
‘यो सानो-सानो दोकानहरू बन्द गराइदिउँ, कोही डमरु बजाउँदै आएको छ, कोही मादल लिएर आएको छ, कोही घण्टी बजाउँदै आएको छ, यी दोकान बन्द गराऊँ; २०८४ सालको चुनाव कांग्रेस र एमालेले लड्ने हो।’
यति भनेको त तपाईंलाई याद नै होला, तपाईंका ‘भाइ’ हरूले खुब ताली पनि ठोके होलान् तर नेपालको राजनीतिले विरलै पाएको ‘नेता’ भन्न योग्य मान्छेबाट कम्तीमा यत्तिको हलुका टिप्पणी अपेक्षित थिएन।
गगनजी ! के लामो समय ‘सम्भावना बोकेको नेता’ भनेर लागेको ट्याग अब तपाईंलाई भारी हुँदै गएको हो, केही गर्नैपर्ने बाध्यता तपाईंमाथि हावी हुँदै गएको हो ? के तपाईं लामो समय बोलीमा लाइमलाइट तर कार्यान्वयनमा साइडलाइन भएकाले ओभरकम्पेंसेट त गरिरहनुभएको छैन ?
होइन भने लोकतन्त्रलाई आफ्नो र आफ्नो पार्टीको डीएनए मान्ने तपाईं आफैं निषेधको अलोकतान्त्रिक परिपाटीको पैरवी किन गरिरहनुभएको छ ? के हाम्रो निर्वाचन प्रणालीले एमाले र कांग्रेस बीचको मात्र प्रतिस्पर्धा खोजेको हो ? के हामी जनताले तपाईंको पार्टी र एमाले जस्तो भए पनि स्वीकारिदिनुपर्ने हो ?
के ‘स्थायी’ राजनीतिको लागि उमेर र संख्याको आधारमा नयाँ सोच, नयाँ एजेण्डा वा नयाँ नेतृत्वलाई बलमिच्याइँ गर्दै निषेध गर्नुपर्छ भन्ने तपाईंको लाइन हो ? के हामी जनताले मन परे पनि नपरे पनि भोट हालेर तपाईंहरूको सत्तारोहण वैधानिक पारिदिनुपर्ने हो ?
मैले चिनेको र मैले सम्मान गर्ने गगन थापा यो होइन। गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा फरक विचार राख्दै घर तल कालो झण्डा देखाउने तपाईं होइन ? तपाईंको त्यो विचारलाई ‘खुद्रे विचार’ भनेर निस्तेज गरिदिएको भए तपाईं ‘गगन थापा’ बन्नुहुन्थ्यो ?
वा पुस ५ मा केपी ओलीले गरेको संसद् विघटनको बेला तपाईंले पार्टी लाइन विपरीत सुरुमै लिएको विरोधी विचारलाई ‘खुद्रा पसले विचार’ भनेर भनिदिएको भए के हुन्थ्यो ? संस्थापनको विरोध गर्दै, गलत विरुद्ध घरी मोर्चामा त घरी एक्लै लड्दै तपाईंको राजनीति यहाँसम्म आइपुगेको होइन ? अनि आज आएर तपाईं भन्दा फरक विचार र फरक पद्धति मान्नेलाई तपाईं ‘खुद्रा’ भनेर आफू गल्लाको घागडान साहु भएर बस्ने ?
मैले चिनेको गगन थापा यो होइन।
‘खुद्रा’ पसल बन्द गर्नका लागि संसद्लाई पैतालामा राखेर कुल्चने केपी ओलीसँग मिल्न तपाईंलाई कुन नैतिकताले दिन्छ? संसद् हो, प्रचण्डले कम्तीमा संसदीय खेल खेलेका छन्। फसाउने र फस्ने कुनै पनि कारोबारमा दुवै पक्ष हुन्छन्, अनि आफ्नो स्वार्थको लागि मिल्ने अनि कुरा नमिलेपछि प्रचण्डलाई अवसरवादी भनेर तपाईं आफू पानीमाथिको ओभानो भएर संसद्लाई निकम्मा बनाएको दलसँग घाँटी जोड्न जाने कुरा पनि हामीले सहर्ष स्वीकारीदिनुपर्ने ?
लोकतन्त्रमा धेरै प्रतिस्पर्धी भए भनेर लोकतन्त्रकै हुर्मत लिनेसँग मिल्नुपर्ने यो कस्तो बाध्यता हो, यो कस्तो बुझिनसक्नुको ‘ट्रेड अफ’ हो ?
तपाइँ त बागी राजनीति गर्दै आउनुभएको, संस्थापन भन्दा फरक कुनै पनि आन्दोलन वा कडी कसरी र किन शक्ति बनेर आउँछन् तपाईंलाई मैले भनिरहन सुहाउँदैन। एउटा कुरा मलाई बुझाउनुस्, एमाले र कांग्रेसले मिलेर देश र जनताको स्वाधीनताको लागि, सार्वभौमिकताको लागि, समानताको लागि, सम्मानको लागि लडेको भए वर्तमान नयाँ शक्तिको त कुरै छोडिदिनुहोस् के माओवादी युद्धको पनि आवश्यकता पर्थ्यो र ?
अमूक पार्टी हुँदा वा नहुँदा जनतालाई केही फरक पर्दैन तर चलिरहेका पार्टीहरू पतीत भएपछि, कुशासनमा लिप्त भएपछि, एजेण्डामा नटिकेपछि जनताले तिनीहरूको विकल्प खोज्न पनि पछि पर्दैनन्। अहिले तपाईंले भनेको ‘खुद्रा पसल’ तपाईंहरूकै अक्षमताका परिणाम हुन्।
गगनजी, अर्थतन्त्रमा केही सीमितहरूको मात्र मनोमानी रहने गरी बनेको बजारलाई द्वयधिकार (duopoly) बजार भनिन्छ जहाँ नयाँ व्यवसायीहरूलाई जानी-जानी शक्तिको आडमा कानुनत: रोकिन्छ। के तपाईंले नेपालको राजनीतिमा द्वयधिकार बनाउन खोज्नुभएको हो ?
नेपालमा दुई पार्टी भए भने राजनैतिक स्थायित्व हुन्छ भन्ने तपाईंको विश्वास हो भने दुवै मध्ये कुनैलाई पनि दिन्न भन्ने गरी ‘नो भोट (NOTA)’ राख्न तपाईं तयार हुनुहुन्छ ? त्यसले ल्याउने परिणाम स्वीकार्न तयार हुनुहुन्छ ?
राजनीतिमा अस्थिरता हुनुपर्छ त कसले भन्छ र गगनजी ? तपाईंलाई पनि थाह नै छ, यहाँ अँध्यारोमा माछा मार्न पल्केका पनि धेरै छन् तर ती अपवाद हुन्। आम जनता, संस्था, व्यवसाय सबैले राजनैतिक स्थायित्व खोजेका छन्।
पालै पिच्छेको नयाँ कानुन, नयाँ मन्त्री, नयाँ सचिव त यहाँ कसलाई चाहिएको छ र? भूतपूर्व भनेर केही अमूक व्यक्तिलाई राज्यको स्रोतबाट फोकटमा पाल्न यहाँ कसलाई पो मन छ र ? स्थिर सरकार होस्, ५ वर्ष विना अवरोध चलाओस्, राम्रो गरे पनि नराम्रो गरे पनि त्यसको स्वामित्व लेओस् भन्ने सबै जनताको आशय हो। तर ‘दुई मध्ये एक चुन’ भनेर होइन, धेरै मध्ये एक चुन भनेर हो।
म त शिक्षक हो गगनजी, कुनै विद्यार्थी अब्बल हुँदा उसको मिहिनेत र लगनले हुन्छ न कि अरुलाई बन्देज गरेर। यति सामान्य कुरा त बुझ्नुभएकै होला।
कति ठिक हुन्थ्यो होला है गगनजी यदि तपाईंले ‘हामी यस्तो पार्टी बनाउँछौं कि जनताले अरु विकल्प हेर्नै पर्दैन’ भनेको भए। तर ठिक विपरीत तपाईं त रूस वा उत्तरकोरियाको बाटोतिर लाग्नुभयो। के तपाईं अझ पनि आफूलाई ‘लोकतान्त्रिक’ भन्नुहुन्छ ?
फेरि दुई पार्टी हुँदा राजनैतिक स्थायित्व हुन्छ र जनभावनाको कदर हुन्छ कसरी भन्न मिल्छ ? अमेरिका (दुई प्रमुख पार्टी भएको लोकतान्त्रिक देश)मा हालै भएको पिउ रिसर्च (विश्वासिलो अध्ययन केन्द्र)को अध्ययनले देखाएको छ २८ प्रतिशत अमेरिकीहरू कुनै पनि पार्टी मन पराउँदैनन् र करिब ६३ प्रतिशत अमेरिकीहरूलाई ‘दुई ठूला’ पार्टीले उठाएको उम्मेदवार मन परेको छैन।
त्यसैको करण हुनसक्छ अमेरिकामा मतदाताको प्रतिशत सरदरमा ५३ प्रतिशत मात्रै रहँदै आएको छ।
अनि राजनैतिक स्थायित्व होला भन्ने हाइपोथेसिस (परिकल्पना)का करण लामो समय उत्पीडनमा परेका नेपालीहरूको उत्थानको लागि ल्याइएको समानुपातिक समावेशी व्यवस्था तिलाञ्जली दिनुपर्ने ? त्यो पनि एउटा परिकल्पित ‘प्रयोग’को लागि।
पार्टीलाई पूर्ण लोकतान्त्रिक बनाएर पूर्ण समानुपातिक प्रणाली अन्तर्गत चुनाव लडौं भन्नुपर्नेमा समावेशितालाई किक हान्दै प्रत्यक्षमा मात्र चुनाव लडौं भन्नु भनेको प्रतिगमन होइन र ? कि पार्टी पूर्ण लोकतान्त्रिक बनाउन सकिन्छ भन्ने विश्वास त्यागिसक्नुभयो ?
तथ्य साक्षी छन् संसारमा अहिले सबैभन्दा बढी लोकतान्त्रिक मुलुक (७४) ले प्रयोग गर्ने चुनाव भनेको पार्टी लिस्ट तरिका हो जुन समानुपातिक समवेशितामा आधारित रहन्छ। मानवीय स्वतन्त्रता श्रेणी (ह्युम्यान फ्रिडम इन्डेक्स) मा रहेका अघिल्लो १० वटा देशहरू समानुपातिक चुनाव प्रणाली प्रयोग गर्दछन्।
पूर्ण लोकतान्त्रिक १० देशहरू मध्ये ८ वटा देशहरूले समानुपातिक समावेशी निर्वाचन प्रणाली प्रयोग गर्ने पनि हजुरको ‘जुनाफ’मा प्रस्तुत गर्न चाहें।
समानुपातिक समावेशिताको अवधि कति समयसम्म हो भन्ने बहसको विषय बन्न सक्ला। अग्राधिकारको व्यवस्था कहिलेसम्म भन्ने प्रश्नमा छलफल गर्न म पनि तयार छु। लामो समय केन्द्रीकृत, पितृसत्तात्मक व्यवस्थामा रहेको नेपालमा अहिले नै समावेशिताको मुद्दा सकियो भन्ने इंगित गर्नु पनि राजनैतिक हतारो र हतास मनोवृत्तिको द्योतक हो।
गगनजी, अझ पनि म लोकतान्त्रिक देशको नागरिक हो त्यसैले जबर्दस्त ढङ्गले भन्न चाहन्छु, पार्टी बलियो बनाउनुहोस्, विचार मजबुत बनाउनुहोस्, प्रोजेक्ट सरकार ठीक छ त्यसको उपादेयता आम जनताले पनि महसुस गर्ने गरी प्रयोग गर्नुहोस्। तपाईंसँग ठूलो अपेक्षा छ, भरोसा छ त्यसलाई तोड्न उद्यत नहुनुहोस्।
अनि अर्को कुरा संविधान संशोधनको कुरा उठाउनुभयो भने कुरा चुनावी प्रणालीमा मात्र रोकिएला ? गगनलाई यत्ति मात्र चाहिएको रहेछ यत्तिको लागि संशोधन गरौं भन्ने त पक्कै नहोला।
यो यो विषयमा यो यो कारणले संविधान संशोधन खोजेको हो भनेर सार्वजनिक गरेर मात्र त्यसमा हात हाल्नुहोला। होइन भने त्यो पान्डोरा बक्स खुल्दा के के उडाउँछ आकलन गर्न गाह्रो छ। परिवर्तन मन नपराएर उल्ट्याउन खोज्ने तपाईंको पार्टीमा मात्र होइन, अरू पार्टीमा पनि छन्।
गगनजी, नेपालमा ‘नेताज्यू’ भन्न मिल्ने/ मन लाग्ने निकै कम मान्छे छन्, मेरो लागि तपाईं एक हो। जे कारणले गगन थापा ‘नेता गगन थापा’ बन्नुभएको हो ती कारणहरू थप मजबूत गराउँदै जानुहोस्, मात्र गगन थापा भनेर तपाईंलाई सम्बोधन गर्नुपर्ने दिन नआओस्। तपाईं र म दुवैलाई शुभेक्षा।
उही तपाईंको स्नेही
सन्देश पौड्याल
प्रतिक्रिया 4