रमण जस्ता रोग पानीकै कारण लाग्ने गर्छन् । तर यी रोग बाहेक झाडापखाला तथा ज्वरोका लक्षण देखाउने तर पुष्टि नभएका अनेकौं संक्रमण पनि यस्ता विपद्का समयमा बढी देखिने सम्भावना रहन्छ । नेपालमा यसै पनि झाडापखाला तथा ज्वरोका लक्षण भएका तर पुष्टि नभएका अनेकौं संक्रमणको बाढी नै छ ।

हैजा

‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाको कारणले यो रोग लाग्ने गर्छ । नेपालमा दशकौंदेखि देखिंदै आइरहेको र विगतमा उल्लेखनीय रुपमा मानवीय क्षति समेत गराएको यो ब्याक्टेरिया काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अहिले पनि देखिंदै आइरहेको छ । तीव्र गतिमा फैलिन सक्ने र जटिल/कडा हैजा देखिएको अवस्थामा केही घण्टाभित्र उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्छ । चामलको माड जस्तो (चौलानी पानी जस्तो ) तारन्तार पखाला लाग्नु, बान्ता हुनु, मांसपेशीका (विशेषगरी खुट्टाको) बौडिनु हैजाका मुख्य लक्षण हुन् । तर रोगको निश्चितता भने दिसाको कल्चर गरेपछि मात्र हुने गर्छ ।

हैजा संक्रमित अधिकांशमा लक्षण खासै कडा नहुने वा लक्षणविहीन हुने भएपनि यस्ता संक्रमितले आफू संक्रमित भएको १० दिनसम्म पनि ब्याक्टेरिया अरुलाई सार्न सक्छ । तसर्थ हैजाबाट बच्न वा थप फैलिन नदिन सुरक्षित पानीका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिन अति आवश्यक पर्छ । हैजाविरुद्ध खोप उपलब्ध भएपनि नेपालमा भने अधिकांशलाई थाहा नै छैन ।

टाइफाइड

टाइफाइड ‘सालमोनेला टाइफी’ नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो नेपालमा चिरपरिचित रोग हो । ज्वरो आयो कि टाइफाइड होला भन्ने चलन अहिले पनि नेपाली समाजमा देखिन्छ । यो मुख्यगरी ब्याक्टेरिया संक्रमित पानी तथा खानेकुराबाट सर्ने र फैलिने गर्छ । उच्च ज्वरो, वाक-वाक लाग्नु, पेट दुख्नु, टाउको/जीउ दुख्नु, कब्जियत वा पातलो दिसा लाग्नु र कतिपयमा रातो बिमिरा देखिनु यसका मुख्य लक्षणमध्येमा पर्छ ।

बिरामीको मृत्यु समयमा उपचार नपाए आन्तरिक रक्तस्रावको कारणले हुनसक्छ । यो रोगबाट बच्न सफा पानी, खानेकुरा तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । टाइफाइडविरुद्ध खोप उपलब्ध भएपनि धेरैले लगाएको देखिंदैन । चाखलाग्दो कुरा के छ भने यो खोपको सुरक्षा तथा प्रभावकारिताको परीक्षण नेपालमा भएको थियो ।

इकोलाई

पछिल्लो केही वर्षयता नेपालमा उपलब्ध पिउने पानीमा यो ब्याक्टेरिया निरन्तर देखिने गरेको पाइन्छ । इकोलाई ब्याक्टेरियाको एस्टेक प्रजाति सबैभन्दा बढी जटिल इकोलाई मानिन्छ । यसले मिर्गौला फेल समेत गराउन सक्छ । नेपालमा जारको पिउने पानीमा विगत केही वर्षदेखि इकोलाई देखिंदै आइरहेको भनेपनि कुन प्रजातिको भन्ने सार्वजनिक पुष्टि हुने गरेको पाइँदैन । संक्रमण भएको तीनदेखि आठ दिनमा यसको लक्षण देखिन सक्छ । रगत मिसिएको पातलो दिसा, ज्वरो, बान्ता तथा पेट बौडिनु जस्ता लक्षण संक्रमितमा देखिन सक्छ । बाढी आउँदा इकोलाई पनि व्यापक देखिने गरेको विभिन्न देशमा गरिएका अनुसन्धानहरुले देखाएका छन् ।

लेप्टोस्पाइरोसिस

यो ब्याक्टेरिया ‘लेप्टोस्पाइरा’ हुने रोग हो । यो विशेषगरी बाढी गएको बेला देखिने गरेको विभिन्न देशमा गरिएको अध्ययनले देखाउँछ । संक्रमित जनावर अझ विशेषगरी संक्रमित मुसाको पिसाबबाट यो ब्याक्टेरिया फैलिने गर्छ । यो ब्याक्टेरिया माटो तथा पानीमा महिनौंसम्म पनि जीवित रहन सक्छ ।

‘लेप्टोस्पाइरा’ ब्याक्टेरिया काटिएको छाला, नाक, मुख, आँखा र संक्रमित खानेकुरा वा पानीको प्रयोगबाट पनि सर्ने गर्छ । संक्रमण भएको दुईदेखि ३० दिनमा लक्षणहरु देखापर्छन् । लक्षणहरुको दुई चरणमध्ये पहिलोमा ज्वरो आउने, जीउ दुख्ने, वाकवाक र बान्ता हुनसक्छ । धेरैलाई पहिलो चरणमै रोग निको हुने गरेको भएपनि बिरामी दोस्रो चरणमा प्रवेश गरे जटिल अवस्था निम्तिन सक्छ । दोस्रो चरणमा मिर्गौला, कलेजो तथा मष्तिस्कमा असर पार्ने हुन्छ । समयमा पहिचान गरी उपचार गरे रोग पूर्णरुपमा निको हुन्छ ।

भाइरल हेपाटाइटिस ए र ई

सर्वसाधारणले ‘जण्डिस’ भनेर चिनिने रोग नै भाइरल हेपाटाइटिस हो । तर जन्डिस भाइरल हेपाटाइटिसको लक्षणमध्ये एक हो । हेपाटाइटिस ए र ई खासगरी संक्रमित पानीबाट फैलिन्छ । नेपालमा यी दुवै हेपाटाइटिस धेरैजसो गर्मी र वर्षायाममा देखिंदै आएको पाइन्छ ।

ज्वरो आउनु, खानामा रुचि घट्नु, पेट असहज महसुस हुनु, दिसा खैरो देखिनु, पिसाब कालो देखिनु तथा आँखाको सेतो भाग पहेंलो हुनु हेपाटाइटिस ए का मुख्य लक्षण हुन् । तर धेरैले आँखाको सेतो भाग पहेंलो भएपछि मात्र आफू संक्रमित भएको शंका गर्छन् । हेपाटाइटिस ई का लक्षणहरु पनि ए सँग धेरै हदसँग मिल्ने गर्छ । तर संक्रमित गर्भवती महिलामा हेपाटाइटिस ई को मृत्युदर ३० प्रतिशतसम्म रहेको पाइन्छ ।

छालारोगको संक्रमण

विश्वमा नै बाढीग्रस्त क्षेत्रमा छालारोगको ठूलो समस्या हुने गरेको पाइन्छ । लेखक केही वर्षअघि तराईको बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य शिविरमा जाँदा छालारोगको संक्रमण अत्यधिक देखेको थियो । बाढीमा मिसिएर आउने विभिन्न संक्रमण, रसायनले गर्दा छालामा समस्या देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । समयमा पुष्टि गरेर उपचार गर्न सके जटिलताबाट भने बच्न सकिने छ ।

समग्रमा, बाढीपहिरोपछि संक्रमणको महामारी फैलिनसक्ने जोखिम सधैं उच्च हुने भएकाले सम्बन्धित निकायको ध्यान सफा र सुरक्षित पानीको व्यवस्थापनमा जानु अति जरुरी हुन्छ । बाढी प्रभावित वा विस्थापितहरुले पनि व्यक्तिगत सरसफाइमा सचेत रहन अति ज़रुरी छ । तत्काल पानीजन्य रोगको जोखिम उच्च भएपनि त्यसपछि कीटजन्य रोगहरु जस्तै डेंगु, चिकुनगुनिया तथा स्क्रब टाइफस जस्ता रोगको जोखिम हुनसक्छ ।

डा. शेरबहादुर पुन बाढीपहिरो संक्रामक रोग

धेरै कमेन्ट गरिएका

डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय